देवघाटमा भक्तजनको घुइँचो
चितवन : साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशी (हरिशयनी) का अवसरमा पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइँचो लागेको छ ।
हरेक वर्षको साउनको सोमबार झैं देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको हो । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन सुरु गरेकोमा क्रमशः आसपासका जिल्लाबाट पनि तीर्थयात्री आउन थालेका छन् ।
देवघाटमा स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वासका साथ सर्वसाधारण आउने गरेको उनले बताए । मिश्रका अनुसार, तराईका जिल्लामा सुरु हुन लागेको बोलबम मेलासँगै भक्तजन बढ्नेछन् ।
समितिले नारायणी नदीको बहाब बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । पहिलो दिन एक लाख ५० हजार भक्तजन देवघाट आउने अनुमान समितिको छ ।
गत वर्ष सूर्य अस्त भएकाले तीन लाख हाराहारीमात्र तीर्थयात्री देवघाट आएका थिए । यस वर्ष पाँच लाख पुग्ने अनुमान समितिको छ ।
रासस