सडक पिच गर्न प्लास्टिक प्रयोग !

सडक पिच गर्न प्लास्टिक प्रयोग !

पोखरा : प्लास्टिकजन्य फोहोर थुप्रै नगरपालिकामा टाउको दुखाइको विषय छ। पोखराका केही युवाले भने प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्ने एउटा यस्तो उपाय पेस गरेका छन्, जस्ले प्रदूषण त हटाउँछ नै सडकको आयुसमेत बढाउँछ। उनीहरुको उपाय हो, प्लास्टिकसमेत प्रयोग गरेर सडक पिच गर्ने।

अलकत्र, गिटी र बालुवा मिसाएर गरिनेभन्दा प्लास्टिकसमेत हालेर गरिने पिच बढी टिकाउ हुने उनीहरुको भनाइ छ। त्यही उपायअनुसार पोखरा-१४ अनुपममार्गको सडक पिच बनाइएको छ। नमुनाका रुपमा बनाइएको उक्त सडकको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले मंगलबार उद्घाटन गरे। 

सामान्यतया बालुवा, मसिनो गिटी र अलकत्र मिसाएर बिच्छाई सडक पक्की बनाइन्छ। ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले अलकत्रको मात्रा घटाइ प्लास्टिक पनि मिसाउन सकिने उपाय प्रयोग गरेको हो। 

इन्जिनियर राजीव सुवेदीले उक्त सडक निर्माण गर्दा २४ सय ७५ लिटर बिटुमिन प्रयोग हुँदा त्यसको १० देखि १६ प्रतिशत प्लास्टिक मिसाइएको जानकारी दिए। ‘१ किलोमिटर सडक पिच गर्दा यसरी नै प्लास्टिक मिसाउने हो भने २ लाख रुपैयाँ जोगिन्छ’, उनले भने, ‘सय किलोमिटमा २ करोड रुपैयाँ जोगाउन सकिन्छ।’ अलकत्र आयात गर्नुपर्ने खर्च त्यसरी जोगाउन सकिने उनले सुनाए। उनकै भनाइ अनुसार १ किलोमिटर पिच सडक निर्माण गर्दा १ टन प्लास्टिक खपत हुन्छ र त्यतिका मात्रामै अलकत्र बचत हुन्छ। 

चाउचाउ, सुर्ती, बिस्कुटका खोल र दूधको पोका तथा पोलिथिन ब्यागलाई पखालेर प्रशोधनसमेत गरी पिच गर्ने मालसामान अलकत्रसँगै पकाउँदा प्लास्टिक पनि मिसाइने यस्तो प्रविधि अरु धेरै राष्ट्रमा प्रयोगमा आइसकेको इन्जिनियर सुवेदीले बताए। विदेशमै त्यसबारे तालिम लिएर आएको सुनाउँदै उनले भने, ‘प्लास्टिक १ सय ६० डिग्रीमा पकाइने हुँदा त्यसले अरु प्रदूषण गर्न हुँदैन।’ 

उनका अनुसार प्लास्टिक प्रयोग गरेर भारतमा १ लाख र भुटानमा २ सय किलोमिटर किलोमिटर सडक पिच भइसकेको छ। ‘युके, अस्ट्रेलिया लगायत राष्ट्रले यस किसिमको सडक बनाइरहेका छन्’, उनले भने। 

ग्रिन रोड वेस्ट म्यानेजमेन्टका सञ्जीव बास्तोला फोहोर भइरहेको प्लास्टिक सडकमा प्रयोग हुँदा महानगरपालिकाको फोहोर व्यवस्थापनमा सघाउ पुग्ने बताउँछन्। ‘घरघरबाट प्लास्टिक लिँदा उल्टै पैसा पनि दिन सकिन्छ’, उनले भने, ‘जब कि अहिले त नगरपालिकालाई फोहोर र पैसा पनि दिनुपरिरहेको छ।’ 

उनले प्लास्टिक प्रयोग गरिएको सडकमा खाल्डाखुल्डी पर्ने समस्या हुँदैन। त्यसले सडक मर्मतको खर्चसमेत जोगिने उनी सुनाउँछन्। प्लास्टिक प्रयोग भएको सडकमा पानी सोसिन्न, तैरिएर जान्छ’, उनले भने, ‘त्यसैले धेरै टिक्छ, अरु सडकको भन्दा भारवहन क्षमता पनि धेरै नै बढी हुन्छ।’  

महानगरपालिकाका मेयर जिसीले प्लास्टिक प्रयोग भएको नमुना सडक र अरु सामान्य सडकको फरक हेरेर भोलि त्यस्तै प्रविधिमा जान सकिने बताए। उनले ढल निकासको प्रबन्ध राम्रो नहुँदा सडक भत्किने र बिग्रने भइरहेको पनि सुनाए।

जनसहभागितामा काम गर्ने प्रवृत्ति पोखरामा अति नै सकारात्मक रहेको पनि बताए। उनले भने, ‘यो वर्ष महानगरका विभिन्न योजनामा २० करोड जनता योगदान हुँदा ४० करोडको काम भएको छ।’ ग्रिन रोड वेस्ट म्यानेजमेन्टका विमल बस्यालले वातावरण प्रदूषण घटाउन नसके पोखरा पनि काठमाडौंजस्तै बन्न बेर नलाग्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.