संसदीय सुनुवाई समितिको बैठक स्थगित
काठमाडौँ : प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्न वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न आइतबारका लागि बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ।
समितिको बैठक आज बिहान बस्ने भनिएता सांसद पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएकाले र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी रहेको हुँदा बैठक नबसी स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिए।
जोशीको फरक-फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो।
प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाई भएको थियो। संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाईले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन्।रासस