इमरानको नयाँ पाकिस्तान

इमरानको नयाँ पाकिस्तान

सरकारको स्वतन्त्र अस्तित्व कायम राख्दै सेनालाई विश्वासमा लिएर काम गर्न खानलाई त्यति सजिलो हुने छैन, तर अवसर भने छ।


११ मार्च १९९२ मा इमरान खानका लागि ‘गर या मर’ को दिन थियो। पाकिस्तानी क्रिकेट टिमको नेतृत्व गरेर अस्ट्रेलिया पुगेका खानसँग विश्वकप जित्ने सपना मात्रै थिएन, विश्वकप जित्न सक्ने काविल टिम पनि थियो। तर सबै सोचेजस्तो भएन, सुरुवाती पाँच खेलमा पाकिस्तान टिमले राम्रो खेल्न सकेन। वेस्ट इन्डिज, दक्षिण अफ्रिका र चिर प्रतिद्वन्द्वी भारतसँगको लगातारको हार बेहोरेको पाकिस्तानी टिमले वर्षाका कारण इङल्यान्डसँग बराबरीमा चित्त बुझाउनुपरेको थियो भने कमजोर टिम जिम्बाबेलाई जितेको थियो। मार्च ११ मा ऊ टुर्नामेन्टकै बलियो मानिएको घरेलु टिम अस्ट्रेलियासँग भिड्दै थियो। त्यो खेल हारेको खण्डमा पाकिस्तान लिग चरणबाटै बाहिरिन्थ्यो। खेल सुरु हुनुअघि कप्तान इमरान खानले टिमका सबै सदस्यलाई ड्रेसिङ रुममा भेला गराए। ‘मलाई लाग्छ, हामी यो विश्वकप जित्छौं, म आज मेरो टिमले घेराबन्दीमा परेको बाघ झैं लडेको देख्न चाहन्छु, जो अति नै खतरनाक हुन्छ।’ इमरान खानको यही भनाइले टिमका सदस्यमा ऊर्जा थप्यो, पाकिस्तानले त्यो खेलमा अस्ट्रेलियालाई जित्यो। बाँकी सबै खेलमा अपराजित हुँदै फाइनल खेल जितेर सन् १९९२ को विश्वकपमा कब्जा जमायो।

गत २६ जुलाईमा ‘द नेसन’ नामक अंग्रेजी संस्करणको पाकिस्तानी पत्रिकाले फ्रन्ट पेजमा इमरान खानको तस्बिरसहित ‘म्यान अफ द म्याच’ शीर्षकको बोल्ड हेडलाइनमा समाचार छाप्यो। तर यसपटकको म्यान अफ द म्याच उपाधि उनले क्रिकेट मैदानमा नभई राजनीतिक मैदानमा देखाएको सफलता देखाएवापत थियो।

क्रिकेटबाट सन्न्यास लिएका इमरानले भ्रष्टचारविरोधी अभियान चलाउँदै सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टी गठन गरी जीवनको दोस्रो इनिङ खेल्न राजनीतिमा होमिए। दुई दशकको राजनीतिक आरोह÷अवरोहपश्चात् खान नेतृत्वको पार्टी पीटीआईले गत २५ जुलाईमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग (पीएमएल) र पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपल पार्टी (पीपीपी) लाई पराजित गर्दै सबैभन्दा ठूलो दल बन्न सफल भएको छ। अन्य साना दल र स्वतन्त्रसँग मिलेर पीटीआईले गठबन्धन सरकार बनाउँदैछ र त्यसको नेतृत्व इमरान खानले गर्दैछन्।

इमरान खान नेतृत्वको पीटीआईले प्राप्त गरेको सफलता विवादमुक्त भने छैन। विशेषगरी विपक्षी दल पीपीपी र पीएमएलले निर्वाचनमा व्यापक धाँधली भएको र इमरानलाई जिताउन पाकिस्तानी सेना र गुप्तचर संस्था आएएसआईले अहम् भूमिका खेलेको आरोप लगाएका छन्। ईयू र संयुक्त राष्ट्रसंघका निर्वाचन पर्यवेक्षक टोलीले पनि निर्वाचनअघि सत्तासीन पार्टी र अन्य दलले निर्बाधरूपमा चुनावी प्रचार गर्न नपाएको र प्रेस र मानव अधिकारसँग सम्बद्ध संस्थालाई दमन गरिएको प्रतिवेदन प्रस्तुत गरेका छन्। पीटीआईको सफलतामा सेना र आईएसआईको प्रभाव नकार्न नसके पनि इमरानको लोकप्रियता, प्रभावशाली व्यक्तित्व तथा कुशल नेतृत्व पनि कारक रहेको विश्लेषकको ठम्याइ छ।

‘नयाँ पाकिस्तान’ को नारा लिएर निर्वाचनमा गएको पीटीआईले सुशासन, संघीय मजबुती, समावेशी आर्थिक विकास, कृषि क्षेत्रको उत्थान, सामाजिक सेवामा क्रान्ति तथा पाकिस्तानी राष्ट्रिय सुरक्षाको सुनिश्चितताजस्ता मुद्दामा आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। उनले जनतासँग गरेको वाचा र पीटीआईको जितले पकिस्तानी जनतामा उत्साह त जगाएको, छ तथापि उनको नयाँ पाकिस्तान निर्माणको यात्रा विश्वकप जितेजस्तो सहज भने छैन।

इमरानको नयाँ पाकिस्तानको यात्रा पुरानो पाकिस्तानको इतिहाससँग अलग रहन सक्दैन। एकहत्तर वर्षको पाकिस्तानी इतिहास संकटग्रस्त घटना र परिघटनाको शृंखला मात्र नभई सेना र नागरिक शासनबीचको शक्ति संघर्षको कालखण्ड पनि हो। सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको तत्कालीन ब्रिटिस इन्डिया, हिन्दुस्तान र पाकिस्तान दुई अलग राष्ट्रमा विभाजित भए। विभाजनका क्रममा कुल राजस्वको १७ प्रतिशत मात्र पाएको पाकिस्तानले सैन्य क्षमताको भने तेत्तीस प्रतिशत हिस्सा प्राप्त गर्न सफल भएको थियो। भारतमा जवाहरलाल नेहरूको नेतृत्वमा प्रजातन्त्रको संस्थागत विकास हुँदै गयो, तर पाकिस्तानमा त्यसो हुन सकेन। स्वतन्त्र पाकिस्तानका संस्थापक नेता तथा पहिलो गभर्नर मोहम्मद अली जिन्हाको पाकिस्तान स्वतन्त्र भएको वर्ष दिनमै निधन भयो। सन् १९४८ मा जिन्हाको निधन र सन् १९५१ मा प्रथम प्रधानमन्त्री तथा नयाँ संविधानका मस्यौदाकार लियाकत अली खानको हत्या भएपछि राजनीतिक नेतृत्वमा आएको रिक्तताले पाकिस्तान अस्थितरतातर्फ धकेलियो।

प्रजातन्त्र कमजोर र सेना मजबुत हुँदै गएको अवस्थामा सन् १९५६ मा सैनिक पृष्ठभूमिका इस्कन्दर मिर्जा पाकिस्तानका पहिलो राष्ट्रपति बने र आफ्नो महत्वाकांक्षालाई बचाउन उनले ७ अक्टोबर १९५८ मा मार्सल लको घोषणा गरे। तर त्यसको बीस दिनभित्रै उनलाई बर्खास्त गर्दै जनरल अयुव खानले सत्ता कु गरे र सन् १९७१ सम्म पाकिस्तानमा सेनाको शासन कायम रह्यो। सन् १९७१ मा सम्पन्न निर्वाचनमा पाकिस्तानी पिपल्स पार्टीले सफलता प्राप्त गरेपछि उक्त पार्टीका नेता जुल्फी अलिकर भुट्टोले दुई वर्ष राष्ट्रपति र चार वर्ष प्रधानमन्त्रीका रूपमा सन् १९७७ सम्म सत्ता सम्हाले। सन् १९७७ को निर्वाचनमा उनको पार्टीले पुनः सफलता प्राप्त गर्‍यो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सैन्य प्रमुख जिया उल हकले तत्काल सत्ता कु गरी शासन आफ्नो हातमा लिए।

सन् १९७९ मा भुट्टोलाई फाँसी दिएपछि असीको दशकको अवधि लगभग सेनाको कब्जामा शासन सत्ता रह्यो। असीको दशकको अन्त्यतिर पूर्वप्रधानमन्त्री जुल्फिकर अली भुट्टोकी छोरी बेनजिर भुट्टो प्रतिभाशाली नेतृका रूपमा उदाइन् र सन् १९८८ मा पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री भइन्। तर दुई वर्षमै भ्रष्टाचारको आरोपमा उनलाई बर्खास्त गरियो। नब्बेको दशकमा नवाज सरिफ र बेनजिर भुट्टोले आलोपालो शासन चलाए। तर १९९९ मा सैन्यप्रमुख परवेज मुसरफले रक्तपातविहीन सत्ता कुमार्फत शासन आफ्नो हातमा लिए र सन् २००७ सम्म पाकिस्तानी सत्ता पुनः सेनाको कब्जामा रह्यो।

इमरान खानले जनतासँग गरेको वाचा र पीटीआईको जितले पकिस्तानी जनतामा उत्साह त जगाएको, छ तथापि उनको नयाँ पाकिस्तान निर्माणको यात्रा विश्वकप जितेजस्तो सहज भने अवश्य छैन।

सन् २००७ मा बेनजिर भुट्टो आठ वर्षको निर्वासन जीवनपछि परवेज मुसरफसँग सम्बन्ध सुधार गरेर निर्वाचन लड्न पाकिस्तान फर्किइन्, तर निर्वाचन प्रचारप्रसारका क्रममा उनको हत्या गरियो। सन् २००८ को निर्वाचनमा पीपीपीले सफलता हासिल गरी सत्ता सम्हाल्यो र सन् २०१३ को निर्वाचनमा नवाज सरिफको पार्टीले विजय प्राप्त गरेपछि उनको नेतृत्वमा सरकार बन्यो। भ्रष्टाचारको आरोपमा उनी सन् २०१७ मा पदमुक्त भए तथापि पाकिस्तान मुस्लिम लिग पार्टीको सरकार यथावत् रह्यो र उसैले निर्वाचन गर्‍यो। यही अगस्त १४ मा जननिर्वाचित सरकारबाट अर्को जननिर्वाचित सरकारलाई शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण हुँदैछ।

इमरान खानले प्रधानमन्त्रीको शपथ खाइरहँदा सत्ता मात्र प्राप्त गर्ने छैनन्, सत्तासँगै चुनौतीका पहाड पनि प्राप्त गर्नेछन्। ती चुनौतीलाई अवसरमा कसरी बदल्न सक्छन्, त्यो नै उनको सफलता र असफलताको मानक हुनेछ। गरिबी, अशिक्षा, महँगी, भ्रष्टाचार, बढ्दो बाल मृत्युदर, बेरोजगार र ऊर्जा संकटजस्ता समस्या त छँदैछन्। त्यसमाथि पनि संकटग्रस्त आर्थिक अवस्था, चिनियाँ ऋणको भारी, अमेरिकासँग बिग्रँदो सम्बन्ध, भारतसँगको सदावहार तनाव, आन्तरिक आतंकवाद र सेनासँगको सम्बन्ध उनका प्रमुख चुनौती हुनेछन्।

इमरानको पहिलो चुनौती खराब अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रको सुधार हुनेछ। ३७ अर्ब डलरको व्यापार घाटा, रुपैयाँको निरन्तर अवमूल्यन, वैदेशिक मुद्रा सञ्चितीमा कमी आदिका कारण उसलाई तत्काल कम्तीमा पनि तेह्र अर्ब डलरको रेस्क्यु प्याकेज चाहिने पाकिस्तानी अर्थशास्त्री बताउँछन्। जसका लागि उससँग दुई विकल्प छन्। चीन र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बेल्ट रोडअन्र्तगतको चीन पाकिस्तान इकोनमिक कोरिडोर परियोजनामा चीनको व्यापक ऋण लगानी छ। केही समयअघि मात्र उसले वैदेशिक मुद्रा सञ्चिती उकास्न एक अर्ब डलर दिइसकेकोे छ। उसका लागि एक मात्र विकल्प अन्तर्राष्ट्रिय मुद्राकोष हो, तर पाकिस्तानलाई ऋण नदिन अमेरिकी विदेशमन्त्री माइक पम्पेओले आईएमएफलाई चेतावनी दिइसकेका छन्। चीनको ऋण तिर्न आईएमएफले पाकिस्तानलाई सहयोग गर्न नहुने उनको तर्क छ।

शीतयुद्धको अवधिमा गाढा बनेको अमेरिका र पाकिस्तानबीचको आपसी सम्बन्ध केही वर्षयता फिक्का हुँदै गएको थियो। यसैबीच गत १ जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत पाकिस्तानको आलोचना गरेपश्चात् दुई देशबीचको सम्बन्धमा दरार आएको छ। अमेरिकाले मूर्खतापूर्ण ढंगले विगत पन्ध्र वर्षमा तेत्तीस अर्ब डलर दिएको तर बदलामा पाकिस्तानले झूठ र छल दिएर हाम्रा नेतालाई मूर्ख बनाइरहेकोे आरोप ट्रम्पले लगाएका थिए। ट्रम्पको यो भनाइसँगै अमेरिकाले पाकिस्तानलाई दिँदै आएको दुई अर्ब डलर तत्काल स्थगित गरेको थियो।

ट्रम्पको आरोपप्रति प्रतिक्रिया दिने क्रममा तत्कालीन सरकारभन्दा पनि विपक्षमा रहेका इमरान खान खरो उत्रिएका थिए। उनले अमेरिकी कूटनीतिक नियोग र खुफिया एजेन्सीका पदाधिकारीलाई तत्काल देशनिकाला गर्नुपर्ने र पाकिस्तानी भूमि र आकाशमा अमेरिकी पहुँचलाई बन्द गर्नुपर्ने बताएका थिए। निर्वाचनमा विजय प्राप्त गरेपश्चात् राष्ट्रका नाममा गरेको सम्बोधनमा इमरानले अमेरिकासँग आपसी लाभका आधारमा नयाँ सम्बन्ध स्थापित गर्ने बताएका छन् भने अमेरिकाले पनि नयाँ नेतृत्वसँग शान्ति, स्थायित्व र आतंकवादविरुद्ध मिलेर काम गर्न चाहेको बताएको छ। चीन र पाकिस्तान तथा अमेरिका र भारतको रणनीतिक समीकरण बनिरहेको अवस्थामा पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध सुधारको प्रभाव कस्तो हुन्छ ? इमरान नेतृत्वको सरकारको कूटनीतिक क्षमतामा निर्भर रहनेछ।

चीनसँगको सम्बन्ध पाकिस्तानका लागि सबैभन्दा महत्वपूर्ण रहनेछ। बैसठ्ठी अर्ब डलरको चीन–पाकिस्तान इकोनमिक कोरिडोर परियोजनालाई निर्बाध सम्पन्न गर्न, चिनियाँ ऋणको सुरक्षा र किस्ता भुक्तानीको निश्चितता आदिमा चीनलाई विश्वस्त पार्न खान नेतृत्वको सरकार सक्षम हुनुपर्नेछ। चीनसँगको सम्बन्ध सन्तुलनमा राखेर आफ्नो राष्ट्रिय हित रक्षा गर्न पनि उनका लागि चुनौती हुनेछ।

भारत र पाकिस्तानमा आउने कुनै पनि नयाँ सरकारका लागि दुई देशबीचको सम्बन्ध महत्वपूर्ण मुद्दा बन्छ, यद्यपि दुई देशबीचको सम्बन्धमा कहिल्यै अपेक्षाकृत सुधार हुन सकेन। भारतप्रति अलि लचिलो भनिएका र मोदीसँग राम्रो सम्बन्ध रहेका पूर्वप्रधानमन्त्री नवाज सरिफको शासनकालमा त भारतसँगको सम्बन्ध सुधारमा प्रगति हुन सकेन भने सरिफको भारत नीतिप्रति तीव्र आलोचक रहेका खानको कार्यकालमा प्रगति होला भन्ने अपेक्षा कमैले गरेका छन्। भारतले मुम्बई हमलाका योजनाकार मानेको लस्कर ए तोयवा र त्यसको नेता हफिज सयिदप्रति इमरान खान नरम भावना राख्छन्। इमरान खानले आफ्नो सम्बोधनमा भारत एक कदम अघि बढे आफू दुई कदम अघि बढ्ने बताएका छन्। भारतमा मोदी केही दशकयताकै शक्तिशाली प्रधानमन्त्री रहेका र मोदी र खान दुवैको पपुलिस्ट पृष्ठभूमि भएकाले दुई देशबीच अनपेक्षित रूपमा सम्बन्ध सुधार हुन पनि सक्छ।

इमरानको सबैभन्दा ठूलो चुनौती सेनासँगको सम्बन्ध रहनेछ। इतिहास हेर्ने हो भने हरेक एकदशकको नागरिक शासनपछि सेनाले शासन सत्ता लिएको छ। सेनाका प्रमुख अयुव खान, जिया उल हक र परवेज मुसरफले पाकिस्तानी इतिहासको आधा अवधि शासन गरेका छन्। त्यसैलाई आधार मान्ने हो भने सन् २००८ देखि २०१८ सम्म नागरिक शासन चल्यो र अबको पालो सेनाको हो। सन् २०१३ मा नवाज सरिफको पार्टीले जित्दा निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टीले व्यापक प्रदर्शन गरेको थियो। सेनाले सरकार र आन्दोलनकारीका बीचमा मध्यस्थकर्ताको भूमिका निभाउने चाहना राख्दा सरिफले अस्वीकार गरेका थिए। त्यतिबेलादेखि नै सेना सरिफदेखि टाढा र इमरान खानप्रति नजिक रहेको मानिन्छ।

इमरान खान र सेनाबीचको सम्बन्ध कति बेलासम्म राम्रो रहन्छ, त्यसले नै सरकारको आयु निर्धारण गर्नेछ। सेनासँगको सम्बन्ध दुई विषयमा निर्भर रहनेछ। या त सेनाले चाहेअनुसार उनले काम गर्नुपर्नेछ या उनले भनेअनुसार काम गर्न सेनालाई मनाउनुपर्नेछ। बजेटको ठूलो हिस्सा सेनाले खर्च गर्छ, विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सेनाले चाहेअनुसार हुने गर्छ। सरकारको स्वतन्त्र अस्तित्व कायम गर्दै सेनालाई विश्वासमा लिएर काम गर्न खानलाई त्यति सजिलो हुने छैन, तर अवसर भने छ।

सन् १९९२ मा इमरान खानको कप्तानीलाई लिडरसिप इन क्राइसिस अर्थात् संकटको नेतृत्वका रूपमा पाकिस्तानी सम्झन्छन्। पाकिस्तान अहिले संकटमा छ र इमरानले सरकारको कप्तानी गर्दैछन्। तमाम चुनौती पार गर्दै नयाँ पाकिस्तान बनाउने उनको संकल्प पूरा गरे भने इमरान खान पाकिस्तानी इतिहासका महत्वपूर्ण पात्रका रूपमा स्थापित हुनेछन्।

अन्त्यमा, इमरान खानको उदय राजनीतिमा कुनै पनि विकल्प विकल्परहित हुँदैन भन्ने प्रमाण हो। भ्रष्टाचारविरोधी आन्दोलनबाट उदाएका केजरीवालको आम आदमी पार्टी दिल्ली राज्य सरकारमा छ, भ्रष्टाचारविरोधी आन्दोलनबाटै उदाएको इमरान खानको पाकिस्तान तेहरिक ए इन्साफ सत्तासीन हुँदैछ भने भ्रष्टाचारविरोधी जगमै खडा भएको विवेकशील साझा पार्टी एकाध दशकमा प्रमुख शक्तिका रूपमा स्थापित भयो भने कुनै आश्चर्य हुने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.