विराटनगर महानगरले बढाएको कर फिर्ता
विराटनगर : विराटनगर महानगरले बढाएको कर फिर्ता लिएको छ। जनदवाब र विरोधपछि महानगरको बोर्ड बैठकले कर फिर्ता गर्ने निर्णय गरेको हो।
महानगरले विभिन्न शीर्षकमा सिफारिस दस्तुर, शुल्क र करको दर बढाएको थियो। जनस्तरबाट व्यापक विरोध भएपछि २२ औं बोर्ड बैठकले करको दर घटाउने निर्णय गरेको जानकारी दिदैं उप–प्रमुख इन्दिरा कार्कीले भनिन्,‘महानगर परिषदबाट अनुमोदन हुने गरी कर बढाउने निर्णय फिर्ता लिएका छौं।’
कार्कीले कर लिएर मात्र विकास गर्ने भन्ने उद्देश्यले नबढाइएको जिकिर गर्दै करको विषयमा गुनासो आएकाले सबैक्षेत्र र विज्ञसँगको सरसल्लाहमै घटाउने निर्णय भएको बताइन्।
महानगरले सम्पत्ति कर, घरनक्सा पास दस्तुर, सघसंस्था दर्ता, व्यवसाय कर आदि धेरै शीर्षकका कर वृद्धि गरेकोमा त्यसलाई घटाउने निर्णय भएको कर अधिकृत अर्जुन थपलियाले जानकारी दिए।
‘नयाँ निर्णय भएसँगै बुधबारबाटै घटेको दरमा कर संकलन गर्न सुरु गरेका छौं,’ कर अधिकृत थपलियाले भने। नयाँ व्यवस्थाअनुसार नै कर लिन वडास्तरमा समेत सर्कुलर गरिएको थपलियाले जानकारी दिएका छन्।
महानगरले नागरिकता सिफारिस, जन्म÷मृत्यु दर्तामा समेत ५० शुल्क लिने नियम लगाएको थियो। तर, अब यी दुबै शीर्षक निःशुल्क गरिएको छ। तर, जन्म–मृत्यु दर्तामा विलम्ब गरी ३५ दिन कटे ३५ कर लिने व्यवस्था कायम गरिएको छ।
सम्बन्ध विच्छेदको शुल्क बढाइएको २ हजार घटाएर ५ सय रुपैयाँ बनाइएको छ। महानगरले गर्ने विभिन्न सिफारिस शुल्क ५ सयबाट ३ सय बनाइएको छ। घरबाटो सिफारिस २ हजारबाट एक हजार ५ सय, ग्राभेलबाटो भए ३ हजारबाट २ हजार र पिच भए ४ हजारलाई त्यति नै कायम गरिएको कर महाशाखाले जनाएको छ।
सम्पत्ति करतर्फ रु. १० लाखसम्मको घरजग्गा भए रु. एकसय, २० लाख रुपैयाँसम्म भए दुई सय र ३० लाखसम्म भए ४ सय कायम गरिएको छ। यो शीर्षकमा थप २० लाखमा दशमलब शून्य ८ बाट घटाएर दशमलब शून्य ५ प्रतिशत र त्यसपछि ५० लाखसम्म दशमलब १५ बाट घटाएर दशमलब १० बनाइएको कर अधिकृत थपलियाले जानकारी दिए।
घरनक्सामा पास दस्तुरमा एक हजारदेखि एक हजार ५ सय स्क्वायर फिटसम्म प्रति स्क्वार फिट १० बाट ७, एक हजार ५ सय माथि प्रति स्क्वायर फिट १४ बाट १२ बनाइएको छ। १० बाट ७, एक हजार ५ सयमाथि प्रति स्क्वायर फिट १४ बाट १२ बनाइएको छ।
कर अधिकृत थपलियाका अनुसार यी धेरै शीर्षकबाट महानगरले वार्षिक रुपमा ५४ करोड संकलन गर्ने लक्ष्य लिएको थियो तर कर घटाइएपछि अब यिनै शीर्षकबाट उठ्ने कर कम्तीमा २ करोड रुपैयाँ कम हुनेछ। थपलियाले भने,‘अब वडाबाटै पनि दस्तुर, कर तथा शुल्क लिने व्यवस्था भई सकेकोले हामी करको दायरा फराकिलो पार्ने योजनामा छौं।’
महानगरले ज्वेलर्स दोकानको सामान्य, मझौला र ठूलाको क्रमशः १५ हजारबाट ७ घटाएर हजार, २५ हजारबाट १२ हजार र ३५ हजारबाट २० हजार बनाएको छ। यसैगरी स्टेशनरी, कम्युटर पार्टसको सामान्य, मझौला र ठूलातर्फको कर पनि घटाइएको छ। काठ चिरानी उद्योग, कपडा पसल, पान पसल, सब्जी÷फलफूल पसल, रेडियो घडी मर्मत केन्द्र तथा अन्य विभिन्न शीर्षकतर्फ लगाएको व्यवसाय कर पनि घटाएको छ। कर घटाउन आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीका महानगर संयोजक सागर थापाले महानगरले गरेको पछिल्लो निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए।
करको शीर्ष रकम (पहिले) रकम(अहिले)
नागरिकता सिफारिस ५० निःशुल्क
जन्म÷मृत्यु दर्ता ५० निःशुल्क (३५ दिन कटे रु. ३५)
गैसस दर्ता नगरस्तरी २००० रु. १०००
घरबाटो सिफारिस कच्ची ०० रु. १५००
घरबाटो सिफारिस ग्राभेल रु. ३००० रु. २०००
घरनक्सा दस्तुर रु. १० रु. ७ (एक हजार ५ सय स्वा.फिटसम्म)
घरनक्सा दस्तुर रु. १४ रु. १२ (एक हजार ५ सय स्वा.फिटमाथि )
सम्पत्ति कर ०.०८ प्रतिशत ०.०५ (५० लाखसम्म)
सम्पत्ति कर ०.१५ प्रतिशत ०.१० (रु.५० लाखमाथि)
स्रोत : कर महाशाखा विराटनगर महानगर।