मन्दिरको गेटबाहिर ३ घन्टा

मन्दिरको गेटबाहिर ३ घन्टा

सोमबार बिहान ११ बजे। काठमाडौंको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो। विवाहित जोडीहरू मन्दिरबाट बाहिरिन्थे। बिहे गर्न लागेकाहरू घुम्टो ओड्दै भित्रिन्थे। पूजाको थाली बोकेका भक्तजनहरू ओहोरदोहोर गरिरन्थे। मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे। उनका फ्यानहरू सेल्फी खिच्न झुम्मिए। उनीहरू समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए। संजेल र मनोज गजुरेल पनि आइपुगे। त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट र निलै ह्याट लगाएका एकजना विदेशी। एकछिन सेल्फी खिचेर सेलिबे्रटीहरू मन्दिरभित्र पसे। तर, ती बृद्ध ढोकामा अचानक टक्क रोकिए। गहिरो गरी भित्तामा हेरे। त्यसपछि उनका पाइला अघि बढेनन्। गेटबाहिरै रोकिए उनी। फर्किए लुसुक्क। एकछिन अघि हर्षित मुद्रामा गफिरहेका ती बृद्धको अनुहारबाट एकाएक चमक हरायो। हुरीले ढालेको मकैबारी जस्तै सिताङ्ग देखिए। कुहिरोले छोपेको हिमाल जस्तै अध्यारो देखियो उनको अनुहार। केही बोलेनन्। मलिन अनुहार लिएर बागमतीको किनारतिर गए। नियालेर एकोहोरो हेरिरहे धमिलो बागमती।

पाँच मिनेटमा सकिने भनिएको बिहे अलि बेरमा सकेर सबैजना बाहिरिए। तर दुलाहा दुलही भित्रै बसे। ती बृद्ध मन्दिरको गेटमा उनीहरूलाई कुर्न थाले। मन्दिरभित्रबाट बाहिरिने प्रत्येक मानिसको अनुहारमा नियालेर हेर्थे। बेलाबेलामा घाँटी तन्काएर मन्दिरभित्र पनि हेर्थे। कहिले बागमती किनारातिर जान्थे, कहिले पीपलको बोटमूनी पुग्थे। कहिले पूजाको सामान बेचिरहेकी युवतीसँग नेपाली भाषामै गफिन्थे। तर पटकपटक आँखा डुलाइरहन्थे, मन्दिरको सिँडीतिर।

उनको नजिक गएँ। परिचय दिएँ। उनी ७५ वर्षीय बेलायती नागरिक जोन रहेछन्। मन्दिर बाहिरै घुमिरहनुको कारण उनले खोले। ‘म उत्तम संजेलको बिहेमा आएको। तर ऊ त्यहाँ इन्ट्रान्स फर वन्ली हिन्दु (हिन्दुका लागि मात्र प्रवेशाधिकार) लेखिएको रहेछ। त्यसैले भित्र गइनँ’, सूचनातिर देखाउँदै उनले भने।

उनी बोल्दा बोल्दै भावुक भए। घोसेमुन्टो लगाए। खैरो आँखाको डिलडिलै आँशु टिलपिल टिलपिल हुन थाल्यो। चाउरिएको गालाबाट आँशुको थोपा एकएक गरी खस्न थाल्यो। उनले बिस्तारै भने, ‘के हिन्दु, के बुद्धिष्ट, के क्रिश्चियन, भगवान सबैको एकै हो।’ त्यसपछि उनी बोलेनन्। चुपचाप बसे। रसिलो आँखाले एकपटक मन्दिरको सिडीतिर हेरे।

‘मैले गीता पढेको छु। सबै धर्मको किताव पढेको छु। भगवान सबैको एकै हुन्छ। भगवानलाई यसरी भाग लगाउनु राम्रो होइन,’ उनी थरथर कामेको स्वरमा भन्दै थिए, ‘मन दुख्छ नि, किन नदुख्नु ? यो भगवानको घर हो। भगवानको घरमा सबै मान्छे जान पाउनुपर्छ।’

बिहे पाँच मिनेटमा सकिएन। ३ घन्टा लाग्यो। ११ बजेबाट सुरु भएको उनको प्रतिक्षा २ बजेसम्म चल्यो। सेलिब्रिटीहरू पाँच मिनेटको बिहे सकेर बाहिरिए। तर जोन मन्दिरको गेटमा नवदुलाह दुलहीलाई पर्खिरहे। उनलाई कसैले सोधेनन्। कसैले बोलाएनन्। निम्तो त्यागेर सुटुक्क हिँड्न सक्थे उनी। तर त्यसो गरेनन्। पर्खिरहे गेटमै। मुस्कुराउने कोसिस गर्दै भने, ‘उत्तम निकै व्यस्त छ भित्र। आज उत्तमको विशेष दिन हो। शुभकामना नदिई कसरी जानु ? ’

पूजाको सामान बेचिरहेकी युवतीले जोनलाई टुलमा बस्न भनिन्। उनी टुलमा बसेर गफिन सुरु गरे। गफिँदा गफिँदै अतितका पानाहरू पल्टाउन थाले। तर उनको आँखा भने बेलाबेला मन्दिरको सिँडीतिर दौडिरहन्थे।

जसले घाउमा मलम लगाए

उनी पेशाले स्टाफ नर्स। लिबिया, सिंगापुर, इन्डोनेसिया हुँदै वि.सं. २०२८ मा नेपाल आइपुगे। त्यसबेला २८ वर्षको हट्ठाकट्डा थिए। डब्लुएचओ (वल्ड हेल्थ अर्गनाइजेशन) मा काम गर्दै उनी यहाँ आइपुगेका थिए। बौद्धको स्वाथ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मीको माग भएको थाहा पाएपछि गए। प्रधानपञ्च कुलबहादुर शाक्यसँग भेटे। त्यसपछि बौद्ध स्वास्थ्य केन्द्रमा काम थाले। उनले सम्झिए, ‘त्यसबेला ५० पैसामा भर्ना लिइन्थ्यो। त्यति पैसामा सम्पूर्ण सर्भिस फ्रिमा गरिन्थ्यो।’ त्यही बेलादेखि नेपालीको घाउमा ड्रेसिङ गर्न सुरु गरे जोनले।

एकदिनको घटनाले उनलाई आज पनि बाराम्बर चिमोटी रहन्छ। बुढेसकालको निन्द्रा बिथोल्न आजभोलि पनि त्यो घटना स्मृतिको एउटा कुनामा आएर चसक्क बिझाउँछ। त्यो दिनको घटनाले जोनको जीवनमा एउटा नयाँ मोड ल्याएको थियो। उनले त्यो दिन सम्झिए।

साँझको बेला थियो। स्वास्थ्य केन्द्रमा उनी त्यसदिनको अन्तिम समय बिताइरहेका थिए। हस्याङ फस्याङ गर्दै एकजना आए र बौद्धको अध्यारो गल्लीतर्फ लिएर गए। चुक घोम्टिएको जस्तो अध्यारो भर्‍याङ मूनिबाट ढ्याङ्ग्रो बजिरहेको आवाज सुने। कोठाभित्र पसे। एकजना बालक अचेत अवस्थामा लडिरहेका थिए। झाँक्री जोडजोडले ढ्याङ्ग्रो बजाइरहेका थिए। जोनले नुन, पानी र थोरै औषधी मिसाएर बालकको जिब्रोमा तप्तप् झारिदिए। एक छिनपछि बालकले आँखा खोले। ढ्याङ्ग्रो बज्न छाड्यो।

त्यसपछि कोठामा आश्यर्चजनक दृश्य देखे उनले। बालक बाँचेकामा आमाबुवा हर्षित थिएनन्। न दुःखी नै थिए। दुःख र हर्षको बिचमा केही हुन्छ भने त्यही मि श्रणमा डुबेको थियो कोठाको वातावरण। जोनको कानमा कसैले भनिदियो, ‘यो बाँचेर पनि के गर्नु ? पढाउन सकिँदैन। खाना खुवाउन सकिँदैन।’ भल्ट्याङभुल्टुङ छोराछोरीले भरिएको त्यो कोठाको दर्दनाक अवस्थाले जोनको छातीमा बेस्सरी हिर्कायो। रिङ्टा लागे झैँ भयो। जोन सम्झँदै भन्छन्, ‘कुपोषणग्रस्त बच्चाबच्चीहरू थिए। एकजना मरे पनि उनीहरू धेरै चिन्तित थिएनन्।’ त्यसपछि जोनले गर्भ रोकथाम साधनबारे सल्लाह थिए। साधनबारे त्यो अध्यारो कोठा बिलकुल बेखबर थियो। भारी मन लिएर उनी बाहिरिए।

भोलीपल्ट बत्तिसपुतलीमा रहेको परिवार नियोजन संघको कार्यालयबाट केही कण्डम र गर्भ निरोधक औषधी लिएर आए। त्यो परिवारलाई दिए। उनले मनमनै त्यही काममा लाग्ने अठोट गरे। भन्छन्, ‘त्यसपछि म स्वास्थ्य सेवा केन्द्रको जागिरसँगै परिवार नियोजन संघमा पनि काम गर्न थालेँ।’

संघमा आवद्ध भएपछि उनी सिन्धुपाल्चोक पुगे। रामेछाप पुगे। यादव खरेल र बाशु शशीसँग उनको संगत बढ्यो। उनका अनुसार संघको अध्यक्ष थिइन् पे्रक्षा शाह। सचिव थिए फिल्म निर्देशक खरेल। जगदिश घिमिरे पनि उनका साथी थिए। भन्छन्, ‘उनको पुस्तकमा मेरो नाम छ।’

स्वास्थ्य केन्द्रको शाखा थियो सिन्धुपाल्चोकस्थित हेलम्बुको नुर्पु गाङ गाउँमा। बौद्धमा भेटिएका त्यसबेलाका जोनका साथी ङिमा दोर्जे लामा (७१) भन्छन्, ‘जोन मोटोघाटो थियो। स्वास्थ्य केन्द्र बनाउन सिमेन्टीको बोरा आफैँ बोक्थ्यो। सुत्केरी पनि धेरै स्याहार्‍यो। हाम्रो गाउँमा डाक्टर जोन भनेपछि आज पनि पूराना बुढाबुढीले प्रष्टै चिन्छन्।’

डेरा बौद्धमा थियो जोनको। सिन्धुपाल्चोक जाने आउने गरिरहे। ह्लोल्मो र तामाङ वस्तीले तान्यो उनलाई। सिन्धुपाल्चोकको गाउँमा घाउमा मलम लगाउँदै बसिरहे। त्यो क्रम ७ वर्षसम्म चल्यो। त्यसपछि निरन्तर नेपाल बसेनन्। बेलायत जाने आउने गरिरहे। पटक–पटक आउँदा–जाँदा करिब १५ वर्ष नेपालमै बित्यो जोनको।

 बेलायतमै छुट्यो परिवार

पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा भर्ती केन्द्रमार्फत लाखौं नेपाली युवा अंग्रेजको फौजमा भर्ना भए। कयौंले भिसी र तक्मा पाए। कयौं मलाया र बर्माको जंगलमा हराए। एकजना बेलायती नागरिक भने सिन्धुपाल्चोकको भिरपाखामा औषधी लिएर हिँडिरहे। ङिमा भन्छन्, ‘गाउँमा बाटो राम्रो थिएन। ट्याक्टर चलाउँदै औषधी र सिमेन्टीको बोरा लिएर आउथे। बाटोको ढुंगा आफैँ पन्छाउँथे। हामीलाई काम गर्नुपर्छ भन्थे।’

सन् १९७७ तिर जोनले गर्लफ्रेण्डलाई नेपाल बोलाएर भने ‘पहिलो नम्बर मेरो काम हो। दोस्रोमा तिमी। यदि राजी छौ भने बिहे गरौं।’ गर्लफ्रेन्ड राजी भइन्। सम्झिँदै भन्छन्, ‘त्यसपछि हामीले डिल्लीबजारको अड्डामा गएर कोट म्यारिज गर्यौं।’ एक छोरी र एक छोरा भए उनीहरूका। छोरी अहिले ४० वर्षकी भइसकिन्। उनी भियना बस्छिन्। छोरा ३४ वर्षका भए। इन्टरनेटमा आफ्नी छोरीको नाम सर्च गर्न लगाए। इन्टरनेटमा देखियो छोरीको नाम– जेम्मा कार, कोअर्डिनेटर एण्ड पोस्ट डक्टरल रिसर्च एसिस्ट्यान्स एट भियना युनिभरसिटी अफ टेक्नोलोजी। उनले भने, ‘ श्रीमती बेलायतमा बस्छिन्। डिभोर्स भइसकेको छैन। तर छुट्टिएको धेरै वर्ष भयो।’ नातिनातिना भइसके। हाँस्दै भने, ‘ओहो ! उनीहरूसँग खेल्न धेरै मन लाग्छ नी।’ तर, उनको हत्ते नेपालमै छ। अझै।

कहिलेकाँही बेलायत जान्छन् जोन। छोरीले बोलाउँदा भियना पुग्छन्। केही महिना उतै बसेर फेरि फर्किन्छन् काठमाडौं। काठमाडौं केही दिन बसेर जान्छन् बुढो शरीर लिएर सिन्धुपाल्चोक। पछिल्लो ६ महिनादेखि उनी नेपालमै छन्। पछिल्लो समय नातिनीको जन्मदिन मनाउँन जाँदा श्रीमतीसँग भेट भएको थियो। तर एकदमै थोरै समय। ‘३० सेकेन्ड जतिमात्रै कुरा भयो। हाउ आर यु ? ह्वाट आर यु डुइङ भनिन् यति हो’, उनले सम्झिए।

उनका अनुसार बेलायतमा उनको केही छैन। ‘मेरो केही पनि छैन बेलायतमा। छोरीले ‘घर किनीदिन्छु आउनू’ भनेकी छिन्। तर मलाई जान मनै छैन’, सुस्तरी भने, ‘बाँकी जीवन नेपालमै बिताउँछु अब।’ उनको बोलीमा एक्लोपन र उदासी भाव झल्किन्थ्यो।

बौद्धमा एउटा कोठा छ उनको डेरा। विरक्ति र एक्लोपन उनको साथी बनेको छ। कोही साथी भेट भयो भने घन्टौं गफिन्छन्। सिन्धुपाल्चोकका तामाङ र ह्लोल्मोहरू उनका साथी हुन्। बौद्धका क्याफेमा पूराना साथीहरूसँग पूरानै कुरा गरेर बस्छन्। ‘एकहप्तापछि फेरि सिन्धुपाल्चोक जान्छु’, उनले सुनाए।

बौद्ध बस्दाबस्दै जोनले उत्तम संजेलबारे कुरा सुने। भेटे पनि। एकसय रुपैयाँमै सम्पूर्ण उपचार गर्ने अस्पताल उनलाई रमाइलो लाग्यो। बेलाबेलामा अस्पताल हेर्न जान थाले। त्यही जाने क्रममा केही दिनअघि उत्तमले आफ्नो बिहेको निम्तो थमाए।

बिहेको दिन जोन बिहानै उठे। नुहाए। कैलो दाह्रीजुँगा खौरिए। कोटपाइन्ट लगाए। ह्वाट पहिरिए। त्यसपछि हिँड्दै गुहेश्वरीको गेटमा आइपुगे।

जोनलाई काठमाडौंको मन्दिरभित्र गैरहिन्दुलाई पस्न मनाही गरिएको थाहा थियो। उनले ठाने– मन्दिरबाहिर बिहेको पार्टी आयोजना गरिने होला। गफैगफमा बिर्सिए सूचना बोर्ड। बृद्ध मस्तिष्कले धानेन सायद। तर जब भित्र पस्न खोजे, त्यसबेला झस्किए।

परिवारसँग बिछोडिएको नेपालभक्त वृद्ध मन्दिरको गेटमा घन्टौं कुरेर बसिरहे। बेलाबेलामा गहिरो गरी खोक्थे। घरिघरि बागमती भन्दा पारी हेर्थे। भित्रबाट उनले पर्खिरहेको नयाँ दुलाहादुहली अझै आइपुगेनन्।

‘म एक्लो छु जस्तो लाग्दैन’, उनले भने। सम्वाद रोकियो। मौनता छायो। आँखाभरी आँशु बनाए। आफ्नै लागि बर्जित मन्दिरको सिँडितिर हेर्दै उनले सुस्तरी भने, ‘म एक्लो छैन। मसँग भगवान् छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.