कर तिर्न अर्कै प्रदेश : तिर्नुपर्ने ७५०, खर्च १० हजार

कर तिर्न अर्कै प्रदेश : तिर्नुपर्ने ७५०, खर्च १० हजार

 सिरहा : ओखलढुंगाका पूर्णप्रसाद न्यौपाने गैरसरकारी संस्थाको कर तिर्न हालै लहान आइपुगे । आन्तरिक राजस्व कार्यालय लहानमा आइतबार कर बुझाएर तत्काल घर फर्किने उनको योजना थियो । तर, कागजात अपुग भएपछि जिल्लाबाट मगाउँदा कर बुझाउन तीन दिन लाग्यो ।

उनको काम मंगलबार सकियो । कर बुझाएर घर पुग्दा पाँच दिन हुन्छ । करभन्दा बढी उनीहरूलाई बसाइ र यातायात साधनमै खर्च भयो । ‘शनिबार ओखलढुंगाबाट हिँडे, एक दिनअघि आउँदा काम चाँडै हुने सोचें तर त्यस्तो भएन’, भिजन नेपाल ओखलढुंगाका अध्यक्ष न्यौपानेले भने, ‘कागजात अपुग हुँदा झन्झट बेहोर्नुपर्‍यो, खर्च पनि बढ्यो ।’

उनका अनुसार विभिन्न संघसंस्था, पार्टी, सरकारी कार्यालयको सेवा प्रदेश–प्रदेशमै हुन थाले तर राजस्व कार्यालयको कामका लागि अर्को प्रदेशमा आउनुपरेको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कर तिर्न लहान आउनुपर्दा सास्ती बेहोर्नुपरेको उनको भनाइ छ ।

उनीजस्तै एसबी जेरो र पासाङकामी शेर्पाले पनि झन्झट बेहोरेर कर तिरे । ग्रामीण भेगमा व्यवसाय वा संस्था स्थापना गरेका व्यक्तिलाई कर बुझाउन आउन झनै कठिन हुने गरेको ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका शेर्पाले सुनाए । ‘लहान आइपुग्न ठाउँ–ठाउँमा गाडी फेर्नुपर्छ, जान–आउन सवारी भाडा २ हजारभन्दा बढी रुपैयाँ लाग्छ’, उनले भने, ‘कागजात नपुग्दा कहिलेकाहीं त्यत्तिकै जिल्ला फर्किनुपर्दा कर तिर्न दोहोरो खर्च हुन्छ ।’

उनका अनुसार साउन, भदौ र असोजमा कर तिर्नुपर्ने भएकाले वर्षाको मौसममा पहिरोको जोखिम मोलेर आउनुपर्छ । ‘टाढाबाट कर तिर्न आउनेलाई बिचौलिया रोज्नुपर्छ, नभए आफैं २–३ दिन बसेर काम सकाउनुपर्छ’, उनले भने ।

जेरोका अनुसार चिसो ठाउँका मानिसलाई लहान आउँदा होटलमै बस्नुपर्दा बढी खर्च हुन्छ । भने, ‘त्यही भएर सेवाग्राहीले बिचौलियामार्फत पनि काम गराउने गरेका छन् ।’

केही कारोबार नभएका फर्म वा संस्थाले पनि बर्सेनि ७ सय ५० रुपैयाँ कर बुझाउनुपर्छ । त्यही रकम तिर्न आउँदा भाडा, खाना, बसाइ खर्च गरी १० हजारसम्म खर्च हुने गरेको उनले सुनाए ।

तीन तहको सरकार बनेपछि कतिपय सरकारी संरचना प्रदेशस्तरमै सञ्चालन भएको अवस्थामा कर कार्यालय पनि पहाडी जिल्लालाई सहज हुने ठाउँमा भए जनतालाई सहज हुने उनको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी ललित नारायण यादवका अनुसार जनतालाई सहज सेवाका लागि राजविराज र सोलुमा दुई सेवा केन्द्र खोल्ने तयारी छ । देश संघीयतामा गए पनि अझै पुरानै संरचनाअन्तर्गत अञ्चलस्तरीय आन्तरिक राजस्व कार्यालय रहँदा सेवाग्राहीलाई सास्ती भएको हो । यो राजस्व कार्यालयमा प्रदेश १ का उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका करदाता कर तिर्न आउने गरेका छन् । प्रदेश २ का सिरहा र सप्तरीकाले पनि यही कर बुझाउने गरेका छन् । यी ६ वटै जिल्ला सगरमाथा अञ्चलमा पर्छन् ।

लक्ष्यभन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय लहानमा आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ । १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ लक्ष्य रहेकामा २ अर्ब ३ करोड ९७ लाख राजस्व असुली भएको सूचना अधिकारी यादवले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा २३ प्रतिशत र आव २०७३÷७४ मा भन्दा १४८ प्रतिशत बढी राजस्व असुली भएको हो । आव २०७३/७४ मा १ अर्ब ३४ करोड १० लाख लक्ष्य रहेकामा १ अर्ब ३७ करोड ५२ लाख असुली भएको थियो । ६ जिल्लाका करदाताले अन्तःशुल्क, आयकर र भ्याट तिर्ने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.