पेट्रोलियम ढुवानी ठप्प
![पेट्रोलियम ढुवानी ठप्प](https://annapurnapost.prixacdn.net/media/albums/OIL_tankar_20180814071936_TpvxaMogeg.jpg)
विराटनगर : तलब, भत्ता बढाइनुपर्ने माग गर्दै पेट्रोलियम ढुवानी मजदुर सोमबारदेखि आन्दोलित भएका छन् ।पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले ट्यांकर सञ्चालनका लागि खटाएका मजदुर ढुवानी ठप्प पारी आन्दोलित भएपछि पेट्रोलियम पदार्थ आयातमा अवरोध पुगेको छ ।
संघले खटाउँदै आएका ६ सय मजदुरले पेट्रोलियम लोड÷अनलोडका सबै काम ठप्प पारेका हुन् । तलब र भत्ता बढाइनुपर्ने माग राखेर ढुवानीका सबै काम बन्द गर्दै आन्दोलनमा उत्रिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले बताए ।
‘हामीले पटक–पटक तलब, भत्ता बढाइनुपर्ने माग गर्दै आएका छौं’, उनले भने, ‘मागको सुनुवाइ नभएका कारण ढुवानी नै ठप्प पारेर आन्दोलन गर्नुपरेको हो ।’
पेट्रोलियम व्यवसायीले तलब, भत्ता बढाउनुको साटो आफूहरूको श्रमशोषण गरेको भन्दै मजदुरले विरोध जनाएका छन् । उनका अनुसार पारि श्रमिकबापत ट्यांकर चालकलाई मासिक ८ हजार र सहचालकलाई ४ हजार रुपैयाँ संघले दिँदै आएको छ । मासिक पारि श्रमिक न्यूनतम १३ हजार रुपैयाँ र दैनिक १ हजार रुपैयाँ भत्ता पाउनुपर्ने माग रहेको उनले सुनाए ।
महँगी बढ्दै गए पनि पेट्रोलियम ढुवानीमा खटिएका मजदुरलाई भने न्यून पारि श्रमिक दिइएको र तल्लो स्तरका मजदुरले पाउनुपर्ने तलब, भत्ताबाट पनि वञ्चित गरिएको उनको भनाइ छ । ‘अहिले प्राप्त पारि श्रमिकले हामीलाई जीविका चलाउन गाह्रो भयो’, उनले भने, ‘बढ्दो महँगीसँगै परिवार कसरी पाल्ने भन्ने चिन्ताले पनि सताएको छ ।’
मजदुर आन्दोलनका कारण सोमबार भारतको बरौनीबाट पेट्रोलियम ढुवानी हुन सकेन । बरौनी डिपोमा पेट्रोलियम लोड नै नगरिएको मजदुरले बताएका छन् । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर अगाडिको सडकमा ट्यांकर राखेर आन्दोलन सुरु गरेका मजदुले निगमको क्षेत्रीय डिपोबाट सोमबार पेट्रोल पम्पसम्म पनि पेट्रोलियम लोड÷अनलोड गर्न मानेनन् ।
संघका अध्यक्ष गुणराज निरौलाले तलब, भत्ताका विषयमा मजदुर आन्दोलित बनेको बताए । ‘मजदुरलाई संघले मात्र तलब बढाएर दिन सक्ने अवस्था छैन’, उनले भने, ‘यो विषयमा आयल निगमसँग पनि समन्वय गर्ने काम भइरहेको छ ।’
मजदुरका मागप्रति व्यवसायी सकारात्मक रहे पनि एकपटकमा भारी मात्रामा तलब, भत्ता बढाउन नसकिने उनको अडान छ । उनका अनुसार भारतको बरौनीबाट दैनिक ४० देखि ५० वटा ट्यांकर डिजेल र पेट्रोल लिएर नेपाल आउँछन् । सोमबार भने एउटा पनि ट्यांकर नआएको उनले बताए । ‘बरौनीबाटै ढुवानी ठप्प पर्ने काम भयो’, उनले भने, ‘निगमको क्षेत्रीय डिपोबाट पम्पसम्म लैजाने काम पनि मजदुरले गरेनन् ।’
जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा पेट्रोलियम मजदुर, व्यवसायी र आयल निगमबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मजदुर आन्दोलनका कारण बजारमा पेट्रोलियम अभाव हुन नदिन सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताए । ‘ढुवानी मजदुरले यसरी आन्दोलन गर्ने हो भने केही दिनमै बजारमा पेट्रोलियमको चरम अभाव हुन सक्छ’, उनले भने, ‘ढुवानी व्यवसायी संघ र निगमलाई मजदुरको आन्दोलनलाई सम्बोधन गर्ने हिसाबको सहमति तत्काल गर्न निर्देशन दिइएको छ ।’
निगमको क्षेत्रीय प्रमुख दिनेश यादवले मजदुर आन्दोलनको अन्त्यका लागि पहल भइरहेको बताए । भने, ‘वार्ताबाटै समस्याको समाधान खोजेर पेट्रोलियम ढुवानीमा भइरहेको अवरोध हटाइनेछ ।’
निगमको पूर्वाञ्चल डिपोमा ५ सय ६० किलोलिटर पेट्रोल र ६ हजार ४ सय किलोलिटर डिजेल भण्डारण गर्ने क्षमता छ । पूर्वमा दैनिक २ सय २० किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल खपत हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)