नेपालमा सुनखानी : तीनपटक अध्ययन, उत्खनन् शून्य

नेपालमा सुनखानी : तीनपटक अध्ययन, उत्खनन् शून्य

काठमाडौं : नेपालका नदी किनारमा सुनको कण पाइने प्रतिवेदन आएको ८३ वर्ष पुग्यो। सुन खानीकै विषयमा तीनपटक अध्ययन समेत भइसक्यो। तर, उत्खनन्मा राज्यले चासो नदेखाउँदा गरगहना प्रयोजनका लागि वार्षिक करिब ३४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सात हजार दुई सय किलो सुन आयात भइरहेको छ। व्यापार घाटा बढ्नुमा सुन आयात पनि प्रमुख कारण हो।

खानी तथा भूगर्भ विभागले नेपालका नदीनाला किनारमा सुनको कण भेटिए पनि कुन स्थानमा कति परिमाणमा छ भनेर पत्ता लगाउन नसकेको जनाएको छ। विभागका अनुसार नेपालमा पहिलोपटक सन् १९३५ मा भारतीय वैज्ञानिक एस के चटर्जीले कालीगण्डकी नदी क्षेत्र वरपर अध्ययन गरेका थिए। उनको अध्ययनले त्यस क्षेत्रमा करिब चार लाख १३ हजार चार सय ८७ ग्राम सुन भण्डार रहेको प्रतिवेदन दिएको थियो। लगत्तै १९५८ मा जेआर मानन्धरसहितको टोलीले चितवनको मरोदी खोलामा गरेको अध्ययनले पनि सुन भएको संकेत दिएको थियो। तर, सुन पाइने स्थानमा सरकारले हालसम्म उत्खनन् गर्ने योजना समेत बनाएको छैन।

नेपालको ११ स्थानमा सुन खानी भएको विभिन्न अध्ययनले देखाएको छ। विभागले हालसम्म नौवटा कम्पनीलाई सुनको खोज तलासका लागि अनुमति प्रदान गरेको छ। विभागका सूचना अधिकारी कृष्णदेव झाले भने, ‘नेपालमा सुन खानी भएको पत्ता लगाइसक्यौं। अहिलेसम्म हामी सुन पाइन्छ भनेर मात्रै चित्त बुझाएका छौं। उत्खनन् गर्न पाएका छैनौं।’ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत सुन अन्वेषण र उत्खनन्को कुनै कार्यक्रम छैन। विभागसँग अध्ययन गर्न चाहिने नयाँ प्रविधि, फिल्ड अध्ययन गर्ने प्रविधि र परीक्षण गर्ने गतिलो ल्याब नभएको झाले दाबी गरे। फलाम, तामा, सुन जस्ता खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ। एक दशकअघि रोल्पाको लुंगी खोलामा गरिएको अध्ययनले एक टन ढुंगामाटोमा ६.७ ग्रामसम्म सुनको कण भएको प्रतिवेदनले देखाएको छ। त्यस क्षेत्रमा २५ किलोमिटर लामो र २० मिटर चौंडा क्षेत्रमा सुनका कण भेटिएको थियो। बैतडीको बांगाबगर, गोरङ, जमारीगाढ, डडेलधुराको बामनगाउँमा गरिएको अध्ययनले पनि प्राइमरी चट्टानभित्र एक टन ढुंगामाटोमा ०.२ देखि ५.६ ग्राम सुनको कण रहेको देखाएको थियो। यस्तै बूढीगण्डकी नदीको बालुवामा १८ किलो सुन हुनसक्ने देखाएको थियो।

गरगहना प्रयोजनका लागि वार्षिक करिब ३४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सात हजार दुई सय किलो सुन आयात भइरहेको छ।

सुनकोसी, कालीगण्डकी, चमेलिया, राप्ती, मादी, म्याग्दी, मारोडी, मोदी, महाकाली, त्रिशूली, मस्र्याङ्दी, सेतीसहितका दुई दर्जन नदी किनारको बालुवामा सुन भेटिएको छ। ती नदीमा सुन भेटिनुले उद्गममा सुन खानी हुनसक्ने सम्भावना देखाएको छ। भौगर्भिक हिसाबले सुन रहने आधार पत्थर नेपालको हिमालय, चुरे र महाभारत पर्वत क्षेत्रमा भेटिएको छ। विभागको प्रारम्भिक अध्ययनले नदी किनारको एक टन बालुवामा ०.१ देखि ४ ग्रामसम्म २४ क्यारेटको सुन रहेको देखाउँछ। आँखाले नदेखिए पनि सुनको घनत्व बढी हुने भएकाले बालुवा छान्दा सुन फेला पर्छ। अन्तर्राष्ट्रिस्तरमा एक टन बालुवा छान्दा औसत ३ ग्राम सुन भेटिँदा आर्थिक रूपले सम्भाव्य मानिन्छ।

रोल्पामा पाइएको एक टन ढुंगामाटोमा ६.७ ग्राम सुन नै नेपालमा पाइएको सबैभन्दा राम्रो अनुपात हो। तर, दुईवटा निजी कम्पनीले गरिरहेको अन्वेषणले त्यहाँको विस्तृत जानकारी दिन सक्ने झाले बताए। बैतडीमा पनि त्यही अनुपातमा सुन हुनसक्ने संकेत देखिएको जानकारी दिइएको छ। यो हिसाबले मुलुकको पूर्वभन्दा पश्चिमी भेगमा सुनको सम्भावना बढी देखिन्छ। तर, इलामको बेरिङ खोला, मकवानपुरको चण्डीखोला, भोजपुरको छिर्लिङखोला जस्ता ठाउँमा पनि खानीको सुन भेटिने सम्भावना देखिएको छ।

खानीमा तामा, फलामसहितका धातु वा क्वार्जसँग मिलेर सुन बसेको हुन्छ। ताप र चापका कारण आग्नेय चट्टानमा सुन भेटिने सम्भावना बढी हुन्छ। पछिल्लो समय विदेशी कम्पनी पनि सुन खानीमा आकर्षित देखिएको विभागले जनाएको छ। झाका अनुसार खनिजको सम्भावना रहेको ६० प्रतिशत क्षेत्रको अध्ययन हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.