आध्यात्मिक भ्रमणले लुम्बिनीवासी उत्साहित
बुटवल / भैरहवा : म्यानम्यारका राष्ट्रपति विन माइन्टले बुधबार लुम्बिनी भ्रमण गरेका छन् । पत्नी चो चो र परिवारका सदस्यसहित लुम्बिनी आएका राष्ट्रपति माइन्टले मायादेवी मन्दिर परिसरमा पुजा गरेका छन् । मायादेवी मन्दिर परिसरमा करिव सवा एक घण्टा बिताए । मन्दिर छेउको पीपल बोटमुनि उनले केही समय पुजा पनि गरे । उनीसँगै आएका परिवारका सदस्यले पीपलको बोट ढोग्दै पुजा गरेका थिए । बौद्ध धर्मालम्बीले पीपलको बोटलाई बोधिबृक्षका रुपमा पुजा गर्छन् ।
विशेष विमानबाट भैरहवा विमानस्थलमा ओर्लिएका राष्ट्रपति माइन्ट नेपाली सेनाको हेलिकोप्टरबाट लुम्बिनीको सग्रहालय नजिकै हेलिप्याडमा ओर्लिएका थिए । लुम्बिनीमा उनलाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका अध्यक्ष तथा संघीय सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी, उपाध्यक्ष भिक्षु मैत्तेयले स्वागत गरेका थिए ।
लुम्बिनी ओर्लिनासाथ उनी कासाई होटलमा पुगी केही मिनेट आराम गरी मायादेवी मन्दिर पुगेका थिए । मायादेवी मन्दीर प्रवेशगर्दा राष्ट्रपति माइन्टले जुत्ता खोलेका थिए । विकास कोषले ‘सीपर’को व्यवस्था गरेको थियो । यद्यपि माइन्ट दम्पत्तीले खाली खुट्टा नै मायादेवी मन्दिरको दर्शन गरे । मायादेवी प्रवेशसँगै बरिष्ठ पुरातत्वविद् बसन्त बिडारीले लुम्बिनीको पुरातत्वको विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
माइन्टले मायादेवी मन्दिरभित्रका भग्नावशेषमा निकै रुचि दिएको भ्रमणदलमा रहेका लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले बताए । मायादेवी मन्दिरबाट बाहिरिएपछि पोखरी नजिकै बनाइएको पुजास्थलमा राष्ट्रपतिले केही समय बिताए । परिवारका सदस्यले बोधीबृक्षको पुजा गरे । सो स्थानमा दीप प्रज्ववलनपछि केही औपचारिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले स्वागतमा भाषण गरेका थिए । लुम्बिनी विकासमा म्यानमारको सहयोग रहेको र राष्ट्रपतिको भ्रमणले नेपालसँगको सम्बन्ध अझै प्रगाढ भएको बताए । मन्त्री अधिकारीले राष्ट्रपतिलाई बुद्धको मूर्ति उपहार प्रदान गरे । सोही अवसरमा लुम्बिनी विकास कोषका बरिष्ठ सूचना अधिकृत हरिध्वज राईले लुम्बिनी गुरुयोजनाको विषयमा राष्ट्रपति माइन्टको भ्रमण दललाई जानकारी गराएका थिए ।
मायादेवी मन्दिर अवलोकनपश्चात माइन्ट म्यानमारले निर्माण गरेको मन्दिर अवलोकन गर्न गएका थिए । गोल्डेन टेम्पलसहित दुई स्थानमा म्यानमारले बिहार बनाएको छ । मन्दिरपछि उनी पण्डितरामा विपश्यना केन्द्र पुगेका थिए । त्यो म्यानमारले सञ्चालन गर्दै आएको छ । विपश्यनाको पुनरोत्थान गर्ने मुलुकका रुपमा म्यानमारलाई लिने गरिएको छ । राष्ट्रपति माइन्टले पनि त्यहाँ केही समय बिताएका थिए ।
विपश्यना केन्द्र अवलोकनपछि उनी होटल कासाईमा पुगेका थिए । २८ जनाको भ्रमण टोलीका अधिकांश सदस्य भैरहवा विमानस्थलबाट सडक मार्गहुँदै लुम्बिनी पुगेका थिए । राष्ट्रपति माइन्टले लुम्बिनी क्षेत्रमा साढे चार घण्टा विताई होटल कासाईमा खाना खाएर काठमाडौं फर्किए ।
म्यानमारबाट लुम्बिनीमा भएको यो उच्चस्तरको भ्रमण हो । यो भ्रमणले बौद्धमार्गीको लुम्बिनी आवागमन बढ्ने अपेक्षा गरिएको छ । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका म्यानमारका राष्ट्रपति माइन्टको भ्रमणपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि लुम्बिनी भ्रमण गर्दै छन् । राष्ट्रपतिको भ्रमणलाई लिएर लुम्बिनीमा चारै निकायका सुरक्षाकर्मी तैनाथ थिए भने राष्ट्रपतिलाई कमाण्डो फोर्सले सुरक्षा दिएको थियो ।