कामको मुल्यांकन गरेकोमा महिला अधिकारकर्मी खुसी

कामको मुल्यांकन गरेकोमा महिला अधिकारकर्मी खुसी

काठमाडौं : बाराकी बबिता जैसवालको १३ वर्षकै कलिलो उमेरमा विवाह भयो। आफूले खेपेको पीडा अन्य दिदीबहिनीलाई खेप्न नपरोस भनेर उनी बालविवाह न्यूनीकरण र दाइजो प्रथा उन्मूलनमा लागिन्। सरकारी विद्यालयमा शिक्षक रहेकी उनले जागिर छाडेर महिला समूह गठन गरी महिला हिंसा र अधिकारको क्षेत्रमा वकालत सुरु गरिन्।

मधेसी समुदायमा महिला अधिकारका लागि जुट्नु परिवारभित्र ठूलो चुनौति मानिन्छ। तर ४५ वर्षीया बबिताले यी कठिनाइ पार लगाउँदै थुप्रै महिलालाई न्याय दिन सफल भइन्। २०७१ सालमा बारामा ६ बालिका बलात्कृत भए। तीमध्ये पूजा साह मृत्यु प्रकरणमा आवाज उठाउँदा उनले प्रहरीको लाठी नै खानु पर्‍यो। लाठी चार्जपछि घाइते उनको लामो समय ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचार भएको थियो।

२०५८ सालदेखिको आफ्नो संघर्षले सफलता पाएको उनले शुक्रबार राष्ट्रिय महिला आयोगले दिएको पुरस्कार ग्रहण गरेपछि अनुभव गरिन्। सरकारले दिएको यो पुरस्कार आफ्नो मात्रै नभई सिंगो मधेसी समुदाय र २ नं प्रदेश कै भएको उनले प्रतिक्रिया दिइन्।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको हातबाट पुरस्कार थाप्नेमध्ये सुर्खेतकी तीर्थाकुमारी बिसी (शर्मिला) पनि एक हुन्। कोपिला भ्याली सेवा समाजमार्फत् महिला तथा बालबालिकालाई मनोविमर्श गर्दै आएकी उनले पीडितलाई कानुनी सहायतका लागि सम्बन्धित निकायसमक्ष लैजाने गर्दै आएकी छन्। ३२ वर्षीया शर्मिलाले बाल्यकालदेखि नै महिला र बालबालिकाको क्षेत्रमा संवेदनशील भएकाले आफू यस क्षेत्रमा लागेको बताइन्। सुर्खेतमा बालविवाह र बहुविवाहका साथै बालबालिका, किशोरी र महिला लागू पदार्थको दुब्र्यसनीमा फस्ने समस्या बढ्दो छ।

उनले दिएको परामर्शपछि पीडितमा धेरै सकारात्मक परिवर्तन आएर आफ्नो घर परिवार सम्हालेर बस्न सक्ने भएका छन्। प्रदेश ६ बाट पुरस्कृत उनले सरकारले कामको मूल्याकंक गरेर पुरस्कृत गरेकोमा आफूलाई धेरै हौशला मिलेको बताइन्।

त्यसैगरी प्रदेश १ बाट पुरस्कृत हुने ताप्लेजुङकी माया गुरुङ सामाजिक विकासका लागि प्राविधिक समूहकी अध्यक्ष हुन्। सरकारले आफ्नो कामको मूल्यांकन गरेकोमा खुसी हुँदै उनले भनिन्, 'यसले मजस्ता अन्य दिदीबहिनीलाई पनि महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्छ।'

कार्यक्रममा पुरस्कृत हुनेमा प्रदेश ३ बाट मकवानपुरकी उमाकुमारी सुवेदी, ४ बाट बागलुङकी रीता शर्मा, ५ बाट रुकुमकी शारदा डांगी र ७ बाट बाजुराबाट देवुकुमारी खाती छन्। त्यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याए बापत नयाँ पत्रिकामा कार्यरत फोटोपत्रकार चन्द्रकला क्षेत्री र कान्तिपुरका रुकुम संवाददाता हरि गौतम पुरस्कृत भए।

पुरस्कृत सबैलाई दोसल्ला र प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद प्रदान गर्दै प्रमुख अतिथि मन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र आर्थिक हिसाबमा अझै दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्नु परेको यथार्थ औंल्याइन्।

देशका विभिन्न भागमा अहिले पनि अन्धविश्वास, कुसंस्कार, छाउपडी, बोक्सी प्रथालगायतका नाममा महिला माथिको हिंसा नरोकिएको भन्दै पीडकलाई कारबाही गरी पीडितलाई न्याय दिन राज्य लाग्नुपर्नेमा मन्त्री थापाको जोड थियो। कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला अधिकारकर्मीलाई महिला हकअधिकारका क्षेत्रमा स्थानीय तहमा खट्न सुझाव दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.