गुम्दै पुराना बजारको साख

गुम्दै पुराना बजारको साख

बिर्तामोड : झापाको भद्रपुर बजारकी सुनीता पौडेल नुन-तेल, चिनीलगायत दैनिक उपभोग्य वस्तु मेचीपारि भारतीय गलगलिया बजारबाटै ल्याउँछिन् । घरायसी सामान भद्रपुर बजारमा नकिनेको वर्षौं भइसकेको उनी बताउँछिन् ।

मेची नदीमा पक्की पुल नहुँदा वर्षायाममा डुंगा र हिउँदमा बाँसकै पुलबाट भए पनि उनी पारि नै गएर सामान ल्याउँथिन् । पुल बनेपछि त उनलाई झनै सहज भएको उनको भनाइ छ ।

केही सस्तो पाइने भएपछि सबै उपभोक्ता गलगलिया बजार नै जाँदा अहिले झापाकै पुरानोमध्ये एक भद्रपुर बजार सुनसान बनेको छ । एक समय देशकै व्यस्त र कारोबारको हिसाबले पनि उच्च रहेको भद्रपुर बजारको कारोबार पनि घटेको छ । चहलपहल पनि न्यून छ । छोटी भन्सार कार्यालयमा पनि चहलपहल देखिँदैन ।

बजारमा रहेका पसलमा पनि कारोबार घट्दै गएको स्थानीय व्यापारी बताउँछन् । ‘कारोबार घटेको धेरै वर्ष भएको छैन’, व्यापारी मनोज खड्का भन्छन्, ‘स्थानीय तह बनेपछि आर्थिक कारोबार झनै खस्कियो ।’ पुल बनेर नाका खुले चहलपहल र व्यापार बढ्ने आशा रहेको उनको भनाइ छ ।

छोटी भन्सारबाट कारोबार गर्दै आएका झापाका धेरै व्यापारीले तस्करीका माध्यमबाट सरसामान भिœयाउन थालेपछि भन्सारसहित बजारको कारोबार घटेको तर्क उनी गर्छन् । महिनामा डेढ करोडभन्दा बढी राजस्व संकलन हुने भद्रपुर छोटी भन्सारमा क्रमशः प्रत्येक महिना गिरावट आउन थालेकाले पनि यस्तो संकेत गर्ने स्थानीय दाबी गर्छन् ।

भन्टाबारी र इलामको पशुपतिनगर नाकालाई तस्करीको ‘ट्रान्जिट’ बनाएर व्यापार र तस्करी गर्नेले कारोबार गर्दा सीमा क्षेत्रमा रहेका भद्रपुरजस्तै अन्य बजारको पनि कारोबार घटेको अर्का व्यापारी सोनु राजवंशी बताउँछन् । ‘हामीले त पसल पर्खिनुबाहेक केही काम छैन’, उनी भन्छन्, ‘एकपटक ल्याएको सामान एक वर्षमा पनि बिक्री भइसक्दैन ।’

भारतको बासमतियाबाट सुनसरीको विभिन्न नाका हुँदै इनरुवाबाट सरसामान ट्रकका ट्रक पूर्वका बजार आउने गरेको स्थानीयको भनाइ छ । यही कारण वैधानिक रूपमा भद्रपुर भन्सारबाट भित्रिने सामानमा कमी आएको जनाइएको छ । ‘सबै स्थानीय तहका मुख्य बजार चम्किए, विभिन्न स्थानको सामान त्यहाँ पुगिहाल्छ’, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ भन्छन्, ‘पहिलेजस्तो नाकाछेउको बजारमा सस्तो पाइन्छ भनेर आउने चलन अहिले छैन ।’

उनका अनुसार भद्रपुर बजार ब्यँुताउने योजना छ । ‘लामो प्रतीक्षापछि मेची नदीमाथि पुल बनेको छ, अब नेपालतर्फ भन्सार र सडकको संरचनासँगै व्यवस्थित बजार बन्नेछ’, उनी भन्छन्, ‘कारोबार अन्य चल्तीका नाकासरह हुनेमा म विश्वस्त छु ।’

झापा जिल्ला सदरमुकाम चन्द्रगढी बजार पनि सुनसान बन्दै गएको छ । झापासहित मेचीका प्रमुख कार्यालय र विमानस्थल पनि रहेको सदरमुकाममा अहिले जहाज चढ्ने, कर र राहदानीका लागि पुग्ने जिल्लाका न्यून नागरिकबाहेक अन्य पुग्दैनन् । बिर्तामोड-भद्रपुर सडकमा बस पनि प्रायः रित्तै दौडन्छन् । धेरै व्यवसायीले यो रुटमा यातायातका साधनको संख्या घटाएका छन् । चलेका सवारी साधन पनि खाली-खाली दौडाउनुपर्ने अवस्था आएको यातायात व्यवसायी लक्ष्मण खरेल बताउँछन् । ‘पहिले १०-१० मिनेटको अन्तरमा बस छुटाउँदा पनि अपुग हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले त २-४ वटाबाहेक चलाउनै समस्या छ ।’

सदरमुकाममा रहेका सरकारी कार्यालयको अधिकार र शाखा स्थानीय तहमा पुगेकाले यस्तो अवस्था आएको उनको ठम्याइ छ । सदरमुकामकेन्द्रित सरकारी कार्यालयका काम स्थानीय तहबाटै हुन थालेपछि चन्द्रगढी आवतजावत कम हुँदा जीविका चलाउन हम्मेहम्मे परेको चन्द्रगढीका व्यापारी बताउँछन् ।

भद्रपुर र चन्द्रगढीजस्तै झापाकै दक्षिणी सिमानामा रहेका गौरीगन्ज, झापा बजार, केचनालगायत बजार स्थानीयका लागि चिया, खाजा खाने चोकमा परिणत भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.