कर बढाएको विरोधमा आन्दोलन

कर बढाएको विरोधमा आन्दोलन

गौशाला : गौशाला नगरपालिकाले लागू गरेको नयाँ करको विरोधमा आन्दोलन सुरु भएको छ। आन्दोलनका लागि कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ बाट नयाँ कर लागू गरेपछि सरोकारवाला आन्दोलनमा लागेका हुन्।

जनतालाई ढाड सेक्ने गरी कर लागू गरेको भन्दै १२ वडाका अध्यक्षमध्ये पाँच वडाका अध्यक्ष, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल तथा गौशाला उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। 

गौशालास्थित दुर्गामन्दिर परिसरमा बसेको बैठकमा विपक्षी उनीहरुले सत्ता पक्षको स्वेच्छाचारी कदमको कडा विरोध गरेका हुन्। 

कांग्रेसका नेता तथा पूर्वसांसद् वसन्त गुरु, समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभाका प्रतिद्वन्द्वी उमेद्वार लक्ष्मी महतो सहितका नेताले नगरपालिकाले बहुमतको दम्भमा जनताले थेग्न नसक्ने कर लागू गरेको भन्दै आपत्ति जनाएका हुन्।

गौशाला उद्योग वाणिज्य संघको अध्यक्ष राजाराम गिरीका अनुसार, घोषणा गरिएका कार्यक्रमअनुसार आन्दोलनका सम्बन्धमा आइतबार र सोमबार पर्चा पम्पलेट टाँस्ने, मंगलबार माइकिङ गर्ने, बुधबार शान्तिपूर्ण विरोध जुलुस लगायतका पहिलो चरणका विरोध कार्यक्रम सार्वजनिक गरेका हुन्।

फोरमका नेता विनोदकुमार महतोले नगरपालिकाले धान्न नसक्ने कर लगाएकोमा पुनर्विचार गर्नुपर्ने माग गरे। ‘किसानमात्र होइन कि व्यापारी व्यवसायीले समेत कर तिर्न नसक्ने अवस्थामा छ’, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम गिरीले भने, ‘हामीले आफ्ना मागबारे सम्बन्धित सबै निकायमा ज्ञापन पत्र बुझायौं तर कहीँकतैबाट सुनवाई भएन। बाध्य भएर आन्दोलन गर्नुप¥यो।’

जनता कर तिर्न तयार भए पनि समय र स्थानको ख्याल गरेर कर लगाउनु पर्ने माग गौशालाका स्थानीय जगदीश प्रसाद गुप्ताले गरे। पाँच वडाका अध्यक्षले आफ्ना वडाहरुमा रहेको आम्दानीका स्रोतको कूल रकममध्ये ७० प्रतिशत खर्च सोही वडामा वडाध्यक्षहरुको समन्वयमा खर्च गर्नु पर्ने माग उठाएको वडा नम्बर २ का सदस्य कुमारकान्त झाले जानकारी दिए।

नगरपालिका मेयर शिवनाथ महतोले वडाध्यक्ष र उद्योगी व्यापारीको छलफलबाटै नगर कार्यपालिकामा पेश भएको नयाँ करको दररेट लागू गरेको बताए।

आन्दोलनको कुनै तुक नरहेको दाबी गर्दै मेयर महतोले थपे, ‘वार्ताका लागि हामीले ढोका खुला राखेका छौं।’ आन्दोलनमा रहेका पाँच वडाका अध्यक्षले आफ्ना वडामा भने नयाँ दररेट लागू गर्न दिएका छैनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.