सय बढी फरार अपराधी पक्राउ : अपराधी समात्ने प्रहरीकाे नाैलाे तरिका

सय बढी फरार अपराधी पक्राउ : अपराधी समात्ने प्रहरीकाे नाैलाे तरिका

 पोखरा : गाउँकै नालबालिका बलात्कार गरेको आरोपमा पोखरा–२४ कास्कीकोटका १९ बर्से वेदहरि भट्टराईलाई प्रहरीले १२ वर्षअघि ०६३ फागुन २० गते पक्राउ गर्‍यो । बलात्कार मुद्दामा कास्की अदालतले उनलाई ०६५ जेठ ३० गते सफाइ दियो । वर्ष दिनभन्दा बढी जेल बसेर उनी मुक्त भए ।

अदालतबाटै सफाइ पाएपछि भट्टराई विदेश गए, कमाएर आए । हिजोआज उनी गाउँघरतिर खेतीकिसानै व्यस्त थिए । शुक्रबार रोपाइँ गरिरहेकै बेला उनले खबर पाए, ‘घरमा बाख्रा किन्ने ग्राहक आएका छन् ।’ बाख्रा बेच्न पाइने भो भन्दै हकानिँदै आएका भट्टराईलाई ती ग्राहकरूपी सादा पोसाकका प्रहरीले समातिहाले ।

जिल्ला अदालतबाट सफाइ पाएँ भन्ने ठानेर भट्टराई विदेशतिर लाग्दा सरकारी वकिल कार्यालयले जिल्ला अदालतको फैसलामा असुन्तुष्टि जनाउँदै पुनरावेदनमा मुद्दा दर्ता गरेको थियो । पुनरावेदन अदालत पोखराले ०६७ वैशाख २७ गते फैसला गर्दै भट्टराईलाई १० वर्ष कैद सजाय सुनायो । त्यसबारे भट्टराई स्वयं बेखबर थिए । उनको विदेश आउजाउ चलिरहेको थियो ।

आफ्नै गाउँका अमीरबहादुर रानाभाटलाई झन्डै २० वर्षअघि कुटपिट गरी मारेको ठहरिएका कास्कीको साविक मिजुरेडाँडा गाविस–८ का मनबहादुर शाही गाउँको खर्कतिर गोठ राखेर भैंसी व्यापार गरिरहेका थिए । कास्कीकोटका भट्टराईलाई खोज्न बाख्रा किन्ने ग्राहक बनेजस्तै फरार सूचीका शाहीलाई खोज्न प्रहरीले भैंसी ग्राहकको भेष धारण गर्‍यो । घरमा प्रहरीले भेट्न सकेन । घरका मान्छेले जहिल्यै गोठ जानुभएको छ मात्रै भन्थे । गोठ भएको खर्क गाउँदेखि निकै माथि र अनकन्टारतिरै थियो । भैंसी त किन्नै पर्‍यो भन्ने अड्डी देखेपछि परिवारले शाही घर आउने दिन बताइदिए । त्यसपछि प्रहरीले धर्ना नै बसेर रातको समयमा शाहीलाई समात्यो । तर गाउँलेले लैजान दिएनन् । मादी गाउँपालिका याङ्जाकोटबाट थप प्रहरी टोली मगाएर उनलाई प्रहरी कार्यालय लगियो ।

२०५६ असोजमा रानाभाटलाई शाही र दीपक लामालगायतले कुटपिट गरी मारेको फैसला अदालतले गरेको थियो । रानाभाट हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ०६७ असार ३२ गते शाहीलाई दोषी ठहर गरेको थियो । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय अदालतले सुनाएको कास्की अदालतको रेकर्डले देखाएको तहसिल्दार मोहन अधिकारी बताउँछन् ।

रानाभाट हत्यासम्बन्धी मुद्दामा अनुसन्धानकै लागि शाहीलाई कास्की अदालतले जेल पठाएको थियो । पुर्पक्षका लागि ३ वर्ष जेल बसेका उनलाई जिल्ला अदालतले नै ०६० सालमा सफाइ दिएको थियो । त्यसपछि उनी जेलमुक्त भएका थिए । पछि पुनरावेदन अदालतले १२ वर्ष जेल सजाय सुनाएको र सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसला सदर गरेको थियो । कास्की अदालतका तहसिल्दार मोहनबहादुर अधिकारीका अनुसार शाहीले अब ८ वर्ष १ महिना २९ दिन जेल सजाय भुक्तान गर्न बाँकी छ । शाहीलाई बाँकी जेल सजाय भुक्तानीका लागि मंगलबारै जेल पठाएको अधिकारीले जानकारी दिए ।

पोखरा विश्वविद्यालय भएको ढुंगेपाटनमा किराना पसल चलाइरहेका शंकर लुइँटेल जग्गा कारोबार पनि गर्थे । केही दिनअघि हेटौंडा गएका बेला १ करोड ३० लाख रुपैयाँ हालेर जग्गा किन्ने मान्छे आएका छन् भन्ने खबर पाउनासाथ उनी हकानिँदै पोखरा फर्के । लगत्तै प्रहरीले समात्यो । उनी लागुऔषध मुद्दामा फरार सूचीमा थिए ।

गएको डेढ महिनायता कास्कीमा यसैगरी प्रहरीले फरार अपराधी समातिरहेका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी ओमबहादुर राना सयभन्दा बेसी अपराधी समातिसकेको बताउँछन् । त्यसमा ज्यान मार्ने उद्योग गरेका, लागुऔषध कारोबारीलगायत अपराधी छन् । ‘अपराधीहरू छाती फुलाएर हिँड्दा पीडितको मनोबल गिरिरहेको छ’, एसी रानाले भने, ‘दण्डहीनता पनि मौलायो ।’ उनकै भनाइमा समातिएका सयभन्दा बढीमध्ये २५ भन्दा बढी जेल चलान भइसकेका छन् । ‘धेरैजसोले जरिवाना बुझाउन बाँकी देखियो’, उनले भने, ‘तिनीहरू जरिवाना तिरेर मुक्त भएका छन् ।’ अदालतले नै लगतकट्टा गर्न बाँकी रहेको संख्या पनि उत्तिकै रहेको बताउँछन् एसपी राना । उनकै भनाइमा अदालतबाट फैसला हुनासाथ नखोजिँदा आफूलाई भएको सजायबारे कतिपय बेखबर पनि छन् ।

कास्कीमा ७ सयभन्दा बढी फरार अपराधी रहेको उनी सुनाउँछन् । भन्छन्, ‘अहिले कास्कीभित्रै खोजिरहेका छौं, अब जिल्ला बाहिरबाहिर पुगेर पनि खोजी ल्याउँछौं ।’ थुप्रै अपराधी पटके रहेको पनि एसपी राना बताउँछन् । ‘एउटा अपराध गरेर सजाय नपाएको व्यक्ति अर्काे अपराध गर्न पनि हौसिन्छ’, उनले भने, ‘तिनीहरूलाई सजाय हुन्छ भन्ने बोध पनि गराउनुपर्‍यो, कानुन कार्यान्वयन गर्नुपर्‍यो ।’ अभियानै चलाएर सयभन्दा बढी फरार अपराधी समातिएको कास्कीमा जति अन्त नभएको कास्की प्रहरीका अन्य अधिकृतहरू पनि बताउँछन् ।

...

चेकिङमा आफैं खटिएका एसपी ओम राना । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.