नेवानिको दोस्रो वाइवबडी ‘मकालु’ आयो
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी नेपाल आइपुगेको छ। बिहीबार बिहान सवा ९ बजे मकालु नाम दिइएको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। ए ३३०–२०० सिरिजको जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ९–एनएएलजेड कल साइन दिएको छ।
यसअघि निगमले पहिलोपटक अन्नपूर्ण नाम दिइएको वाइडबडी ए ३३०–२०० सिरिजको जहाज असार १४ भित्र्याएको थियो। बिहीबार दोस्रो बाइडबडी मकालु नेपाल आएसँगै नेवानिसँग दुईवटा २७४ सिट क्षमताका जहाज भएका छन्।
१९ सिट क्षमताको डाकोटा जहाजबाट ६० वर्ष अगाडि उडान सुरु गरेको नेवानिले यही साउन १६ गते पहिलोपटक वाइडबडी जहाजमार्फत उडान गर्ने भएको छ। निगमले खरिद गरेका दुईवटा वाइडबडीमध्ये पहिलोले गत सोमबारमात्रै भारतको दिल्लीमा पु्रफिङ उडान गरेको थियो। जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारमा हुँदैछ।
उडान तयारी गरे पनि नियम निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानका लागि एओसी भने दिइसकेको छ। एओसी पाउने आशामा उडान तालिका तय भएको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठ बताउँछन्।
‘एओसी नपाउने कुनै कारण छैन’, श्रेष्ठले भने, ‘केही दिन ढिला भए पनि एक दुई दिनमा एओसी पाउँछौं।’ नेवानिले दुईवटै जहाज फ्रान्सको तुलुज सहरबाट करिब नौ घण्टाको सीधा उडानका काठमाडौं ल्याएको हो।
जहाज लिन निगममा महाप्रबन्धक सुगतरत्न कंसाकार फ्रान्स पुगेका थिए। दुईवटै वाइडबडी जहाजमा दुई सय ७२ सिट छन्। जसमा १८ वटा सांग्रिला (बिजनेस) क्लास र दुई सय ५६ वटा इकोनोमिक (साधारण) क्लासका सिट रहेन निगमले जनाएको छ।
लामो दूरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस क्लास, २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन्।
१९ सिट क्षमताको डाकोटा जहाजबाट ६० वर्ष अगाडि उडान सुरु गरेको नेवानिले यही साउन १६ गते पहिलोपटक वाइडबडी जहाजमार्फत उडान गर्ने भएको छ।
जहाज खरिदमा नेवानिको प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर परेको छ। निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो। नेवानिलाई २०७४ जेठ २८ मा ऋण दिने सहमति गरेसँगै जहाज आउने सुनिश्चित भएको थियो।
नेपालले सन् २०२० मा मनाउन लागेको ‘भिजिट नेपाल’ र पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने विश्वास निगमले लिएको छ। नयाँ दुईवटा वाइडबडी जहाजले नियमित रूपमा उडान गर्न थालेसँगै अन्तर्राष्ट्रिय उडानमा अहिले रहेको नौ प्रतिशतको बजार हिस्सा १७ प्रतिशत पु¥याउने निगमले व्यवसायी योजनासमेत सार्वजनिक गरिसकेको छ।
अहिले निगम तेस्रो धेरै यात्रु बोक्ने एयरलाइन्स कम्पनीको रूपमा छ। दुईवटा वाइडबडी भित्रिएसँगै अबको केही महिनापछि नै निगम पहिलो नम्बरमा आउने दाबी गरेको छ। उक्त वाइडबडीको लक्ष्य युरोप, अमेरिका, जापान तथा कोरिया उडानतर्फ छ। तर, पहिलो चरणमा जापान, कोरिया र साउदी तीन नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। तेस्रो जहाज आएपछि भने युरोप अमेरिका सीधा उडान भर्ने निगमले जनाएको छ।
तर, पहिलो चरणमा असार १४ गते काठमाडौं आइपुगेको वाइडबडी जहाजले व्यवसायी उडान कतारबाट थाल्ने निश्चित भएको पनि दोस्रो वाइडबडीको उडान भने सबै प्रक्रिया पूरा गरे तय हुने श्रेष्ठले जानकारी दिए। नेवानिको वाइबडी फुलफेजमा सञ्चालनमा आएसँगै विश्व बजारमा रहेको महँगो हवाई भाडा पनि क्रमश घट्दै जाने उनको विश्वास छ। अहिले पनि नेवानिले विश्वका चर्चित र ठूला एयरलाइन्सँग प्रतिस्पर्धा गरिरहेको छ।
नयाँ वाइडबडी आएसँगै फेरि चुनौती पनि थफिएको छ। नेवानिले सबै उडानबाट फाइदा लिने कुनै अपेक्षा राखेको छैन। विश्वबजारमा नेपाल जान सबैभन्दा महँगो हवाई भाडा पर्छ भने सूचना फैलिएको छ। नेवानिलाई भने जस्तै वाइडबडी फुलफेजमा सञ्चालन गर्न सहज भने छैन। नेवानिसँग अहिले वाइडबडी जहाज उडान गर्न सक्ने दुई जना पाइलट र चार जना को–पाइलट मात्रै छन्। दुईवटै वाइडबडी उडानका लागि १६ जना पाइलट र १६ जना को–पाइलट आवश्यक पर्छ। नेवानिले पछिल्लो सयम चरम पाइलट अभावको समस्या भोग्दै आएको छ। पाइलट अभावककै कारण चिनियाँ वाई १२ जहाजले पनि नियमित उडान गर्ने सकेको छ।
नेवानिले वाइडबडी जहाज उडानका लागि आवश्यक पाइलट लिने विज्ञापन पनि गरिसकेको छ। विज्ञापनमा परेको निवेदनको आधारमा नेवानिले पाइलट व्यवस्थापन तयारी गरिरहेको श्रेष्ठले बताए।
नेवालिसँग अब अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज भएका छन्।
‘हवाई क्षेत्रमा सधै शत्प्रतिशत नै अकुपेन्सी हुन्छ भने कुनै आधार हुँदैन’, श्रेष्ठले भने, ‘नेवानिको अकुपेन्सी ठूला र चर्चित एयरलाइन्स कम्पनीको भन्दा राम्रो छ।’ नेवानिले अहिले आठ गन्तव्यमा उडान गरिरहेको छ।
अब नयाँ दुईवटा वाइडबडी जहाजमार्फत थप तीनवटा गन्तव्य साउदी, जापान र कोरिया गर्ने तयारी गरेको छ। तर, युरोप र अमेरिका उडानका लागि भने तेस्रो वाइडबडी जहाज आउनुपर्ने नेवानिको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !