रित्तिँदै पहाडी गाउँ
बैतडी : करिब ३० वर्ष अघिसम्म जिल्लाका अधिकांश गाउँमा झुम्म परेका बस्ती थिए । तर, पछिल्लो समयमा पहाडी बस्ती पातलिँदै गएका छन् । पहाडका मानिस अनवरत रूपमा तराई झर्दै गएपछि पहाडका बस्ती रित्तिन थालेका हुन् । कलात्मक ढंगले बनेका घर जीर्ण भइसकेका छन् भने धेरै घर भत्किसकेका छन् ।
अवसरको खोजीमा धेरै मानिस पहाडबाट तराई सर्ने गरेका छन् । पछिल्लो समयमा संघीय संरचनामा देश गएपछि पहाडबाट तराई झर्नेको संख्या ह्वात्तै बढेको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढी कायम भएपछि त झन् तराईमा बसाइँ सर्नेको संख्या तीव्र भएको छ । पहाडबाट तराई झर्नेको संख्या बढेपछि पहाडका खेतीयोग्य जमिन पनि बाँझै छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–६ स्थित बगुवाड गाउँमा अब ३÷४ परिवार मात्रै बाँकी छन् । अन्य सबै परिवारले तराईमा बसाइँ सरिसकेका छन् । ‘हाम्रो गाउँका सबै परिवार तराई झरिसकेका छन् । पुरानो कलात्मक शैलीमा बनेका घर बाँझो र जीर्ण भइसकेका छन् । अधिकांश खेत पनि बाँझै छन्’, बगुवाडका खेमराज अवस्थीले भने, ‘अब त सबै आफन्त तराईमा बसाइँ सरेकाले पहाडमा नियास्रो लाग्न थालेको छ ।’
पहाडी क्षेत्रमा उब्जाउ कम हुने र रोजगारका अवसर पनि नहुँदा तराई झर्ने क्रम बढेको हो । ‘रोजगार भएकाहरू पनि अधिकांश तराई झरिसकेका छन्, बालबच्चा पढाउन होस् वा स्वास्थ्य सुविधाका लागि, पहाडबाट पलायन हुने क्रम बढिरहेको छ’, दशरथचन्द नगरपालिका पौडाका गणेशदत्त भट्टले भने । ‘प्रदेशको अस्थायी राजधानी धनगढी कायम भएपछि तराईमा बसाइँ सर्नेको संख्या झन् बढेको छ’,
पहाडको भन्दा तराईमा धेरै अवसर र उब्जिने हुने जमिन भएकाले पनि पहाडबाट तराई जानेको संख्या बढेको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले बताए । उनले भने, ‘पहाडी क्षेत्रमा अपेक्षाकृत विकास नहुनु, रोजगारीका अवसर प्राप्त नहुनुलगायत कारण पहाडबाट बसाइँ सर्नेहरूको संख्या बढेको हो ।’
उच्च शिक्षा अध्ययनका लागि समेत तराईमै उपलब्धता भएकाले पहाडका मानिस जसरी भए पनि तराई जाने होडमा रहेका जगन्नाथ बहुमुखी क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउँछन् । उनी भन्छन्, ‘विकास निर्माणका सबै काम तराईमै केन्द्रित भए । यसले गर्दा पहाड रित्तिँदै गएको छ । यहाँ भएका सम्भावनाको खोजी गर्नतर्फ कसैको ध्यान गएन ।’
पहाडी क्षेत्रबाट निरन्तर बसाइँसराइ भइरहेकाले यो क्षेत्रका सम्भावना खोजी हुन नसकेको उद्यमी मोहनबहादुर विष्टले बताए । उनले भने, ‘पहाडमा हरेक चिजको सम्भावना छ । तर, ती सम्भावनाको खोजी नहुँदा पलायन बढेको छ ।’
सरकारले पहाडमा समान हिसाबले विकास नगर्दा पहाड रित्तिँदै गएको स्थानीय बताउँछन् ।
शिक्षा र स्वास्थ्य सुविधा पाउन तराई जानुपर्ने बाध्यता भएकाले पहाडका मानिस तराई झर्ने क्रम बढ्दै गएको सामाजिक कार्यकर्ता प्रतापसिंह महरा बताउँछन् । उनी भन्छन्, ‘पहाडबाट हुने बसाइँसराइ रोक्न शिक्षा र स्वास्थ्य सुविधा पहाडमा हुन जरुरी छ ।’
सांस्कृतिक विचलनको खतरा
पहाडी क्षेत्रमा आफ्नै किसिमका मौलिक संस्कृति छन् । तर, पछिल्लो समय ती संस्कृति पनि लोप हुँदै गएका छन् । पहाडी समुदायका मानिस निरन्तर बसाइँ सरेर तराई केन्द्रित हुँदा पहाडी संस्कृति मासिँदै गएको आचार्य घनश्याम लेखकले बताए । उनले भने, ‘एक ठाउँको रीतिरिवाज, चालचलनमा बसेका मानिस अर्कै ठाउँमा पुग्दा आफ्नो मौलिक संस्कृति गुम्ने खतरा छ । सुदूरपहाडको संस्कृति अहिले त्यस्तै अवस्थामा पुगेको छ । पहाडका धेरै मानिस तराईमा झरे पहाडी संस्कृति लोप हुँदै गएका छन् ।’
संस्कृतिका विषयमा जान्नेहरूसमेत बसाइँ सर्दा संस्कृति नै लोप हुने अवस्थामा पुगेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने, ‘तराई बसाइँ सरेकाहरू पनि कहिलेकाहीँ पहाड आउँछन् । पहाडमा जनसंख्या नै कम हुँदा पहिलाको जस्तो चाडबाड मनाउनसमेत पाइँदैन ।’