विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी
![विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी](https://annapurnapost.prixacdn.net/media/albums/poisen-bottle_20180814075024_rgYHfhmtW2.jpg)
मोरङ : ट्यांकीमा विष हालेको पानी पिउँदा मोरङको लेटाङस्थित एक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन्। मोरङको लेटाङ जाँतेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन्।
सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछि उक्त संख्या १५ पुगेको छ। बिरामी विद्यार्थीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए।
विद्यालयको पानी ट्यांकीमा १०० मिलिलिटरको विषादीको बोत्तल भेटिएको छ। साइपर मेथिन ग्रुपको साइपिन नामको कीटनाशक विषादीको बट्टा ट्यांकीमा भेटिएको हो।
पानी ट्यांकीमा कसले यस्तो कार्य गर्यो भन्नेबारे केही खुलेको छैन। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको बताए।
कृषि प्राविधिक देवीप्रसाद भट्टराईले साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएको बताए। 'यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्छ', उनले भने, 'जुनसुकै किटपतंग र जनावरको पनि मृत्यु हुन्छ। विषादी हालेको १५ दिनसम्म कुनै पनि सागपात वा फल खान हुँदैन।'
विद्यालयको पानी ट्यांकीमा लेटाङ ८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको बुझिएको छ। विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत छन्।
बिरामी भएका विद्यार्थी र कक्षा
- अमृत पौडेल ९
- रिजन विक ८
- महेश राई ५
- चेतन खड्का ४
- सृष्टि निरौला ७
- सिर्जना निरौला ५
- मनिष थापा ६
- पूजा लिम्बू १०
- खुस्वु मिश्र ९
- मनकुमारी गजमेर ९
- गीता सापकोटा ९
- अञ्जली लिम्बू ९
- युरेन लिम्बू ८
- कमला लिम्बू ९
- प्रतिमा लिम्बू ७
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)