वाजपेयीको कद र राजधर्म

वाजपेयीको कद र राजधर्म

सिंहासनमा आसीन नेता हुन् या राजनीतिमा कदम राख्ने कार्यकर्ता हुन्, उनीहरूले अटल बिहारीबाट धेरै सिक्न सक्छन


भारतीय राजनीतिका एक शिखर पुरुष तथा कविको पहिचान बनाएका बाजपेयीको गत साता निधन भयो। उनको निधनमा उनका विपक्षी र विदेशीहरूले पनि शोक व्यक्त गरे। उनको मृत्युले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि प्राथमिकता पायो। बाजपेयीले कट्टर हिन्दु पार्टी र संगठनमा रहेर राजनीति गरे। तर उनी भारतका दक्षिणपन्थीबाहेकका खेमामा पनि लोकप्रिय रहे। बाजपेयीको निधनमा भारतीय नागरिकले दलगत स्वार्थ, धार्मिक आस्था, भौगोलिक क्षेत्र र जातीय घेरा नाघेर उनीप्रति सम्मान दिए। हिन्दुत्वको रुझानमा स्थापित कट्टरपन्थी हिन्दु संगठन राष्ट्रिय स्वयं सेवक संघसँग आबद्ध बाजपेयीले कसरी राजनेताको उच्च कद निर्माण गरे त ?

आफ्नो राजनीतिक यात्राको अधिकांश समय विपक्षीको भूमिकामा रहेका बाजपेयीले विपक्षी भनेको सरकारविरोधी होइनन् भन्ने मान्यता राख्थे। इन्दिरा गान्धीको शासनकालमा १९७४ मा पहिलोपटक गरिएको पोखरन परमाणु अस्त्र परीक्षणको समय उनीसम्बद्ध आरएसएसले विरोध जनाए पनि उनले खुलेर समर्थन गरेका थिए। त्यसबेला उनको पार्टीबाहिरकाहरू उनलाई ‘सही व्यक्ति गलत पार्टीमा’ भन्ने गर्थे।

‘सत्ता खेल चलिरहन्छ, सरकार आउँछ, जान्छ, पार्टीहरू बन्छन्, भत्किन्छन् तर देश रहनुपर्छ र लोकतन्त्र सदैव अमर रहनुपर्छ’, २८ मे १९९६ मा भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले लोकसभामा राजीनामा दिँदै भनेका थिए। सन् १९९६ को आमनिर्वाचनमा १६१ सिट ल्याएर लोकसभामा सबैभन्दा ठूलो दल बनेकोे भारतीय जनता पार्टी (भाजपा) ले बाजपेयीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। तर सरकारका लागि आवश्यक २७२ जना सांसदको समर्थन जुटाउन नसकेपछि बाजपेयीले १३ दिनमै राजीनामा गरेका थिए। तर भाजपाको यो १३ दिने सरकार र संसद्मा बाजपेयीको सम्बोधनले भने भाजपालाई नयाँ पहिचान दियो। समता पार्टी, शिव सेना र हरियाणा विकास पार्टीको मात्र समर्थन प्राप्त हिन्दु कट्टरपन्थी पार्टीका रूपमा परिचित भाजपासँग विस्तारै अन्य दलले पनि गठबन्धन गर्न थाले र १७ दलसम्मिलित नेसनल डेमोक्र्याटिक अलाइल्स (एनडीए) गठन भयो।

सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मिएका बाजपेयी १६ वर्षको उमेरमै बेलायती उपनिवेशविरुद्ध चलेको ‘भारत छोडो’ आन्दोलनमा संलग्न भएका थिए। उपनिवेशविरुद्धको ‘भारत छोड अभियान’ मा संलग्न भएका थिए। सन् १९५१ मा भारतीय जनसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनी पहिलोपटक सन् १९५७ मा लोकसभा सदस्यमा निर्वाचित भएका थिए। सन् १९७७ मा गठित जनता पार्टीले चुनावमा सफलता हासिल गरेपछि बाजपेयी मोरारजी देसाई नेतृत्वको सरकारमा विदेशमन्त्री बने। विदेशमन्त्री पदमा रहँदा उनको छवि स्थापित भयो। सन् १९७९ मा जनता पार्टी विघटन गरेर हिन्दु राष्ट्रवादको जगमा भाजपा गठन गरी त्यसको अध्यक्ष बनेका बाजपेयी तेह्रदिने, तेह्रमहिने र पाँचबर्से गरी जम्मा तीनपटक प्रधानमन्त्री बने र सन् २००५ मा प्रत्यक्ष राजनीतिबाट अवकाश लिए।

बाजपेयीले भारतलाई विश्वमा उदाउँदो शक्ति राष्ट्रका रूपमा स्थापित गर्न विविध योजना लागू गराए। देशको आर्थिक विकासका लागि यातायात सञ्जाल जोड्नुपर्ने मान्यताअनुसार उनले कोलकाता, चेन्नाई, मुम्बई र नयाँदिल्ली जोड्ने स्वर्णिम चतुर्भूज सडक परियोजना र प्रधानमन्त्री ग्रामीण सडक योजना अघि बढाए, जसले मुख्य सहर र ग्रामीण भेगसमेत सडक सञ्जालमा जोडिन पुगे। त्यस्तै सबैलाई शिक्षा कार्यक्रममार्फत ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई निःशुल्क शिक्षा अभियान उनले सुरु गरेपछि पढाइ बीचैमा छोड्ने बालबालिकाको संख्या ४० प्रतिशतबाट १० प्रतिशतमा झरेको थियो।

राजनेता ती हुन्, जो आफ्नो वचन र कर्मले जनताको हृदयमा राज गर्छन्। राजनेताले जनताका मनमा जति गहिरो छाप छोडछन् त्यति नै अग्लो कद बनाउँछन्। बाजपेयीले भारतीय राजनीतिमा अग्लो कद बनाएका छन्।

वित्तीय घाटा कम गर्ने र सार्वजनिक बचतमा टेवा पु¥याउन उनले वित्तीय उत्तरदायित्व अधिनियम जारी गरे, जसले भारतको कुल ग्राहस्थ उत्पादनमा वृद्धि, मुद्रास्फीतिमा कमी र वैदेशिक मुद्रा सञ्चितीमा उल्लेख्य वृद्धि हासिल ग¥यो र भारतको अर्थतन्त्र बलियो हुँदै गयो। भाजपाको राष्ट्रवादको मर्मविपरीत बाजपेयीले निजीकरणलाई प्र श्रय दिए। टेलिकम नीतिमा सुधार गरे। जसका कारण उनको कार्यकाललाई सञ्चार क्रान्तिको युग पनि मानिन्छ।

चीन परमाणु शक्तिसम्पन्न थियो र पाकिस्तान पनि भित्री रूपमा आणविक हतियार विकास गरिरहेको अवस्थामा भारत दबाबमा थियो। त्यसैले बाजपेयीको निर्देशनमा भारतले १९९८ मे ११ देखि १३ सम्म पाँचवटा परमाणु बमको सफल परीक्षण ग¥यो र भारत अन्तर्राष्ट्रिय जगत्मा परमाणु शक्तिसम्पन्न राष्ट्रका रूपमा स्थापित भयो। त्यसपछि अमेरिका, क्यानाडा, जपानसहितले आर्थिक नाकाबन्दीको घोषणा गरे पनि भारतले कूटनीतिक माध्यमबाट आफ्नो आणविक हतियार राष्ट्रिय सुरक्षाका लागि भएको र कसैका लागि पनि खतरा नहुने विश्वस्त पार्न सफल भयो। भारतको कूटनीतिक क्षमताकै कारण आर्थिक प्रतिबन्ध हट्दै गयो। बाजपेयीकै कार्यकालमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भारतको भ्रमण गरे र अमेरिका र भारतबीचको आपासी सम्बन्ध बलियो हुन पुग्यो।

बाजपेयीको कार्यकाल मूलतः पाकिस्तानसँगको तनावबाट परिभाषित बन्यो। तथापि पाकिस्तानसँग सम्बन्ध सुधारका लागि उनले जति साहसिक कदम कसैले उठाउन सकेको छैन। सन् १९९९ मा अभिनेता दिलिपकुमार लेखक तथा गीतकार जावेद अख्तर र क्रिकेटर कपिल देवसहित उनी अमृतसरबाट पाकिस्तानको लाहोरसम्म बसमा पुगे। समकक्षी नवाज सरिफसँग वार्तापछि लाहोर घोषणा जारी गरियो। तर त्यसलगत्तै भएको एक महिना लामो कार्गिल युद्ध र कान्दहार विमान अपहरणजस्ता काण्डले दुई परम्परागत दुस्मनबीचको सम्बन्ध झनै चिसियो। पाकिस्तानसँग सम्बन्ध सुधारका निम्ति बाजपेयीले गरेका प्रयासको पार्टीभित्रै र विपक्षीबाट आलोचना भए पनि त्यसबेलाको उनको प्रयासको अहिले सराहना हुने गरेको छ।

बाजपेयीलाई भारत–चीन सम्बन्धको आर्किटेक्ट मानिन्छ। सन् १९९८ को परमाणु परीक्षण आफूतिर लक्षित छ भन्ने बुझेको चीनले भारतको परमाणु परीक्षणप्रति आपत्ति जनाएको थियो। चीनको मुडलाई राम्ररी बुझेका बाजपेयीले सम्बन्धलाई सामन्यीकरण गर्न सन् २००३ मा चीन भ्रमण गरे र सीमा समस्या समाधानार्थ संयन्त्र गठन गर्ने सहमति गरे। उनको भ्रमणपछि चीन र भारतबीच आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धमा व्यापक सुधार आएको मानिन्छ।

वर्तमान भारतीय प्रधानमन्त्री मोदीलाई गुजरातबाट दिल्ली ल्याउने पनि बाजपेयी नै हुन्। सन् १९९५ मा मोदीलाई दिल्ली बोलाएर भाजपाको राष्ट्रिय सचिवको जिम्मा दिएका बाजपेयी सन् १९९८ को निर्वाचनमा मोदीले खेलेको भूमिकाबाट ज्यादै प्रभावित थिए। सन् २००१ मा झन्डै २० हजारजनाको ज्यान जाने गरी आएको भूकम्पपछि बाजपेयीले मुख्यमन्त्री पद सम्हाल्न मोदीलाई पुनः गुजरात पठाएका थिए।

सन् २००२ को फेब्रुअरी महिनामा एक हजारभन्दा बढीको ज्यान जाने गरी हिन्दु–मुस्लिम साम्प्रदायिक दंगा भयो। सो दंगा नियन्त्रण गर्न मोदी असफल भएपछि बाजपेयीले असन्तुष्टि जनाएका थिए। मोदीलाई नै साथमा राखेर पत्रकार सम्मेलन गर्दै बाजपेयीले मोदीले राजधर्म पालन गरेर शासन गर्नुपर्ने सुझाएका थिए। शासकका लागि जनताबीच न जातका आधारमा, न जन्मका आधारमा न त सम्प्रदायका आधारमा नै कुनै विभेद हुन नहुने उनको भनाइ थियो। बाजपेयीको भनाइ सुनेर मलिन भएका मोदीले तत्कालै प्रतिक्रिया दिँदै आफूले पनि बाजपेयीले भनेजस्तै काम गरिरहेको बताएका थिए। बाजपेयी निकट स्रोतका अनुसार गुजरात हिंसापछि बाजपेयी मोदीलाई पदमुक्त गर्न चाहन्थे तर एलके आडवाणीले मोदीलाई बचाएका थिए।

भारत रत्नबाट सम्मानित बाजपेयी सुरुमा कम्युनिस्ट विचारधारामा विश्वास राख्थे। ‘पत्रकार थिएँ, म कसरी राजनीतिक नेता बन्न पुगें, मलाई नै थाहा छैन’ उनी भन्ने गर्थे, ‘म राजनीति छोड्न चाहन्छु तर राजनीतिले मलाई छोड्दैन।’ चाहेर होस् या नचाहेर, उनले एक सन्त राजनेताको छवि बनाए। सिंहासनमा आसीन नेता हुन् या भर्खरै राजनीतिमा कदम राख्ने कार्यकर्ता हुन्, तिनले बाजपेयीबाट धेरै सिक्न सक्छन्। उनी राजनीतिलाई वचन र कर्ममा उतार्थे। पार्टीको आदर्श र सिद्धान्तभन्दा पनि प्रजातन्त्रको मर्म र भावनालाई महत्व दिन्थे र उनकै शब्दमा राजधर्मलाई पालन गर्ने कोसिस गर्थे।

आर्थिक र सामरिक हिसाबले गतिलो फट्को मारेको भारतले मानव विकास सूचाकांकमा अझै उल्लेख्य प्रगति गर्न सकेको छैन। आर्थिक, राजनीतिक र सामाजिक असमानता जताततै छन्। जातीय तथा साम्प्रदायिक दंगा भइरहन्छन्। गरिबी, अशिक्षा र भ्रष्टाचारबाट भारतीय समाज आक्रान्त छ। यी सम्पूर्ण समस्या हुँदाहुँदै पनि भारतीयहरूमा राष्ट्रियताको भावना प्रबल छ। राष्ट्रियता त्यतिबेला बलियो हुन्छ, जतिबेला राजनेताले देश हाँक्छन्। राजनेता ती हुन्, जो आफ्नो वचन र कर्मले जनताको हृदयमा राज गर्छन्। राजनेताले जनताका मनमा जति गहिरो छाप छोड्छन्, त्यति नै अग्लो कद बनाउँछन्। बाजपेयीले भारतीय राजनीतिमा अग्लो र अटल कद बनाएका छन्। उनको यस्तो कद आगामी पुस्ताका नेताका लागि उत्प्रेरणा र आदर्श बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.