रोकिएन भारततर्फ पेट्रोलियम तस्करी

रोकिएन भारततर्फ पेट्रोलियम तस्करी

बिर्तामोड : झापाको काँकडभिट्टास्थित पेट्रोल पम्पमा प्रतिलिटर १ सय ८ रुपैयाँ रहेको पेट्रोल एक किलोमिटर पारि भारतीय बजार पानीटंकीमा र नक्सलबाडीमा नेपाली १ सय २८ रुपैयाँ पर्छ । नाकाबन्दीका बेला नेपालीहरू सोही स्थानमा गएर पेटोल र डिजेल हालेर फर्किन्थे । त्यस बेला कालोबजारी मौलाउँदा एक लिटर पेट्रोल ३ सयदेखि ५ सय रुपैयाँसम्म पथ्र्यो । त्यसैले नेपालीहरू पारि जान्थे, ट्यांकीभरि तेल हाल्थे अनि फर्किन्थे ।

अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ । भारतीयहरू कार, जिप, भ्यान र मोटरसाइकल काँकडभिट्टा नाका हुँदै झापा पस्छन् अनि तेलले सवारी साधनको ट्यांकी भरेर फर्किन्छन् । भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो पेट्रोल पाइने हुँदा सीमावर्ती भारतीय नागरिक नेपालका पेट्रोल पम्पसम्म आउँछन् ।

झापाका काँकडभिट्टा, धुलाबारी, चारआली र बिर्तामोडमा रहेका पम्पमा आएर भारतीय सवारीले तेल नहालेको दिन नै हुँदैन । नेपालभन्दा भारतमा पेट्रोल र डिजेलको भाउ २० देखि ३० रुपैयाँसम्म महँगो छ । भारत सरकार र प्रान्तीय सरकारले तेलमा कर लगाएका कारण त्यहाँ नेपालको तुलनामा पेट्रोलियम पदार्थ महँगो रहेको जनाइएको छ । भारतबाटै नेपाल ल्याइएको तेल नेपालमा सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रका पेट्रोल पम्पमा भारतीय नागरिक तेल हाल्न आउने गरेको पेट्रोलियम बिक्रेता बताउँछन् ।

चारआली डिपो प्रमुख सनम कार्कीका अनुसार नेपालमा पेट्रोलियम पदार्थ आयात गर्दा भारतले छुट दिने सहमति भएको र नेपाल भित्रिएको तेलमा सरकारले डिलरसम्म पुग्दा ठूलो कर नलगाएका कारण सस्तो पर्ने गरेको हो । ‘नेपाललाई भारतले छुटमा तेल दिएको छ, आयात भएको तेलमा सरकारले पनि थोरै मात्र कर लगाएर बिक्री गर्ने भएकाले भारतका पम्पभन्दा नेपालमा सस्तो भएको हो’, उनले भने ।

नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएपछि झापासहित भारतसँग सिमाना जोडिएका नेपालका जिल्लाबाट भारततर्फ नै तेल तस्करीसमेत हुने गरेको छ । काँकडभिट्टा, झापा गाउँपालिकाका बजार र भद्रपुर क्षेत्रबाट तेल भारततर्फ तस्करी हुने गरेको हो । ती क्षेत्रका पेट्रोल पम्पमा आएर भारतीय नागरिकले २०–३० लिटरका जर्किन र प्लास्टिकका भाँडामा दैनिक तेल भारततर्फ लैजाने गरेको भद्रपुरवासीको कथन छ ।

‘कोही साइकलमा आउँछन् त कोही मोटरसाइकलमा आएर जर्किन र ससाना ड्रममा पारि लैजान्छन्’, भद्रपुरका पशुपति बरालले भने । भद्रपुरस्थित मेची नदी पारिबाट तेल खरिदकै लागि भारतीय नेपाल छिर्ने गर्छन् ।

  •  तस्करी भएपछि बिर्तामोड, काँकडभिट्टा र भद्रपुर क्षेत्रमा पेट्रोल अभावसमेत हुने गरेको छ ।
  •  भारतीय सवारी साधन तेल भर्न नेपाल आउने क्रम बढेको र यसले भारतीय पम्पको कारोबार ५० प्रतिशत घटेको जनाइएको छ ।
  •  भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो पेट्रोल पाइने हुँदा सीमावर्ती भारतीय नागरिक नेपालका पेट्रोल पम्पसम्म आउँछन् ।

प्रहरीले मुख्य सडकमा कडाइ गरे पनि खुला बाटो धेरै रहेकाले काँकडभिट्टाबाट भद्रपुरसम्मका धेरै स्थानबाट भारततर्फ तेल तस्करी हुने गरेको काँकडभिट्टा बजारका हर्ककुमार यक्पाहाङदेनको भनाइ छ । ‘नेपालबाट तेल लैजाने र भारतमा लगेर बोतलमा हालेर बेच्ने साना व्यापारी धेरै छन्’, उनले भने, ‘भारतका सीमावर्ती क्षेत्रका ससाना बजारमा बोतलमा राखेको पेट्रोल सबै नेपालबाट तस्करी गरी लगेकै हो ।’

नेपालबाट भारततर्फ तेल तस्करी गर्ने भारतीय नागरिकलाई बेला–बेला सिमानामा प्रहरीले पक्राउ गरे पनि तस्करी रोकिएको छैन । धेरै नाफा कमाउने दाउमा पम्पका सञ्चालकले तस्करसँग साँठगाँठ गरी तेल भारततर्फ पठाउने गरेको पनि जनाइएको छ । धेरै तेल तस्करी भएपछि बिर्तामोड, काँकडभिट्टा र भद्रपुर क्षेत्रमा पेट्रोल अभावसमेत हुने गरेको छ ।

इलामको पशुपतिनगरबाट कन्याम र फिक्कलसम्म आएर भारतीय नागरिकले तेल लैजाने गरेको पेट्रोल डिलर सञ्चालक तथा डिलरमा काम गर्ने कामदार बताउँछन् । धेरै भारतीय भ्यान र ट्याक्सीले तेल भर्ने गरेको फिक्कलमा रहेको पेट्रोल पम्पमा काम गर्ने रञ्जन श्रेष्ठले बताए । उनका अनुसार भारतीय गाडी तेल हाल्नकै लागि नेपाल आउने र जाने क्रम दैनिक हुन्छ ।

झापाको भद्रपुर बजार, चन्द्रगढी, काँकडभिट्टा, धुलाबारी र बिर्तामोड आउने भारतीय सवारी साधन ट्यांकी भरेर मात्र फर्किने गरेका छन् । तेल तस्करी गर्ने कुनै सेटिङबिना पम्पमै गएर तेल हाल्ने सवारी साधनलाई भने नेपालमा बिक्री भइरहेभन्दा बढी मूल्यमा तेल बिक्री गर्दैनन् । आयल निगमले सिमाना क्षेत्रका पेट्रोल पम्पमा अनुगमन र निगरानीलाई कडाइ गरेकाले पेट्रोल तस्करीमा पम्पको सहभागिता कम भएको कार्कीले बताए ।

‘भारतबाट आएका र नेपालमा कुदेर फर्किएका सवारी साधनलाई तेल नदिने भन्ने हुँदैन’, उनले भने, ‘तर, भारतीय गाडीलाई महँगोमा नेपालका लाई सस्तोमा बिक्री गर्नेदेखि जर्किनमा दिन पम्पलाई कडाइ गरेका छौं ।’ नाकाबाट भारततर्फ तेल तस्करी हुने गरेको जानकारी आएको र प्रहरीलाई पत्रचार गरी निगरानी गर्न आग्रह गरिएको उनले सुनाए ।

तराईका पेट्रोल पम्पमा तेलको माग अप्रत्यासित दरमा बढेकाले त्यसमाथि नियन्त्रण गर्न आवश्यक देखिएको भन्दै निगमले केही समयअघि गृह मन्त्रालयलाई गुहारेको थियो । तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रका पम्पलाई पहिलेको खपत दर हेरेर मात्रै तेल दिने योजना निगमले बनाएको थियो । सीमा क्षेत्रबाट भारतीय सवारी तेल भर्न नेपाल आउने क्रम बढेको र यसले भारतीय सीमा क्षेत्रका पम्पको कारोबार ५० प्रतिशत घटेको खबर भारतीय सञ्चारमाध्यमले छापेका छन् । भारतको सिलिगुडीबाट भुटानले पनि तेल निर्यात गर्ने गर्दछ ।

०००

भारततर्फ तेल तस्करी गर्न प्रयोग गरिएकोे सामान । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.