मेगा बैंक नवौँ वर्षमा, व्यवसायिक कर्जा सुविधा
काठमाडौं : मेगा बैंक नवौं वर्षमा प्रवेश गरेको छ।आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुनसक्नु मेगा बैंकको सफलता भएको बताएका छन्।
गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ। यसैगरी, कर्जा प्रवाह पनि करिब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको छ।त्यस्तै ग्राहक संख्या पाँच लाख रहेको बैंकले जनाएको छ।कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेपको १ लाख २२ हजार रहेको छ।
'हलोदेखि हाइड्रो' सम्म भन्ने नाराका साथ मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ। मेगा बैंकले आर्थिक वर्ष २०६९-७० देखि नै निरन्तर प्रतिफल दिइरहेको बताउँदै अध्यक्ष शाहले भने, ' मेघा बैंक भर्खरै मात्र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको छ। मर्जरपछि नयाँ संचालक समिति पनि आएको छ। अब मेगा कल्चर अनुसार नै हामी कामलाई अघि बढाउँछौँ।'
अध्यक्ष शाहले आगामी चार वर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने कार्यक्रममा जानकारी दिए।यसैगरी, संघीय संचरना अनुसार हरेक प्रदेशमा 'प्रदेश हेडक्वार्टर' स्थापना गरी मेगा बैंकको सञ्जाललाई देशव्यापी बनाइने समेत शाहले बताए। 'हामी छोटो समयमै नेपालको एउटा ठूलो बैंक बनाउन सफल भएका छौँ, अब संघीयताको कार्यान्वयनसँगै नयाँ-नयाँ आर्थिक सम्भावना र चुनौतीहरु पनि हाम्रो माझमा देखिएका छन्।' उनले भने, ' विज्ञहरुसँगको परामर्शमा हामीले पाँच वर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ।'आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौँ ।'
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताइन्। 'हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गरेका छौं।' उनले भनिन्, ' टुरिजमसँगको मर्जपछि मेगा बैंक झनै चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बैंक बन्न सफल हुनेछ।'
वार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीनवटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन्। बैंकले ग्राहकका लागि साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि 'मेगा साना तथा मझौला कर्जा', आवास तथा गाडी लिन चाहने नेपालीका लागि 'मेगा घर तथा गाडी कर्जा' र विभिन्न व्यवसायमा संलग्नलाई बिनाधितो ऋण प्रदान गर्ने गरी 'मेगा प्रोफेसनल लोन' योजना सार्वजनिक गरिएको छ।यी तीनवटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट लिनसक्ने बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले जानकारी दिइन्।
मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ। यसैगरी, देशभर १४ वटा एक्टेन्सन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम काउन्टर संचालनमा छन्।
सहयोग हस्तान्तरण
यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १-१ लाख रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी, एसईई सके पनि उच्च शिक्षा अध्ययनका लागि आर्थिक अभाव झेल्दै आएका डोल्पाका छिरिङ तावा बुढालाई १ लाख रुपैयाँ सहयोग गरेको मेगा बैंकले जनाएको छ। मेगा बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक वर्ष सहयोग गर्दै आएको छ।