‘सिंहदरबार-२’ भाेलिदेखि
काठमाडौं : ‘सिंहदरबार-२’ नामक टेलिश्रृंखला साउन १२ गते शनिबारदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८.५० देखि ९.३० बजेसम्म प्रसारण हुनेछ । ‘सिंहदरबार-२’ १३ भागको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको दिगो विकास लक्ष (एसडीजी) प्राप्तिका लागि सर्च नेपालले नेपालस्थित संयुक्तराष्ट्र संघसँग सहकार्य गरी उक्त टेलिश्रृंखला तयार पारेको हो ।
सहकार्य अनुरुप टेलिश्रृंखलाले दिगो विकास लक्ष प्राप्तिसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नेछ । नेपालको पहिलो प्रथम महिला प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । सिंहको भूमिका अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छन् ।
यसमा नेपालमा संघीय संरचना, त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । यसका साथै मानव बेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारजस्ता मुद्दालाई पनि समेटिएको छ ।
टेलिश्रृंखलाले सरकार र नागरिकबीचको खाडललाई कम गर्न तथा संघीयता र सुशासनको बारेमा जनचेतना अभिवृद्धि गर्न पुलको काम गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको भनाइ छ ।
नवीन सुव्वाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सबिना गोपाली र रेम विक लगायतले अभिनय गरेका छन् ।
पटकथा लेखन अविनास विक्रम शाह र छिरिङ छोडेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गरे भने पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गरेका छन् ।
निर्देशक सुब्बा भन्छन्, ‘यस श्रृंखलामा हामीले नागरिकको अपेक्षा पूरा गर्ने संकल्प लिएकी प्रधानमन्त्री सिंहको राजनीतिक यात्राका साथै उनको मानवीय संवेदनालाई आकर्षक ढंगले प्रस्तुत गरेका छौं ।’