पहिरोले लग्यो सात बालबालिका , एकै घरका चारसहित आठको मृत्यु

पहिरोले लग्यो सात बालबालिका , एकै घरका चारसहित आठको मृत्यु

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा सातजना बालबालिकाको ज्यान गएको छ। घटनामा एकै घरका चारसहित आठ जनाको मृत्यु भएको छ। एकजना बालक अझै बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ। पहिरोले पुरेका आठ जनाको शव आइतबारै निकालिएको छ।

करिब सय मिटरमाथिबाट आएको पहिरोले भेरी नगरपालिका ३ ठाँटीस्थित तीर्थराज बोहरा र गोपाल सुनारको घर पुर्दा उक्त घटना भएको हो।

भेरी नगरपालिका–६ गंगटियाका लालबहादुर भनिने खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। खड्गबहादुरका एक श्रीमती र तीन छोरी गरी चार जनाको मृत्यु भएको छ।

खड्गबहादुरकी श्रीमती २५ वर्षीया शीतला लुहार, उनका छोरीहरू १० वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार, ३ वर्षीया मनिषा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरमुली तीर्थराज बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा ज्यान गएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए। उनका अनुसार खलंगामा मजदुरी गरेर बसेका कुसे गाउँपालिका ६ भार्माका कृष्णबहादुर परियारको छोरा ११ वर्षीय नवीन परियार र सोही गाउँपालिका ५ नाउलीखेतका प्रेमबहादुर परियारका १३ वर्षीय छोरा नरेन्द्र परियार पहिरोमा पुरिएर ज्यान गएको छ।

उनीहरू होमवर्क गर्न साथीहरू बस्ने कोठामा गएको बेला पहिरोमा पुरिएका हुन्। त्यसैगरी नलगाड ३ करुवाका ८ वर्षीय दशरथ परियारको पनि मृत्यु भएको छ भने उनकै दाइ १२ वर्षीय गोविन्द परिवार बेपत्ता छन्। यी दुई भाई टुहुरा हुन्। उनीहरू दिदीसँग सदरमुकाममा डेरा लिएर बस्दै आएका थिए। दिदी शर्मिला र अर्को भाइ काममा गएकाले पहिरोबाट जोगिएका छन्।

साथीको कोठामा होमवर्क गर्न बसेका ३ देखि १३ वर्षसम्मका केटाकेटी पहिरोमा परेका हुन्।

मृत्यु हुने सबैलाई सुरक्षाकर्मीले पुरिएको अवस्थामा निकालेका थिए। जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

आइतबार बिहानैदेखि प्रहरी, सेना र स्थानीय उद्धारमा जुटेका थिए। अप्ठेरो ठाउँ र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको त्यहीँ खटिएका निमित्त प्रहरी प्रमुख सुनारले बताए। बिहान साढे सात बजे घटना भएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारका लागि घटनास्थलमा खटिएको थियो। दिनभरिको प्रयासपछि पनि अझै एक जना हराइरहेका छन्। आइतबार रात परेकाले सोमबार पुनः हराइरहेकाको खोजी गरिने प्रहरीले जनाएको छ।

यसैबीच भेरी नगरपालिकाले घाइते लुहारको उपचारका लागि २० हजार रूपैया हस्तान्तरण गरेको छ भने किरिया खर्चबापत प्रतिव्यक्ति ३० हजार उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। साथै उचित राहत र क्षतिपूर्तिका लागि प्रदेश तथा केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए।

सदरमुकामभित्रका धेरै बस्ती तथा घरहरू जोखिममा रहेकाले सबैलाई सर्तकता अपनाउन घर्तीले आग्रह गरेका छन्। जथाभावी सडक खन्नु, ढलनिकासको उचित प्रबन्ध नहुनु, भिरालो जमिनमा भित्ता काटेर घर बनाउनु, जंगल विनाशलगायतका कारण सदरमुकाम तथा जिल्लाका अन्य ठाँउका दर्जनौं घरहरू पहिरोको उच्च जोखिममा रहेका छन्।

बाआमा जोगिए, छोराछोरी पुरिए

सधैंझै प्रेम परियारका श्रीमान्– श्रीमती चिया खाएर कपडा सिलाउन बजार निस्किए। छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भन्दै निस्केका उनीहरू त पहिरोबाट जोगिए। तर साथीको घरमा होमवर्क गर्न गएको १३ वर्षीय छोरा नरेन्द्र परियारको पहिरोमा पुरिएर ज्यान गयो।

‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउँला भन्ने सोचेको थिएँ तर अकालमै दैवले चुँडेर लग्यो’, नरेन्द्रले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु होला बुवा भनेको थियो तर अब कहिल्यै नफर्कने गरी गयो।’

स्थानीय एक बोर्डिङमा चार कक्षामा पढ्ने नरेन्द्र नजिकै रहेको साथीको घरमा होमवर्क गर्ने गएका थिए। नरेन्द्रको मामाका छोरा ११ वर्षको नवीन परियार पनि उनीसँगै साथीको डेरामा गएका थिए। साथीहरू १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चार जना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए।

आइतबार बिहान साढे सात बजेतिर करिब सय मिटरमाथिबाट आएको पहिरोले उनीहरू सबैलाई पुरेको हो।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखा सदस्य तीर्थराज बोहरा र उनकी श्रीमती खाना पकाउँदै थिए। छोरी नज्मा बाहिर खेल्दै थिइन्। त्यत्तिकैमा एक्कासी माथिबाट पहिरो आएपछि उनीहरू बाहिर निस्केर भागे।

छोरी खेलिरहेकै ठाँउबाटै पहिरो गएका कारण उनीहरूकी छोरी पनि पुरिइन्, बाआमा चाहिँ जोगिएका छन्। ‘गुहारगुहार ग¥यौं तर हाम्रो चित्कार कसैले सुनेन’, उनले भने, ‘छोरी डाक्टर बन्छु बाबा भन्थी, दैवले सधैंका लागि चुँडेर लग्यो।’ नज्मा उनीहरूकी एक्ली छोरी थिइन्।

जीवितै उद्धार गरिएका भेरी नगरपालिका–६ गंगटियाका खड्गबहादुर लुहारकी श्रीमती शीतला लुहारसहित तीन छोरीको ज्यान गएको छ। उनी एक्लै जीवित उद्धार गरिएका छन्।

पहिरोको जोखिम कायमै

अविरल वर्षात्का कारण सदरमुकाम र आसपासका बस्तीहरू उच्च जोखिममा परेका छन्। जाजरकोट डोल्पा सडकको खलंगा खण्डमा कालोपत्रे गरिएका सडकहरूसमेत विभिन्न ठाउँमा भत्किएपछि स्थानीयलाई आवागमनमा बाधा पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.