शासकको बेइमानीले देशपछि पर्याे : प्रधानमन्त्री ओली
दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले शासकको बेइमानीले देशको विकासपछि परेको बताएका छन्। बुधबार बिहान मोरङको पथरी शनिश्चरेमा आयोजित कार्यक्रममा बोल्दै लामो समयसम्म शासन गरेर पनि विकाशमा बेइमानी गर्नाले मुलुकपछि परेको दाबी छ।
अहिलेको सरकारले विकासको रफ्तारलाई अघि बढाएको बताउँदै उनले अब मुलुक समृद्ध बन्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफूले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने प्रष्ट पारे। भ्रष्टाचार समृद्धिको बाधक रहेको बताउँदै उनले भ्रष्टाचार हुन नदिने प्रतिवद्धता दोहोर्याए।
आफू मुलुक बदल्ने प्रतिज्ञा गरेर आएको भन्दै ओलीले इमान्दारिपूर्वक काम भएमा मुलुक समृद्ध हुने दाबी गरे। उनले लोकतन्त्रलाई आफूले माग्ने भाँडो नबनाउने प्रष्ट पारे।
नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) अध्यक्षसमेत रहेका ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजीव बनाई राख्न सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरे। ओलीले भने,‘मुलुक विकास र समृद्धिको यात्रा अघि बढिसकेको छ, यो कुनै पनि हालतमा रोकिनेवाला छैन।’
कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पथरीशनिश्चरेसहित प्रदेश र मुलुककै समृद्धिको योजनामा आफूहरु लागेको बताए।
नगरपालिकाका मेयर दिलिपकुमार राईले सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या, खोलामा तटबन्ध, पथरी डाइनिया सडक निर्माण, विद्युत प्रशाखाको स्थापना लगायतको माग गरे।
ओलीले बुधबार आफ्नो गृहजिल्ला झापामा भने दुई कार्यक्रममा मात्र सहभागिता जनाए। उनले कमल गाउँपालिकामा रहेको आयुर्वेदिक अस्पतालको शिल्यान्यास गरे। त्यसपछि गौरादहमा आयोजित पार्टीको क्षेत्रीय स्तरको कार्यकर्ता भेलालाई सम्बोधन गरे।
प्रतिक्रिया दिनुहोस !