कच्ची सडकले सास्ती

कच्ची सडकले सास्ती

बैतडी : जिल्लाका अधिकांश ग्रामीण कच्ची सडक लगातारको वर्षाले बन्द भएका छन् । कच्ची सडक बन्द हुँदा घर पुग्न निकै सकस हुने गरेको स्थानीय बताउँछन् । पञ्चेश्वर गाउँपालिकाका नरेन्द्र चन्द सुदूरपश्चिमको मुख्य पर्व गौराका लागि घर फर्के । बैतडीको पाटनबाट मेलौली जाने कच्ची बाटोमा उनलाई निकै सास्ती भयो । लगातारको वर्षाले पाटन पञ्चेश्वर सडक ठाउँ–ठाउँमा अवरुद्ध भएकाले आफंैले जिप धकालेर निकाल्नुपरेको उनले बताए । उनले भने, ‘गौरा पर्वका लागि घर फर्केको हुँ । घर पुग्न निकै सकस भयो । हिलाम्मे भएर घर पुगियो ।’

जिल्लाको सुर्नया गाउँपालिका–६ शंकरपुरका प्रकाश अवस्थी गौराका लागि घर पुगेका छन् । तर, कच्ची सडक बन्द हुँदा घर पुग्न निकै सकस भएको उनले बताए । उनले भने, ‘भारतबाट रोजगारी गरेर गौराकै लागि घर फर्किएको हुँ । गाउँमा सडक पुग्दा निकै खुसी लागेको थियो । तर, अचेल त वर्षाले बन्द भइसकेको रहेछ ।’

अधिकांश ग्रामीण कच्ची सडक लगातारको वर्षाले बन्द भएपछि गौरा पर्वका लागि घर फर्कनेहरूलाई सास्ती भएको छ । शुक्रबारदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका लागि घर पुग्नेहरू यात्रामै छन् । ग्रामीण कच्ची सडक बन्द हुँदा उनीहरूलाई घर पुग्न निकै समस्या हुने गरेको छ ।

कच्ची सडक बन्द हुँदा हिँडेरै गाउँमा पुग्नुपरेको सुर्नया–५ का किशोर मडैले बताए । उनले भने, ‘आफंै जिप चालक हुँ । तर, लगातारको वर्षाले सडक बन्द भएपछि हिँडेर आवतजावत गर्नुपरेको छ ।’

सतबाँझ– श्रीभावर, पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, ढोल्यामोड–पुरचौंडी, दुदिलाखान–गाँजरीलगायत दर्जन बढी ग्रामीण कच्ची सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले भने, ‘कच्ची सडकमा ठाउँठाउँमा पहिरो खस्नुका साथै हिलो हँुदा नागरिक सास्ती व्यहोर्न बाध्य छन् ।’

पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक पुगे पनि स्तरोन्नति नहुँदा समस्या हुँदै आएको छ । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको सुर्नया–६ का हरिदत्त अवस्थीले बताए । उनले भने, ‘अहिले गौराका लागि घर फर्कनेहरू हिँडेरै गाउँमा पुगेका छन् । कोही आउँदै छन् । सडक सुचारु भए सजिलो हुन्थ्यो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.