'सडक–बस्ती धराप बने'

'सडक–बस्ती धराप बने'

 ललितपुर : ललितपुरको दक्षिणी भेग, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका केही भूभागमा बाढी पहिरोको प्रकोप बढेको भन्दै जनप्रतिनिधिहरूले तत्काल विपद् व्यवस्थापन गर्न ललितपुरका प्रजिअ प्रेमराज जोशीको ध्यानाकर्षण गराएका छन् । जनप्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिसँग प्रजिअ जोशीले विपद् व्यवस्थापन र योजनासम्बन्धी छलफलमा सुझाव लिने क्रममा जनप्रतिनिधिहरूले उनको ध्यानाकर्षण गराएका हुन् । जोशी केही दिनअघि मात्र ललितपुरको प्रजिअमा सरुवा भएर आएका हुन् ।

आफ्ना क्षेत्रमा भएका विपद्का घटना जानकारी गराउँदै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले निरन्तर वर्षाले गर्दा नगरपालिकाका धेरै ठाउँमा पुग्नै नसक्ने स्थिति रहेको बताए । उनले गोदावरी–७ देवीचौरमा सडक अवरुद्ध भएकाले फुल्चोकीमा डोजर लैजान नसकिएको जानकारी दिए । उनले गोदामचौरको पहिरोले समस्या उत्पन्न भएको बताउँदै पन्छाइरहेको बताए । ‘अझै निरन्तर वर्षा भए गोदावरीमा केही घर ढल्नसक्ने र डुबानमा पर्न सक्ने जोखिम छ’, उनले भने, ‘छम्पीमा पनि एउटा घर भत्किने अवस्थामा छ ।’

अर्को नगरपालिका महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठले बाढीले बितन्डा मच्चाएको र गोदावरी खोलाले पुल नै बगाएको जानकारी दिए । उनले खोला तर्ने क्रममा मान्छेसहित कार बगाए पनि उद्धार गरिएको बताए । उनले बस्तीमा बाढी पसेपछि पाँच दिन लगाएर एक्स्काभेटरले पानी निकाल्नु परेको र अझै बस्तीमा बाढी पस्ने जोखिम रहेकोसमेत प्रजिअलाई सुनाए । उनले भने, ‘बाढीले ९ र १० नम्बर वडाका १६ घर डुबानको जोखिममा छन् ।’

भूमाफिया र ठेकेदारका कारण खोला बस्तीमा पसेको उनको भनाइ छ । ठेकेदारलाई कानुनी दायरामा ल्याउन नसक्नु, भूमाफियाले जमीन खण्डीकरण गर्नु र राजकुलो बिगार्दा बाढी बस्तीमा पसेको भनाइ उनको थियो । ‘यस विषयमा भूमिसुधार, मालपोतजस्ता निकायले छानबिन गर्न आवश्यक छ’, उनले भने । अन्यथा जोखिम अझै बढ्नसक्ने उनले बताए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले जग्गा भूमाफियाले खाइसकेकाले महानगरपालिकाका केही भाग डुबानमा परेको दाबी गरिन् । भूमाफियाले खोला अतिक्रमण गरी बनाएका संरचनाले महानगरपालिकाका २३ र २८ वडाका केही भाग डुबानमा परेको उनको भनाइ छ । यस्तै १४ र १५ वडामा ढल निकास नहुँदा डुबानमा परेको भन्दै सत्यालले ध्यानाकर्षण गरेकी थिइन् । ललितपुर क्षेत्र ३ का प्रदेशसभा सांसद राजकाजी महर्जनले सातदोबाटो, चापागाउँ बर्सेनि डुबानमा पर्न थालेको बताउँदै ग्वार्को, नक्खु, चोभार करिडोरमा डुबानमा पर्न सक्ने खतरासमेत औंल्याए । उनले भने ‘हनुमन्ते, नख्खु, कर्मनाशा, गोदावरीलगायतका खोलाले कुनै पनि बेला विनाश निम्त्याउन सक्छ ।’

कोन्जोस्योम गाउँपालिकाका प्रमुख गोपीलाल सिङ्तानले दक्षिण ललितपुरको कथाव्यथा झनै टीठलाग्दो भएको सुनाए । गाउँपालिकामा सात घर धरापमा रहेको र बस्ती पनि जोखिममा परेको भनाइ उनको थियो । ‘पहिरो र पानी कटाउन लगातार एक्स्काभेटरको प्रयोग गरिरहेका छौं’, उनले भने । दक्षिण ललितपुर अति नै विकट भएकाले कुनै पनि बेला सम्पर्क विच्छेद हुन सक्ने जानकारी गराउँदै दुई महिनाका लागि एउटा हेलिकप्टरको व्यवस्था गरिदिन माग गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

डोजरले बिनायोजना जथाभावी खनेकाले सबैतिर पहिरो गएको भनाइ बागमती गाउँपालिकाका मेयर वीरबहादुर लोप्चनको छ । ‘डोजरले गर्दा अधिकांश सडक क्षतविक्षत छन्’, उनले भने । जनप्रतिनिधिहरूले यसरी ध्यानाकर्षण गराएपछि प्रजिअ जोशीले आफ्ना तर्फबाट साधनस्रोतले भ्याएसम्म सहयोग गर्ने वचन दिँदै स्थानीय सरकार आफैं पनि स्रोतसाधन जुटाएर केही व्यवस्थापन गर्न सुझाए । ‘जनप्रतिनिधि भएर धेरै मगन्ते पनि हुनुहुँदैन’, जोशीले ठट्यौली पारामा जवाफ दिँदै भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.