पत्नी हेलाँ गरे एक वर्ष जेल
काठमाडौं : सुखदुःखको बलियो साथी श्रीमान् हो। रोगव्याधि लागेको बेला उसले हेरचाह गर्छ नै। तर पत्नीलाई हेरचाह, औषधोपचार गराउनुको साटो हेलाँ, घर निकाला वा सम्बन्धविच्छेद जस्ता काम गरे के होला ?
यस्तो समस्या अब छिट्टै समाधान हुने भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरिएको छ। विधेयक पारित भए प्रजनन रोगको कारण देखाई सम्बन्धविच्छेद वा घर निकाला गर्न पाइनेछैन। आङ खस्ने, प्रसव छिद्र, बाँझोपन, पाठेघरको मुखको क्यान्सर र प्रजनन प्रणालीलाई प्रभाव पार्ने अवस्थालाई कारण बनाई कसैलाई पनि सम्बन्धविच्छेद, घर निकाला वा विस्थापन गर्न वा गराउन नपाइने प्रावधान छ। विस्थापन गरे वा गराएमा कसुर गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
तर अहिले घरपरिवारका सदस्यले बेवास्ता गरेपछि माइतीमै बसेर उपचार गर्न आउने बिरामी प्रशस्त रहेको भक्तपुर क्यान्सर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले बताइन्। प्रजननसँगसम्बन्धी अन्य रोग लागेकै कारण कतिपय पुरुषले सहयोगी भूमिका निर्वाह नगरेको उनको भनाइ छ।
श्रीमतीलाई जटिल किसिसका रोग लागेको अवस्थामा भाग्ने श्रीमान् अब नियमनमा।
पत्नीलाई मलद्वारको क्यान्सर भएपछि लोग्नेले उपचार नै गराउन नचाहने गरेको स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियारले बताए। ‘घरपरिवारले बेवास्ता गरेपछि माइतीपक्षले उपचार गराउन ल्याउने गरेका घटना पनि छन्’, उनले भने। तर कानुनी उपचार नहुँदा समस्या झन् चुलिँदै गएको उनको भनाइ छ।
घरपरिवारले सहयोग नगर्दा बिरामीमा रोग लुकाउने र डिप्रेसनसमेत हुने गरेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए। ‘ढिलो भइसकेपछि मात्र उपचार गर्न आउने प्रवृत्ति छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !