पर्यटक घुमाउन 'अटो अडियोभिडियो एप'
ललितपुर : सहरभित्रका सम्पदामा पर्यटकलाई आकर्षित गर्न ललितपुर महानगरपालिकाले अटो अडियो भिडियो टुरिस्ट गाइड सुरु गरेको छ । ट्याब सञ्चालन गर्दै हेडफोन लगाएर तोकिएको विन्दुबाट सम्पदा यात्रा गर्न थालेपछि उक्त गाइड नामको एप्लिकेसनले भ्रमण गराउनेछ ।
गाइडले पर्यटकलाई पाटन ढोकाबाट सम्पदा यात्रा सुरु गरी मिखाबहाल, सुलिम, छाबहाल, पम्बहाल, नकबहाल, न्याखा चोक, तापाहिटी, आलकोहिटी, कुम्भेश्वरहुँदै पाटन दरबार क्षेत्र पु¥याउने छ । पाटन ढोकादेखि दरबार क्षेत्रसम्मको दुरी २.२ किलोमिटर छ ।
ट्याबमा उपलब्ध हुने यो गाइड प्रयोग गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दाहाल, वल्र्ड बैंकको नेपाल, बंगलादेश र भुटान हेर्ने कन्ट्री डिरेक्टर किमिओ फ्यान, वल्र्ड बैंककै नेपालका कन्ट्री म्यानेजर फरिस जेरसले सोमबार सम्पदा यात्राको उद्घाटन गरेका छन् ।
महानगरपालिकाले वर्ल्ड बैंकको सहयोगमा चार वर्षदेखि सञ्चालन गरिरहेको ‘प्रो–पुअर अर्बन रिजेनेरेसन पाइलट प्रोजेक्ट’ मार्फत् यो कामको सुरुआत गरिएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए । उनले भने, ‘ललितपुर नगरभित्रका सम्पदामा पर्यटकको सहज पहुँच होस् भनेर हेरिटेज वाक र यसमा पनि प्रविधिको प्रयोग गरी नयाँ शैली अपनाएका हौं ।’
यात्राको उद्घाटन गर्दै प्रमुख चिरीबाबु महर्जनले डेढ दसकदेखि रिक्त जननिर्वाचित प्रतिनिधिमा आफू आएलगत्तै सम्पदा संरक्षणमा जुटेको र पाइलट प्रोजेक्टलाई अधिकतम सदुपयोग हुने गरी सम्पदा संरक्षण लगायतका काम गरेको बताए । उनले भने, ‘मूर्त र अमूर्त सम्पदा र संस्कृति संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने काम भएको छ, यो नमूना काम अरु नगरपालिकालाई पनि उदाहरणीय हुनेछ ।’
प्रोजेक्टका संस्थागत विकास विशेषज्ञ मनोजकुमार कर्णले परियोजनाले सहरी गरिबी कम गरेको र उनीहरुको जीवनस्तरमा समेत सहजता भएको बताए । उनले भने, ‘यो परियोजना लागू भएको क्षेत्रका बासिन्दाको सामाजिक एवं आर्थिक स्तरमा परिवर्तन आएको छ ।
सहरी गरिबीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।’ उनका अनुसार, ८० प्रतिशत सहरी गरिबलाई परियोजनाले प्रत्यक्ष प्रभाव पार्न सफल भएको छ । उनले काठमाडौं उपत्यकामा विश्व सम्पदा सूचीमा परेका सातमध्ये एक पाटनमा भएको र चार वर्षको यो नमूना परियोजनाले ललितपुरमा पर्यटकलाई निम्ता दिइरहेको पनि बताए ।
वल्र्ड बैंकका फ्यानले सम्पदा संरक्षण र प्रवद्र्धनसँगै सहरी स्वर बुलुन्द हुने बताए । समुदायलाई नै सम्पदा संरक्षण र प्रवद्र्धनमा सहभागी गराउन सकेमात्र पर्यटन क्षेत्र र सोबाट समाज समृद्ध हुने उनको भनाई छ । बैंकका जेरोसले लगानीको सही सदुपयोग गर्न सके परिणाम अवश्य आउनेमा जोड दिए ।