‘मन्त्रीज्यू, निःशुल्क शिक्षा भन्दै शुल्क उठाउने

‘मन्त्रीज्यू, निःशुल्क शिक्षा भन्दै शुल्क उठाउने

बुटवल : गुल्मीका बालक विकास थापाले सामुदायिक विद्यालयमा पनि शुल्क उठाइएको भन्दै प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई प्रश्न गरे–‘संविधानमा निःशुल्क शिक्षा भनिएको छ, अंग्रेजीका नाममा शुल्क उठाउन पाइन्छ ? ’ गुल्मीको महेन्द्र माविले निजी स्कुलसरह शुल्क असुलेको भन्दै उनले मन्त्रीलाई प्रत्यक्ष गुनासो गरे ।

थापाजस्तै प्रदेश ५ का झण्डै ३० बालबालिकाले प्रदेश सामाजिक विकास मन्त्री बरालसँग प्रश्नोत्तरको मौका पाए । सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय बाल क्लबका अध्यक्ष तथा उपाध्यक्षहरूको भेला गरेर बालबालिकाको अनुभव र गुनासो संकलन गरेको हो । राज्यको मूलप्रवाहमा बालबालिकाको अर्थपूर्ण सहभागिताको लागि यो पहल थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीसँग गुनासो राख्दै कपिलवस्तुकी बालिका गायत्री गुप्ताले बालविवाहको समस्या कसले रोक्ने भन्दै उत्तर खोजिन् । ‘हामीजस्तै बालिका विवाह गर्न बाध्य छन्, नेपालमा रोकिने डर भएर भारतमा लगेर विवाह गरिएको छ, यसलाई कसरी रोक्नुहुन्छ’, उनले प्रश्न सोधिन् ।

बाँकेकी बालिका मेनुका रावतको गुनासो झनै जटिल थियो । ‘के बालिकाहरू रजस्वला हुँदा विद्यालय जान नपाउने ? ’ बालबालिकाले जटिल प्रश्न सोधेपछि मन्त्री बरालले आश्वासन दिदै सबै समस्या समाधानको काम प्रदेश सरकारले थाल्ने बताए ।

‘सामुदायिक विद्यालयमा दरबन्दी र विद्यार्थी संख्याको अनुपात मिलेको छैन, उनले भने, ‘अब शुल्क लिने परिपाटीको अन्त्य गर्ने गरी प्रादेशिक शिक्षक सेवा आयोग खोलिनेछ ।’ प्रदेशमा शिक्षक सेवा आयोग बनाउने तयारी भइरहेको उनले बताए । विद्यालयलाई छात्रामैैत्री बनाउन आधुनिक शौचालय बनाउने उनले बालबालिकालाई प्रस्ट पारे । प्रदेश ५ का तराई क्षेत्रका अधिकांश विद्यालयमा छात्रामैत्री शौचालय छैनन् । जसका कारण रजस्वला हुँदा उनीहरू विद्यालय आउन झन्झट मान्ने गरेको अनुसन्धान प्रतिवेदन रहेको छ ।

पाल्पाका मनीष शर्माले विद्यार्थीलाई दण्ड दिने प्रवृत्ति रोक्न मन्त्रीलाई आग्रह गरे । प्युठानका प्रभात विकले अभिभावकको बहुविवाहले बालबालिका सडकमा आएको दर्दनाक घटना मन्त्रीलाई सुनाए । ‘घरमै बालबालिकाहरू हिंसाको सिकार हुनुपरेको छ, होटलका बाल श्रमको मात्रै कुरा गरेर हुँदैन, उनले भने । रूपन्देहीका अजय मल्लाहले हरेक सरकारी कार्यालयमा बालबालिकासम्बन्धी फोकल पर्सन व्यवस्था गर्नुपर्ने माग गरे । मन्त्रीसँगको खुला बहसमा बालबालिकाले मातृभाषामा पढ्न पाउनुपर्ने, आमाको नाममा जन्मदर्ता र नागरिकता हुनुपर्ने, कक्षाकोठा छाडेर राजनीति गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखे ।

तराईका जिल्लाहरूमा विद्यालय छाड्नेको संख्या उच्च रहेको भन्दै त्यसलाई रोक्ने काम गर्न बालबालिकाको आग्रह थियो । सबै बालबालिकाको किताबमा रुचि नहुने भन्दै प्राविधिक सीप दिनसमेत उनीहरूले माग गरे ।

करिब दुई घण्टा सवालजवाफमा मन्त्री बरालले राजनीतिक झोला बोक्ने शिक्षकलाई ठाडै कारबाही गर्ने दाबीसमेत गरे । निःशुल्क पढ्न पाउनुपर्ने संविधानमा व्यवस्था भएपछि सरकारले ढाट्न नहुने भन्दै त्यो कार्यान्वयनमा आउने बताए । बालविवाह, बाल श्रम, छात्रामैत्री शौचालय निर्माणमा प्रदेश मन्त्रालयले चालु आर्थिक वर्षबाटै काम गर्ने उनको प्रतिबद्धता थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.