डोमलाई छैन बाटो
![डोमलाई छैन बाटो](https://annapurnapost.prixacdn.net/media/albums/dom-sadak_20180817050543_TUwyf4PGPP.jpg)
सिरहा : सखुवानन्कारकट्टी गाउँपालिका–५ का डोम समुदायलाई सार्वजनिक बाटो उपलब्ध छैन। अरूको नम्बरी जमिनबाट आउजाउ गर्दा उनीहरू दिनहुँ गाली सुन्न बाध्य छन्।
साबिकको बाटो १५ वर्षअघि नै अन्य समुदायका व्यक्तिले मिचेर आफ्नो बनाए। उनीहरूको वरिपरि यादव र साफी समुदायको बस्ती छ। बाटो नहुँदा डोम बस्तीमा न बिहेमा गाडी पुग्छ न त कोही बिरामी पर्दा एम्बुलेन्स नै। डोम समुदाय अल्पसंख्यक मधेसी दलित हुन्। यहाँका गाउँ–गाउँमा उनीहरूको ४–५ घरको बस्ती छ। यो समुदायले अझै छुवाछूत खेपिरहेको छ।
तीन कट्ठा ऐलानी जग्गामा चार घर डोम परिवार यहाँ पुस्तौंदेखि बस्दै आएका छन्। ‘वरिपरि सबैको नम्बरी जग्गा छ, हाम्रो ऐलानी छ’, स्थानीय मि श्री मल्लिकले भने, ‘घरको पूर्वतर्फ पहिले सार्वजनिक बाटो थियो, त्यो मिचियो। हामीलाई बोल्ने हिम्मत छैन, ठूलो जातले हाम्रो कुरा सुन्दैनन्, के गर्नु ? ’
उनका अनुसार बाटोकै समस्याले परिवारका केही व्यक्ति बसाइँ हिँडे। अरू जातकाले लालपुर्जा पाए तर आफूहरूले नपाएको उनको भनाइ छ।
उनीहरूले सुँगुर पालेर र बाँसको सामग्री बनाई बेचेर जीविका चलाउँदै आएका छन्। ‘सुँगुर पालेको थिएँ, चराउन लैजाँदा अरूको खेतमा गइहाल्थ्यो, गाली सुन्नुपथ्र्यो’, स्थानीय दिलीप मल्लिकले भने, ‘त्यही भएर सुँगुर नै बेच्नुपर्यो।’
उनका अनुसार गत मंसिरमा छोरीको बिहेमा जन्तीको स्वागतका लागि वरिपरिका जग्गावालले टेन्ट पनि खडा गर्न दिएनन्। अहिले पनि भेदभाव र छुवाछूत भइरहेको उनले सुनाए। ‘पाँच वर्षअघि दलितका लागि सहुलियतमा सरकारले विद्युत् मिटर दिँदै थियो, हामीले पनि फारम भर्यौं, सबै मिटर परे’, उनले भने, ‘तर, खेतवालाले बिजुली पोल गाड्न दिएनन्, सडकबाटै तार तान्नुपर्यो। त्यो तार पनि हटाउन दबाब दिँदै छन्।’ उनका अनुसार एक वर्षअघि बिजुली पोल गाड्न कर्मचारी आएका थिए तर जग्गावालले अवरोध गरे। बस्तीसम्म बिजुली ल्याउन दुईवटा पोल गाड्नुपर्ने उनको भनाइ छ।
श्याम मल्लिककी पत्नी बबितालाई प्रसूतिका लागि अस्पताल लैजान बाटो नहुँदा काँधमै बोकेर एम्बुलेन्ससम्म पुर्याउनुपर्यो। ‘शासन–सत्ता फेरियो, देशमा गणतन्त्र आयो, सिंहदरबारको अधिकार गाउँघरमा आयो भन्छन् तर हामीलाई यसको अनुभूति छैन’, श्यामले भने, ‘अहिले पनि अरूसँगै बसेर खान पाउँदिनँ। पैसा तिरेर पनि होटलमा प्लास्टिकको कपमा चिया खानुपर्छ।’ बाटो भइदिए दिनहुँ गाली, बेइज्जती सहनु नपर्ने उनको विश्वास छ। ‘आफ्नो गुजारा चलाउन सुँगुर पाल्न सक्थ्यौं,’ उनले भने।
आर्थिक वर्ष २०७४÷७५ मा अन्य वडामा नयाँ सडक खनिए तर डोम बस्ती छायामै रह्यो। गाउँपालिकाको तथ्यांकअनुसार वडा नम्बर ३ को कार्यालयदेखि मावि महदेवासम्म ३ लाख ५० हजारमा एक किलोमिटर, प्रयागपुर–सिमराहा पासवान टोलसम्म डेढ लाखमा ८ सय मिटर सडक बनेको छ। यस्तै, वडा नम्बर १ मा लतियाहीबाट पटनासम्म १२ लाख रुपैयाँमा १ हजार १ सय मिटर, मौवाही–भौर डेढ लाखमा नयाँ सडक तथा मौवाही गाउँकै मुसहर टोलबाट कटैया–हनुमान मन्दिर पनि नयाँ बाटो निर्माण भएका छन्। यो मुसहर बस्तीमा पनि पुरानो बाटो थिएन। बिजुली अझै पुगेको छैन।
गाउँपालिका अध्यक्ष केदार यादवका अनुसार पोल गाडिएको छ, तार जडान कार्य सुरु भएको छ। ‘डोम बस्तीमा पनि बाटो बनाउन हामीले पहल थालेका छौं’, उनले भने, ‘गाउँका व्यक्तिलाई बसाएर समस्या समाधान गर्छौं। कसैले जग्गा दिन मानेका छैनन्।’ चालु आर्थिक वर्ष प्रत्येक वडामा १० परिवारको नमुना दलित बस्ती निर्माण कार्य सुरु गर्ने योजना बनाइएको उनले सुनाए। यसमा डोम समुदायलाई प्राथमिकतामा राखिने उनले बताए।
जनगणनाअनुसार सिरहामा २ सय ३८ घरधुरी डोम समुदायको बसोबास छ। २ हजार २ सय ३१ जनसंख्या रहेको यस समुदायको मुख्य आयस्रोतको काम नै बाँसको सामग्री बनाएर बेच्ने र सुँगुरपालन हो। ‘पहिले–पहिले छाडा चराउन पाउँदा सुँगुर पाल्ने गरिन्थ्यो’, डोमका अगुवा रामचन्द्र मरिकले भने्, ‘तर, दिनहुँ गाली सुन्नुपर्दा सुँगुर बेचेर हिजोआज बाँसको सामग्री बेचेरै गुजारा चलाउने गरेका छौं।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)