पिच उप्कँदा जहाज आकासमै होल्ड
काठमाडौं : आइतबार दिउँसो २ बजेर १० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी सबै उडान र अवतरण बन्द भए। विमानस्थल टावरले अवतरण गर्न तयार भइसकेका जहाज आकासमै होल्ड गरायो। यसको कारण थियो धावनमार्गको पिच उप्कनु।
विमानस्थलको रन–वेमा समस्या आएको सूचना पाउन साथ विमानस्थल कार्यालय अन्तर्गतको इन्जिनियरिङ महाशाखाको एक टोली दुई/तीनवटा गाडीसहित रन–वेतर्फ हुइँकियोे। गाडीमा सवार टोलीले हतारहतार विमानस्थलको कोटेश्वरतर्फको जहाजले ‘टेक अफ’ लिने विन्दुको रन–वे सफा गर्न थाल्यो। सफासँगै महाशाखको प्राविधिक टोलीले उप्किएको रन–वे पिच गर्न थाल्यो।
रन–वेकै पिच उप्किएपछि महाशाखले मर्मतका लागि आधाघण्टाको समय माग गरेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। ‘पिच भत्कने घटना सामान्य जस्तै बनेको छ’, क्षेत्रीले भने, ‘अहिले दैनिक तीन/चार पटकसम्म धावनमार्गमा समस्या आइरहेको छ।’ आइतबार करिब ३५ मिनेट अवरोध भएको विमानस्थल २ बजेर ५० मिनेटमा सञ्चालनमा आएको उनले जानकारी दिए।
यसैगरी गत असार २८ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेपालगन्जबाट ३ बजेको उडानमा काठमाडौं आउँदै थिए। मन्त्री सवार जहाज करिब पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनपर्ने थियो। तर, जहाजले आकासमै फन्को मार्न थाल्यो। त्यसपछि एयरहोस्टेसले जहाज होल्डमा परेको सूचना गराइन्।
जहाज आकासमा होल्ड गर्नुको कारण विमानस्थलको अवतरण र उडानमा चाप भएर भने थिएन। सोही सयमा धावनमार्गमा चिरा परेपछि त्रिभुवन विमानस्थल कार्यालयले सबै उडान र अवतरण बन्द गराएको थियो।
एयरहोस्टेसले जहाज २० देखि २५ मिनेट होल्ड हुने सूचना दिएकी थिइन्। तर, जहाज आकासमै ४० मिनेट जति होल्ड भएको शिक्षा मन्त्री पोखरेलले अन्नपूर्णसँग बताए।
धावनमार्गसँगै ट्याक्सी वेको सी र डी खण्डमा पनि बढी समस्या छ।
‘जहाजमा को चढेका थिए त्यो विमानस्थल कार्यालयलाई थाहा हुने कुरा भएन’, विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘धावनमार्गको पिचमा समस्या आएपछि सबै उडान तथा अवतरण बन्द भएको थियो।’
उक्त दिन धावनमार्गमा देखिएको समस्या तत्काल नै समाधान गरी सबै उडान सञ्चालन भएको उनको दाबी छ। त्यस दिन करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरणमा अवरोध भएको थियो। विमानस्थल अवरोध हुँदै गर्दा मन्त्री पोखरेल सवार जहाज भरतपुर विमानस्थलको आकासमा आइपुगेका थिए।
असार २२ गते शुक्रबार बेलुकी पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वेको पिच उक्किँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भए। त्यस दिन पनि रन–वेकै पिच उप्कदा झन्डै ४५ विमानस्थल अवरोध भएको थियो। अवरोध विमानस्थल पौने ७ बजेमात्रै सञ्चालनमा आएको थियो।
यी त प्रतिनिधि घटना मात्रै हुन्। विगत ४/५ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्कँदा दैनिक जसो २० मिनेटदेखि एक घन्टासम्म उडान तथा अवतरण बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका प्रमुख क्षेत्री बताउँछन। धावन मार्गसँगै ट्याक्सी वेको सी र डी खण्डमा बढी समस्या रहेको क्षेत्री स्वीकार गर्छन्।
रन–वे टालटुल गर्नकै लागि विमानस्थल कार्यालयअन्तर्गतको सिभिल इन्जिनियरिङ महाशाखाले वार्षिक दुई करोड रुपैयाँ खर्च गर्दै पनि गर्दै आएको छ। तर, पुरानो संरचनामा निर्माण भएको रन–वेमा बारम्बार समस्या आएको उनले बताए। अहिले विमानस्थलमा बढी लोड भएका जहाज ल्यान्ड तथा अवतरणको समयपछि बढी समस्या देखिने गरेको उनी बताउँछन्। त्यसमा पनि जाडो मौसमभन्दा गर्मी र वर्षा मौसम बढी समस्या आउने गरेको उनको भनाइ छ।
‘यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सँधै भइरहने घटना हो’, क्षेत्रीले भने, ‘घाम पानी हुनासाथ विमानस्थलको रन–वेको तापक्रममा तलमाथि हुन्छ र रन–वेको पिच उक्किने गर्छ। मर्मत गरेर मात्र नियमित विमान उडान र अवतरण हुने प्रक्रिया नै हो।’
क्षेत्रीका अनुसार विमानस्थलको रन–वेमा कुनै समस्या आउनासाथ मर्मतका लागि २४ घण्टा एउटा प्राविधिक टिम तैनाथ हुने गरेको छ। तर, यो हिसाबले सँधै काम चल्ने अवस्था छैन्।
विमानस्थलले वर्षा सिर्जन सकिएलगतै रन–वे सुधार प्रक्रिया सुरु गर्नुपर्ने क्षेत्री बताउँछन्। तत्कालको अवस्थामा देखिने समस्या समाधानका लागि विमानस्थले कार्यालयले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले १८ घण्टा सञ्चालन भइरहेको विमानस्थल २१ घण्टा सञ्चालनको घोषणसँगै झन् बढी समस्या देखा परेको छ।
विमानस्थल कार्यालयका कर्मचारीले रन–वे मर्मतमा समस्या हुने भन्दै विरोध समेत गरेको थियो। विरोधपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बढी समस्या रहेको ठाउँको पहिचान गर्दै तत्काल मर्मतको लागि साढे आठ करोड रुपैयाँ विनियोजन गर्दै रन–वे मर्मत गर्ने अख्तियारी दिएको थियो।
सोहीअनुसार विमानस्थल कार्यालयले रन–वे मर्मतका लागि तीन पटकसम्म बोलपत्र आह्वान गरेको क्षेत्री बताउँछन्। तर, बोलपत्र आह्वानमा कुनै पनि ठेकेदार कम्पनीले उक्त रकममा काम गर्ने चासो नदेखाएको क्षेत्रीले बताए।
फेरि विमानस्थल कार्यालयले चौथो पटक रकम बढाएर भए पनि रन–वे मर्मतका लागि बोलपत्र गर्ने तयारी गरेको उनले बताए। प्राधिकरणले पनि रन–वे मर्मतका लागि बाहिरको रेटभन्दा बढी राखेर भए पनि प्रक्रिया थालनी गर्ने स्वीकृति दिइसकेको छ। रन–वे मर्मत अति संवेदनशील काम हो। निश्चित मापदन्ड भित्र रही तोकिएको समयमा र रातको समयमा मात्रै काम गर्नु पर्ने हुँदा पनि समस्या आएको उनको भनाइ छ। तत्कालको अवस्थामा रन–वे मर्मत गरिए पनि दिर्घकालीन समस्या समाधनमा लागि भने रन वेको पिच परिर्वतन गर्नुपर्ने उनको भनाइ छ।
सन् १९८० मा निर्माण भएको रन–वे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ हुँदा विस्तार तथा मर्मत हुन सकेको छैन। गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने साथ रनेवेको पिच परिर्वतन गर्दै गर्दा समस्या आएमा विकल्पका रूपमा जहाज उता डाइभर्ट गर्न सकिने उनको भनाइ छ।
तर, विमानस्थल कार्यालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नसकिए पनि पिच परिर्वतनको काम थालनी गर्ने तयारी अन्तिम चरणमा पु¥याएको क्षेत्रीले बताए। रन–वे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच अब आर्थिक प्रतिस्पर्धा गराएर काम थालनी गरिने उनले बताए।
रन–वे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसकेको छ। रन–वे सुधारका लागि विमानस्थल कार्यालयले विमानस्थल विकास खर्चका नाममा रकम उठाइरहेको छ। विकास खर्च कोषमै अहिलेसम्म करिब पाँच अर्ब रकम संकलन भइसकेको छ। विमानस्थल कार्यालयले प्राविधिक रूपमा सक्ष्म भएका चारवटा कम्पनीको फाइल गत आवमानै प्राधिकरणको बोर्ड बैठमा पेस गरिसकेको छ। प्राविधिक रूपमा छनोट कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउने गरी फाइल स्वीकृति हुने प्राधिकरणको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। क्याप्सन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानमार्ग। विकास कार्की
प्रतिक्रिया दिनुहोस !