सम्झौताले देखाएको बाटो
इमानदारी र दृढतापूर्वक सम्झौता कार्यान्वयन भएमा ओली नेतृत्वको पार्टी र सरकारका लागि यो प्रथम ऐतिहासिक विजय हुनेछ
सत्ताईस दिनको अनशनपछि डा. गोविन्द केसीको पन्ध्रौं अनशनको सुखद् अन्त्य भएको छ। यसले ठूलो तनावको अन्त्य मात्र होइन, आम जनतामा सुखीको सञ्चार पनि गरेको छ। यो सकारात्मक हो। तर यस देशको दुर्भाग्य केमा छ भने विगत सात दशकदेखि शिक्षा र स्वास्थ्यमा आमजनको पहुँच सुनिश्चित हुनुपर्छ भनी सडकमा संघर्ष गर्दै र बलिदान दिँदै आएका हामी कम्युनिस्टहरू नै सत्ता सिंहासन प्राप्त भएपछि त्यो इतिहास चटक्क बिर्सेर त्यसै मागविरुद्ध अभेद्य चट्टान बनी उभिन पुग्यौं। सम्झौतापछि पनि शंकाउपशंका अझै जीवित छन्।
आफैंले विगतदेखि उठाउँदै आएको स्वास्थ्य र शिक्षामा आम जनताको पहुँच सुनिश्चित हुनुपर्छ भन्ने आधारभूत मानवीय अधिकारका लागि कम्युनिस्टको एकछत्र सत्ता रहेको अवस्थामा एउटा व्यक्तिले २७ दिनसम्म आमरण अनशन बस्नुपर्यो। त्यसभन्दा पनि ठूलो दुर्भाग्य यिनै माग लिएर विगतमा चौधपटक अनशन गर्दै गर्दा कहिले नभोगेको अपमान यसपटक सत्ताको उपल्लो तह र शक्ति केन्द्रमा बसेका मूर्धन्य कम्युनिस्ट व्यक्तित्वहरू र तिनका अनुयायीहरूबाट डा. केसीले भोग्नुपर्यो। उनीविरुद्ध दलाल, एजेन्ट, जनविरोधी, ढोंगी जस्ता जेजति गन्दा र निकृष्ट शब्दावलीको प्रयोग गरियो, त्यो आफैंमा निन्दनीय थियो। एकजना नेकपाकी माननीय गंगा चौधरीबाट संसद्मै डा. केसीलाई हत्याराजस्ता अभियोग लगाई कारबाहीको मागसम्म प्रस्तुत गरियो। चौधरीले कुन वर्गको प्रतिनिधित्व गर्दै संसद्मा पुग्नुभयो र कुन वर्गको नेतृत्व गर्दै हुनुहुन्छ ? तर तिनले प्रस्तुत गरेको माग र गाली निश्चितरूपमा स्वास्थ्य क्षेत्रमा सबभन्दा बढी सीमान्तीकृतको अवस्थामा रहेको थारू समुदायको माग भने थिएन, कुनै माफिया जमातको माग हुन सक्छ। एउटा सत्याग्रहीविरुद्ध सुरक्षा बलको नांगो प्रयोग गरियो। यसबाट सबै कम्युनिस्टहरूलाई र ती शब्द बोल्नेहरूलाई पनि आफ्नै बोलाइप्रति लज्जाबोध भएको हुनुपर्छ।
भैगो ! छोडौं, इतिहास भइसकेका यी कुरा। यी अखबारका पाना र संसद्का अभिलेखहरूमा दर्ज भइसकेका घटना हुन्। भोलि कुनै निष्पक्ष इतिहासकारले खोज्ने र खोतल्नेछन्। इतिहासले उठाएका प्रश्नको जबाफ समयले देला। आज अवस्था नयाँ चरणमा प्रवेश गरेको छ। यसलाई सकारात्मक रूपमा लिँदै भविष्यप्रति आशावादी भएर सकारात्मक रूपमा हेर्नु नै प्रगतिको सहायक हुनेछ।
डा. केसीसँगको सम्झौतालाई दुई कोणबाट हेर्न सकिन्छ– एउटा कोण, स्वास्थ्य र शिक्षा क्षेत्रको व्यापारमा ठूलो प्रतिफलको आशा लिएर लगानी गरेका पार्टीहरूका उच्चपदस्थ नेता तथा कार्यकर्ता र यस क्षेत्रमा पकड जमाएका माफियाहरूको कोणबाट। अर्को वर्तमान सरकारबाट राहतको आशा गरी बसेका आम जनता र वर्तमान अवस्थालाई समाजवादको लक्ष्यप्राप्तिका लागि एउटा सुनौलो अवसरको रूपमा हेरिरहेका तथा वर्तमान सरकार पूर्ण निष्ठा तथा प्रतिबद्धतासहित त्यस दिशामा अगाडि बढ्ने आशा र विश्वास लिएका जनताको कोणबाट। सरकारले कुन कोणबाट हेरेको छ, त्यो उसका अगाडिका कदमबाट स्पष्ट हुनेछ। ती कदम उसको सैद्धान्तिक निष्ठा, प्रतिबद्धता तथा जनउत्तरदायित्वको बोधमा निर्भर गर्नेछन्।
सरकार आफ्नो सिद्धान्त र प्रतिबद्धताअनुसार देशलाई समाजवादउन्मुख बाटोमा अगाडि बढाउन कृतसंकल्प छ भने डा. केसीसँग गरिएको वर्तमान सम्झौता उसका लागि ठूलो उपलब्धि हो। किनभने जुन बाटोमा अगाडि बढ्न सरकारसामु चारैतिर व्यवधान देखिएका छन् त्यस अवस्थामा यो सम्झौता सामयिक मात्र होइन, सरकारसामु रहेका ती आन्तरिक र बाह्य व्यवधान पन्छाउन र समाजवादउन्मुख बाटोमा एक कदम अगाडि बढ्न सरकारलाई एउटा ठोस आधार प्रदान गर्ने सकारात्मक र सहयोगी घटनाका रूपमा अगाडि आएको छ। चौतर्फी रूपमा प्रशासनिक बेथिति, माफियाहरूको जाल, कार्टेलिङ र सिन्डिकेटधारीहरूको कब्जा, कालोबजारिया र बिचौलियाहरूको सञ्जाल, भूमिगत अर्थतन्त्रका नाइके र तस्करहरूको अन्तर्राष्ट्रिय सञ्जालबाट जेलिएको वर्तमान अवस्थाबाट निकास खोज्न प्रयासरत रहेको तर प्रत्येकपटक कदम पछाडि हटाउन बाध्य भइरहेको आभास भइरहेको अवस्थामा सरकारलाई यस सम्झौताले त्यस जन्जिरको एउटा कडी चुँडाल्ने अवसर दिएको छ। सम्झौताअनुसार इमानदारी र दृढतापूर्वक काम सम्पन्न भएमा ओली नेतृत्वको पार्टी र सरकारका लागि यो प्रथम ऐतिहासिक विजय हुनेछ।
दृष्टिकोण सबका आआफ्ना हुन्छन्, हेराइको कोण पनि आआफ्नै हुन्छन्। यो मेरो हेराइको कोण हो र सायद कम्युनिस्टहरूको वर्तमान विजयलाई युगान्तकारी सम्भावना बोकेको परिघटनाका रूपमा हेर्ने अरूको पनि हुनसक्छ। किनकि यस सरकारका प्रत्येक समयसापेक्ष सही कदमले तिनमा नयाँ आशा जगाउँछ भने प्रत्येक गलत कदम तथा असफलताले यस उपलब्धिको क्षयीकरण हुने आशंकाले पीडाबोध हुन्छ।
सामाजिक परिघटना होऊन् वा प्राकृतिक, एउटा परिघटनाको असर अर्कोमा पर्छ। इन्जिनियरिङमा एउटा शब्दावली छ, ‘पाइप इफेक्ट’ जसले भन्छ– पानीले एउटा सानो क्षिद्र पायो भने उसले आफ्नो बाटो आफैं बनाउँछ। भियतनामको सन्दर्भमा अमेरिकाले त्यहाँ कम्युनिस्टको विजय भयो भने यसले ‘दमिनो इफ्याक्ट’ पार्नेछ भनेका थिए। जसको अर्थ थियो– बच्चाहरूले खेल्ने इटाहरूको खेलमा एउटा इँटाले अर्कालाई ढलाउँदै सबैलाई ढाल्नेछ भन्ने। यी सब नियम सामाजिक परिघटनामा पनि त्यसै किसिमले लागू हुने नियम हुन्।
राणाशाही अन्त्य गरी प्रजातन्त्र ल्याउन अग्रभूमिकामा रहेका नेता बीपी कोइरालाको दुईतिहाइको सरकारलाई अठार महिनामै सैन्य ‘कू’ द्वारा समाप्त गरी बीपीलाई जेल पठाउँदा तिनै मतदाताले घरघरमा दीपावली गर्दै राजाको जयजयकार गरेको घटना सबैको स्मृतिमा ताजै हुनुपर्छ।
वर्तमान प्रजातान्त्रिक परिपाटीमा विद्रोहको अवस्था सिर्जना नभएसम्म सरकार संविधानले कोरेका लक्ष्मण रेखा उल्लंघन गर्न सक्दैन र पुराना अवशेष समाप्त नगरी नयाँ परिपाटी स्थापित गर्न पनि सकिँदैन। यस प्रक्रियामा कतिपय अवस्थामा पुरानाहरूको प्रतिरोधसँगै वैधानिक प्रावधानले पनि छेक्छन्। यो वर्तमान सरकार र सत्तासीन पार्टीको अगाडि उपस्थित ‘आवश्यकता र यथार्थ’ बीचको कन्ट्रडिक्टोरी अवस्था हो। यस कन्ट्राडिक्सनको सम्यक् समाधान खोज्न सक्नु नै क्रान्तिकारी नेतृत्वको काम हो। यस अवस्थामा अठोट, दृढता र लक्ष्यप्रति समर्पित भए डा. केसीसँगको सम्झौताले व्यवधानका किल्लाको एउटा इँटा फोड्ने अवसर दिएको छ।
यसैबीच अखबारका पानामा केही अशुभ संकेत पनि देखिँदैछन्। यसबाट वर्तमान सम्झौताको कार्यान्वयन र अर्को फाँटको माफिया किल्लामा प्रहार गर्न स्वयं सत्तासीन पार्टी र सरकारभित्रैबाट प्रतिरोध अगाडि आउने संकेत देखिँदैछन्। यस्तो असहयोगी अवस्था सिर्जना गरियो र बाह्य प्रतिरोधी शक्ति र यस्तो आन्तरिक प्रतिरोधी शक्तिको समन्वय भएमा त्यसबाट असहज अवस्था सिर्जना हुन सक्छ र त्यो दुर्भाग्यपूर्ण अवस्था हुनेछ। प्राचीन मान्यता हो युद्धभूमिमा विजय महारथीको सौर्य र उसका सारथिको युद्धकौशलको ज्ञानमा निर्भर गर्छ। किनभने सारथिले महारथीलाई लक्ष्य भेदन गर्न सुगम अवस्था सिर्जना गर्दै महारथीको हौसला बढाउने गर्छ भने महारथीले धैर्य र स्थिर भएर लक्ष्य भेदनको काम गर्छ। अर्जुनका सारथि कृष्णले अर्जुनको साहस र धैर्य मात्र बढाएनन्, कठिन क्षणहरूमा उनको रक्षा पनि गरे। अर्कोतर्फ कृष्णजत्तिकै सक्षम सारथि शल्यले एकपछि अर्को गर्दै महारथी कर्णलाई निरुत्साहित गर्ने काम गरे। यहाँ यस प्रसंगको स्मरण यसकारणले भयो कि सामाजिक परिवर्तनको वर्तमान महासंघारमा नेकपाको रथमा पनि दुई महारथी छन्। तर अहिलेसम्म को महारथी र को सारथि भन्ने पहिचान भइनसकेको अवस्था देखिन्छ र कार्यकर्ताको सेनासञ्चालन र व्युह रचनाको खाका देखिँदैन।
तत्कालको प्राथमिकतामा भविष्यका योजनाको खाका कोर्नु र प्रशासनिक संयन्त्रको सुधारतर्फ दृढ कदम चाल्नु हो। यसले एकतर्फ शनैः शनैः प्रशासनलाई परिवर्तनमैत्री र जनमुखी बनाउँदै लैजानेछ भने अर्कोतर्फ जनताको विश्वास आर्जन गर्नेछ। यो काम माथिबाटै हुने काम हो र त्यसमा पनि सत्ताको नेतृत्वकारी अंग–मन्त्रिमण्डल प्रमुख हो। अहिले आम मानिसले महसुस गर्दैछन्। त्यहाँ न त मन्त्रीहरूको कामगराइमा समन्वयात्मक रूपमा काम गर्नै प्रवृत्ति देखिन्छ न स्पष्ट दृष्टिकोण। यस अवस्थामा मन्त्रीहरूको कार्यदक्षताको अनुगमन र मूल्यांकन गर्न र ठूला योजना तथा सुरक्षा निकायका निगरानी गर्न माथिबाटै अनुगमन गर्ने निर्णय गरिएका समाचार छन्। यो सामयिक र सकारात्मक कदम हो। तर दृढतासाथ यसको कार्यान्वयन भएन भने यी निर्णयहरू पनि विगतमा सिन्डिकेटहरू समाप्त गर्ने, सुन तस्करीसहितको तस्करतन्त्र समाप्त गर्ने हल्लाबाजी जस्तै निरर्थकको प्रचारबाजी मात्र हुनेछ, जसको परिणाम नकारात्मक हुनेछ।
हामीकहाँ प्रजातान्त्रिक परिपाटीले र सरकारहरूले बेलाबेला विचित्र अवस्था बेहोर्नुपरेको इतिहास छ। राणाशाहीको अन्त्य गरी प्रजातन्त्र ल्याउन अग्र भूमिकामा रहेका नेता बीपी कोइरालाको दुईतिहाइको सरकारलाई अठार महिनामा नै सैन्य ‘कु’ द्वारा समाप्त गरी बीपीलाई जेल पठाउँदा तिनै मतदाताले घरघरमा दीपावली गर्दै राजाको जयजयकार गरेको घटना सबैको स्मृतिमा छँदैछ। त्यसैगरी दसबर्से जनयुद्धपछिको निर्वाचनमा दुईतिहाइको समर्थनसहित सत्तामा पुगेका प्रचण्डले कटुवालको पृष्ठशक्तिको पूर्वानुमान नगरी शक्तिको आडम्बरमा कटुवालमाथि प्रहार गर्दा ब्रह्मास्त्र फर्केर आएजस्तै प्रचण्डलाई नै घाइते मात्र होइन, पराजित नै गर्न पुगेको घटना ताजैै छ। दुईतिहाइभन्दा बढीको समर्थनप्राप्त यी महारथी पराजित हुँदा न कसैले दुःखमनाउ गरे न कुनै जनता विद्रोह वा प्रतिकारमा ओर्लिए। यी इतिहासका पाठ हुन्।
यी घटनाको समय राजनीतिक अवस्था र मनोविज्ञानमा कति साम्यता छ र कति भिन्नता त्यो बेग्लै कुरा हो। तर निर्विकल्प सत्य हो दुई भिन्न अवस्थामा यी घटना भएका थिए। यसबाट बुझ्नुपर्ने कुरा के हो भने सामाजिक परिवर्तनको प्रक्रियामा पनि प्रकृतिमा जस्तै द्वन्द्ववादका ‘नियमितता’ र ‘आकस्मिकता’ जस्ता स्वयंसिद्ध क्रियाशील रहन्छन्। फरक के मात्र हो भने सामाजमा यिनलाई मानवको सचेत क्रियाकलापले नियन्त्रित गर्न सकिन्छ, प्रकृतिमा त्यसो हुँदैन। ‘आकस्मिकता’ होस् अथवा ‘नियमितता’ कारणविना घटित हुँदैनन्। फरक के मात्र हो भने ‘आकस्मिकता’ का कार्यकारण, चरित्र र परिणामको पूर्वानुमान गर्न सकिँदैन, तिनको व्यवस्थापन त्यसैबेला गर्नुपर्ने हुन्छ। तर ‘नियमितता’ को पूर्वानुमान गर्न सकिन्छ र त्यसलाई समयमै सही दिशा र गति दिन योजना बनाउन सकिन्छ। समयमै आफ्ना सचेत क्रियाकलापबाट सामाजिक परिवर्तनको दिशा सुनिश्चित गर्नु नै राजनीतिक नेतृत्वको काम हो। त्यसका लागि नेतृत्व वर्गमा अवस्था, लक्ष्य र दिशाको ज्ञान हुन आवश्यक हुन्छ। यो समाज विकासका द्वन्द्वात्मक प्रवृत्तिको आधारभूत स्वयंसिद्ध र मानवका सचेत क्रियाकलापबीचको अन्तरसम्बन्ध हो।
उपरोक्त कुरा कुनै अन्यथा कारणबाट भनिएका होइनन्। आजको अवस्थाले भन्न निर्देशित गरेका कुरा हुन्। ओली र प्रचण्ड सरकारको दीर्घजीवन मात्र होइन, वर्तमान ऐतिहासिक अभियानको सफल कार्यान्वयनका लागि कटिबद्ध हुनुहुन्छ भने आजको अवस्था आसेपासे र गलत तत्वलाई रिझाएर विरोध साम्य पार्ने र तिनलाई बोक्ने अवस्था होइन, बल्कि जनताको मन जितेर बलियो जनाधार तयार गर्नुपर्ने चरण हो। यसका लागि विगतमा गरिएका गल्ती–कमजोरीमा सुधार, पार्टीपंक्तिको शुद्धीकरण र सबलीकरण तथा गलत तत्वमाथि सबल प्रहार आवश्यक साधन हुन्।