छरुवा धानले सजिलो

छरुवा धानले सजिलो

ताप्लेजुङ : खडेरी र खेताला समस्या भएपछि गत वर्ष फुङलिङ नगरपालिका-८ का गोपाल घिमिरेलाई छरुवा धान लगाउन आफन्तले सुझाव दिए। उनले सोहीअनुसार यो वर्ष धानको ब्याड राखेनन्। वर्षौंंदेखि हिलोमा फल्ने धान लगाएको खेतमा यसपटक उनले छरुवा धान लगाएका छन्।

‘न खेताला खोज्न गाउँ चहार्नुपर्‍यो न त पानीका लागि रात-दिन नभनी कुलो नै खेद्नुपर्‍यो’, उनले भने, ‘एउटा हाते ट्र्याक्टरका भरमा दुई बूढाबूढीले ढुक्कले धान लगाइसक्यौं।’ उनले फुक्को माटोमा मकैझैं छर्न मिल्ने सुक्खा-३ जातको धान लगाएका हुन्।

हिमाली जिल्ला ताप्लेजुङका खोला किनार तथा औल क्षेत्रका खेतबारीमा पानी नभए पनि यस्ता धान छर्न सकिने तत्कालीन कृषि विकास कार्यालयका प्राविधिक रविन निरौलाले बताए। सुक्खा जातको धान नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०६८ सालमा सिफारिस गरेपछि कृषि कार्यालयले किसानलाई वितरण गरेको थियो।

‘नगरपालिकाको देवलिंगे, केनिम, आँगेदिम, सिरिजंघा गाउँपालिकाको सिनाम र भेदाबारीका किसानले सुरुमा यो धानको बीउ लानुभएको थियो’, कृषि प्राविधिक निरौलाले भने, ‘त्यसपछि उहाँहरूले आफैं बीउ राखेर अरूलाई बाँड्न थाल्नुभएको छ।’ हालसम्म कृषिले २ सय किलो सुक्खा-३ धानको बीउ किसानलाई प्रदान गरेको छ।

हिलोमा रोप्ने धानभन्दा यसले बढी उत्पादन दिने किसानको अनुभव छ। ‘गत वर्ष एक माना बीउको एक मुरी (२० पाथी) फल्यो’, आँगेदिमका रघुनाथ बरालले भने, ‘पानीमा रोप्ने अट्टे, भँगेरे, मसिनोजस्ता धानभन्दा यो निकै बढी हो।’

थोरै मिहिनेतमा धेरै उत्पादन लिन सकिने बुझेपछि आफूबाट २० जनाभन्दा धेरैले बीउ लगेको बरालको भनाइ छ। ‘यो धान अरूभन्दा छिटो पाक्ने रहेछ’, सिनामका रामजी अधिकारीले भने, ‘धानको बेर्ना राख्न पनि नपर्ने, खेतालाको समस्या पनि नहुने रहेछ।’

सुक्खा धान १ सय २२ देखि १ सय २५ दिनमा पाक्ने नार्कद्वारा प्रकाशित किताबमा उल्लेख छ। यो रोपाइँ गरेको धानभन्दा १० देखि १५ दिन छिटो हो। नेपालको खेती मनसुनी वर्षामा आधारित रहेको र जलवायु परिवर्तनका कारण हालैका वर्षमा मनसुन सुरुवात ढिलो गरी हुँदा धान रोप्ने समय पनि पछि सर्दै गएको विज्ञ बताउँछन्।

यसले धानको उत्पादनका साथै समग्र खेतीचक्रमै नकारात्मक असर पारिरहेको अवस्थालाई मध्यनजर गरी सुक्खा सहन सक्ने धानको विकास गरिएको वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेको भनाइ छ। ‘रोपाइँ गरिने धानको तुलनामा ४० प्रतिशत कम श्रमशक्ति लाग्ने, पानीको बचत हुने, हिलोमा लामो समय निहुरेर रोपाइँ गर्दा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरबाट बच्न सकिने यसका फाइदा हुन्’, उनले भने।

प्रतिहेक्टर ४.२ मेट्रिक टनसम्म उत्पादन हुने सुक्खा १,२ र ३ जातका धान नार्कले पूर्वी र पश्चिमी तराई, भित्री मधेस र मध्य पहाडमा अकासे पानीका भरमा छरुवा विधिबाट खेती गर्न सकिने गरी विकास गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.