सोलार चार्ज नहुँदा दार्चुला सञ्चारविहीन
दार्चुला : दार्चुलाको सञ्चार सेवा तीन दिनदेखि अवरुद्ध भएको छ। घाम नलागेपछि यहाँको सञ्चार सेवा अवरुद्ध हो। शनिबार रातिदेखि दार्चुलाको बालशिखर स्टेसनमा रहेको मुख्य टावर नै 'सटडाउन' भएको छ।
जिल्लाभरीको सञ्चार टावर 'सटडाउन' भएपछि बैंकिङ तथा वित्तिय कारोबार, सरकारी कार्यालय, सञ्चारमाध्यलगायत आम सेवाग्राहीको दैनिकी प्रभावित भएको छ।
शनिबार राति ११ बजेदेखि टेलीकम दार्चुलाको ल्यान्डलाइन, स्काई, नमस्ते, एडिएसएल र इन्टरनेटलगायत सबै सेवा ठप्प भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए।
नेपाल टेलिकमको बालशिखरस्थित मेन रिपिटर अर्थात् मुख्य टावरमा सोलार ब्याट्री चार्ज नभएर जिल्लाभरीको सेवा बन्द भएको हो। जिल्लाको मालिकार्जुन गाउँपालिकाको बालसिखरसम्म विद्युतिकरण हुन नसक्दा त्यहाँ राखिएको टेलीकमको मुख्य रिपिटर टावर सोलारको भरमा सञ्चालन हुँदै आएको छ।
उच्च क्षमताको सोलार पाता र ब्याट्रीजडान गरिएको भएपनि तीन-चार दिनदेखि लगातार घाम नलागेपछि ब्याट्री चार्ज सकिएर सेवा बन्द भएको नेपाल टेलीकम दार्चुलाका प्रमुख गुरुङले बताए।
बालशिखरका लागि २०७१ देखि नै विद्युतिकरण सुरु गरिएको हो। चार वर्षसम्म पनि बालशिखरमा विद्युत सेवा नहुँदा घाम नलागेको बेला टेलीफोन अवरुद्ध हुँदै आएको छ।
स्थानीयले, विद्युत प्राधिकरणले समयमै निर्माण सामाग्री उपलब्ध गराउन नसक्नु र ठेकेदारको लापरबाहीले बेलाबेला टेलीफोनको समस्य हुँदै आएको मार्मा गाउँ पालिकाका अध्यक्ष जमन सिह धामीले बताए। वर्खामा पानी परेपछि त झन् टेलीफोनको टावर नै आउँदैन, समय समयमा यस्तो समस्या आइरहेको अध्यक्ष धामीले भने।
यसवर्ष पनि बालशिखरस्थित टेलीकमको टावरसम्म विद्युतिकरणको काम भइरहेको छ। पुरानो काम सम्पन्न नहुँदा बालशिखरसम्म विद्युत लाइन विस्तार गर्न ढीलाइ भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ।
दार्चुलाका विकट स्थानीय तहमा अझै टेलीफोनको पहुँच पुगेको छैन। टेलीकमकै तथ्यांकअनुसार अझै दार्चुलामा आधा जनसंख्याको सञ्चारमा पहुँच पुगेको छैन। ग्रामीण क्षेत्रमा विद्युतीकरण नहुनु, भौगोलिक विकटता, उपकरणमा देखिने समस्या र मौसमको प्रतिकुलताका कारण सञ्चार प्रविधिको युगमा समेत दार्चुलाबासीले सञ्चार सुविधाबाट बच्चित हुनुपरेको अध्यक्ष धामीले बताए।
अहिले पनि मार्मा, नौगाड, अपिहिमाल, लेकम, ब्यास र दुहु गाउँपालिकालगायत अधिकांश क्षेत्रमा सञ्चार सेवा प्रभावकारी हुन सकेको छैन्
दार्चुलामा नेपाल टेलीकमका झण्डै ७७ हजार बढी सेवाग्राही छन। नेपाल टेलीकमको तथ्याङक अनुसार एडिएसएल इन्टरनेट, ल्यान्डलाइन, सिडिएमए र जिएसएम गरी सबै सेवा दिने ग्राहकको संख्या ७७ हजार ४४ रहेको छ।
टेलिकम दार्चुलाबाट ल्यान्डलाइन ८ सय १६ लाइनको क्षमता भएकोमा ७ सय ४२ वितरण भएर ७४ बाँकी रहेका छन्। एडिएसएल इन्टरनेट ६ सय ३ लाइनको क्षमता रहेकोमा ३ सय ३२ लाइन वितरण भइसकेका छन्।
सिडिएमए स्काइ सिमकार्डअन्तर्गत पोष्टपेड ८ सय ५२ र प्रिपेड ३३ हजार ५ सय १८ गरी कुल ३४ हजार ३ सय ७० सिमकार्ड वितरण भएको नेपाल टेलीकमले जनाएको छ। जीएसएम नमस्ते सिमकार्डअन्तर्गत पोष्टपेड १ सय २२ र प्रिपेड ४१ हजार ४ सय ७८ गरी कुल ४१ हजार ६ सय सिमकार्ड वितरण गरिएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ।