सहिदको सालिकमा हानथाप

सहिदको सालिकमा हानथाप

 वीरगन्ज : दोस्रो मधेस आन्दोलनका सहिद शत्रुधन पटेलको सालिक अनावरण नहुँदा एक वर्षदेखि सडकमै अलपत्र परेको छ । पर्साको पकाहा मैनपुर गाउँपालिकास्थित पकाहा चोकमा एक वर्षअघि निर्माण गरिएको सालिक दुई दलबीच विवादले गर्दा अनावरण हुन नसकेको हो । सहिदको सालिक अहिले ससाना नानीका लागि खेलौना बनेको स्थानीयको भनाइ छ ।

संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते वीरगन्जको गीता मन्दिर रोडमा प्रहरीले चलाएको गोली लागी पटेलको घटनास्थलमै मृत्यु भएको थियो । साबिकको पकाहा मैनपुर गाविसका पूर्वअध्यक्ष मदनप्रसाद चौरसियाले २०७३ साल असारमा निजी खर्चमा पटेलको सालिक बनाइदिएका थिए । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तर, पटेलकी आमा कुश्मीदेवीले छोराको अनुहार नमिलेको भन्दै आपत्ति जनाएपछि अनावरण कार्यक्रम राजपाले रोकेको थियो । संघीय समाजवादी फोरमका नेताको उक्साहटमा कुश्मीदेवीले विवाद खडा गरेका कारण सालिक अनावरण हुन नपाएको आरोप राजपा नेताले लगाएका थिए ।

कुश्मीदेवी अहिले पाकाहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष छिन् । उनी फोरमका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सहिदकै आमा उपाध्यक्ष र उनकै पार्टीका नेता विजय चौरसिया अध्यक्ष भए पनि सालिक अनावरण हुन सकेको छैन ।

कुश्मीदेवीले सालिकमा छोराको अनुसार फिटिक्कै नमिलेकाले अनावरण गर्न नदिएको बताइन् । ‘म र मेरो परिवारसँग सल्लाह नगरी राजपाका नेता र तत्कालीन गाविसका अध्यक्ष मदन चौरसियाले आफूखुसी सालिक बनाएका थिए’, उनले भनिन्, ‘त्यो सालिकको अनुहार पनि मेरो छोरोसँग फिटिक्क मिल्दैन ।’ अर्को सालिक बनाउनका लागि चौरसियाले फोटो मागेर लगेको जानकारी गाउँपालिका अध्यक्षले दिएको उनले बताइन् ।

‘अर्को सालिक बनाइदिने भनेर छोरोको फोटो लिएर गएको एक महिना भइसक्यो’, उनले भनिन्, ‘गाउँपालिका अध्यक्षले सालिक लुम्बिनीमा बन्दै छ भन्नुभएको छ, केही दिनमै सालिक आइसक्छ होला ।’

अध्यक्ष चौरसियाले पनि चौरसियाले अर्को सालिक बनाउन अर्डर दिइसकेकाले अबको केही दिनमै आइपुग्ने र अनावरण गरिने बताए ।

राजपा नेताले भने फोरमका नेताको दलगत स्वार्थका कारण सालिक अनावरण हुन नपाई सडकमै अलपत्र परेको आरोप लगाएका छन् । ‘त्यस बेला फोरम नेताले सहिदकी आमालाई उचालेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन लगाई अनावरण कार्यक्रम रोकिदिए’, राजपा महासचिव शिव पटेलले भने, ‘अहिले सहिदकै आमा गाउँपालिकाकी उपाध्यक्ष छिन्, अध्यक्ष र उपाध्यक्ष दुवै एकै पार्टीका भए पनि सालिक अनावरण गर्न नसक्नु दुखद् र लज्जास्पद विषय हो ।’ सहिद पटेलको नाम चुनाव जित्नका लागि मात्र उपयोग गरेको आरोप लगाउँदै उनले भने, ‘चुनाव जितेपछि सबै बिर्सिए ।’

फोरमका पर्सा जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले भने सहिदकी आमालाई उस्काएको आरोप निराधार भएको बताए । ‘विवाद हुँदा राजपाले नै नयाँ सालिक बनाउने आश्वासन दिएको थियो’, उनले भने, ‘राजपाले नयाँ बनाएन भने संसदीय विकास कोषको रकमबाट सहिद पटेलको अर्को सालिक बनाएर फोरम नेपालले अनावरण गर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.