विद्यालयको पक्की भवन बैंकलाई, विद्यार्थी टहरामा
चरिकोट : दोलखाको दक्षिणी मेलुङ गाउँपालिका-४, स्थित भीम माध्यमिक विद्यालयले बालअधिकार नै हनन हुने गरी थोरै आम्दानीको लोभमा पक्की भवन बैंकलाई सुम्पेर विद्यार्थीलाई टहरामा पढाइरहेको छ ।
जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक र बैंकको मिलेमतोमा सरकारले बालबालिकाको पठनपाठन सहज गर्न निर्माण गरिदिएको पक्की विद्यालय भवन भाडामा दिएर विद्यार्थीलाई अस्थायी टहरामा पढ्न बाध्य बनाइएको हो । गाउँपालिकाको केन्द्रसमेत रहेको सो स्थानमा शिशु कक्षादेखि १० कक्षासम्म पढाइ हुने विद्यालय भवन बैंकलाई सुम्पेकोमा स्थानीयस्तरमा चर्को विरोधसमेत सुरु भएको छ ।
विनाशकारी भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को बजेटबाट भर्खरै पुनर्निर्माण सम्पन्न भएको पक्की भवन सानिमा बैंकको मेलुङ शाखा कार्यालयलाई भाडामा दिएपछि सो विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थी अस्थायी टहरामै पठनपाठन गर्न बाध्य भएका छन् ।
९० लाख लागतमा भर्खरै निर्माण सम्पन्न ६ कोठे पक्की भवन सानिमा बैंकलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएपछि स्थानीयले विरोधसमेत जनाएका छन् । अस्थायी टहरामा घाम, पानी, चिसोलगायत कष्टकर रूपमा बसेर पढ्नुपर्ने भएको भन्दै केही जनप्रतिनिधिदेखि अभिभावकले समेत विरोध जनाएका हुन् । विद्यालय हातामा केही अन्य भवन भए पनि भूकम्पका कारण क्षति भएकाले बस्न अयोग्य भनी रातो स्टिकर लगाइएको छ भने केही अस्थायी सिकाइ केन्द्रको टहराबाहेक विद्यालयमा अरू भवन नभएको शिक्षा समन्वय समितिको तथ्यांक छ ।
४ नम्बर वडासदस्य नवीनकुमार गोलेले भने, ‘विद्यालय प्रशासन र व्यवस्थापन समितिले विद्यार्थीको शिक्षाको हक नै हनन हुने गरी विद्यालय भवन बैंकलाई भाडामा दिनु गैरकानुनी कार्य हो ।’ अभिभावक देवबहादुर गोलेले बैंकबाट भाडा आउने लोभले बालबालिकालाई टहरामा पढ्न बाध्य बनाउनु कदापि मान्य नहुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोलेले गाउँपालिकालाई बैंक राख्नुपर्ने भएको र अन्यत्र उपयुक्त घर नपाइएकाले विद्यालय भवन भाडामा दिइएको बताए । मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले विद्यालय भवनको विकल्पमा अन्य घर नभएकाले स्थानीय स्तरमा बैंकिङ पहुँचका लागि भाडामा दिने सम्झौता गरिएकामा अन्यथा नबुझ्न आग्रह गरे । मेलुङ गाउँपालिका-४ का वडाध्यक्ष छत्रबहादुर तामाङले आपूmले विद्यार्थीलाई असहज नहुने गरी बैंकको कार्यालय राख्न भनेको बताए । तामाङले भने, ‘मैले विद्यार्थीलाई टहरा राखेर बैंकलाई नदिऊँ भनेको तर साथीहरू मान्नु भएन, मैले सहमति जनाए पनि केही समयका लागि मात्रै भनेको छु ।’
जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाका प्रमुख गोविन्द सेढाईंले सरकारले बैंकलाई भाडामा दिन विद्यालय भवन निर्माण नगरेको जनाउँदै बैंकलाई भाडामा दिने व्यक्तिहरूलाई कारबाही हुनुपर्ने बताए । बालबालिकाको शैक्षिकस्तर सुधार र पठनपाठनमा सहजता ल्याउन भवन निर्माण गरिएको प्रमुख सेढार्इंले बताए ।
सानिमा बैंकको मेलुङ शाखाले सोमबार एक कार्यक्रमबीच विद्यालय भवनमा रहेको कार्यालय उद्घाटन गरेको छ । सानिमा बैंक मेलुङ शाखाका प्रबन्धक अर्जुन सापकोटाले बैंकको केन्द्रीय कार्यालय र विद्यालय व्यवस्थापनले गरेको सम्झौताअनुसार बैंकले काम सुरु गरेको बताए । स्कुलमा बैंक राख्नु हुने वा नहुनेबारे आफूलाई थाहा नभएको र आफू कर्मचारी भएर मात्रै आएको उनको भनाइ छ ।