अफ्रिकी मुलुक बोत्स्वानामा सय हात्ती मारिए
बोत्स्वाना : दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा हात्तीका दारा (आइभरी) तस्करीका ठूलो संख्यामा हात्ती मारिएको भेटिएको पशु अधिकारका लागि कार्यरत एक संगठनले मंगलबार जनाएको छ । ‘मृत भेटिएका हात्तीमध्ये ठूला दारा हुने प्रायः भाले हात्ती रहेका छन्’, एलिफन्ट विदाउट बोर्डर नामक संस्थाले सामूहिक रूपमा हात्ती मारिएको यो घटना सम्भवतः पछिल्ला केही वर्षयताकै दुःखद घटना भएको जनाउँदै उक्त क्षेत्रमा हात्ती संरक्षणका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेको छ ।
ठूलो संख्यामा हात्ती मारिएको सूचनाका आधारमा उक्त संस्थाले विगत केही दिनयता गरेको हवाई अनुगमनमा दारा निकालिएको अवस्थामा ९० भन्दा बढी हात्ती मृत भेटिएका हुन् ।
बोत्स्वाना वन्यजन्तु विभाग तथा राष्ट्रिय निकुञ्जको एलिफन्ट विदाउट बोर्डरका निर्देशक माइक चेजले भने, ‘यो वर्षको जुलाई १० देखि हवाई अनुगमन थालेको र त्यस क्रममा ९० हात्तीका दारा निकालिएको अवस्थामा मृत शरीर भेट्यौँ ।’ हवाई सर्भेक्षणका क्रममा हरेक दिन दुई चार वटा मृत हात्ती भेटिएको उनले जानकारी दिए ।
प्रायः हात्ती पानी खान जलाशययुक्त क्षेत्र नजिक पुगेका समय शक्तिशाली राइफलको प्रयोग गरी उनीहरूलाई मारिएको अध्ययनका क्रममा थाहा भएको माइक चेजले बताए ।
हात्ती मारिएको स्थान ओकाभांगो नदीले बनाएको त्रिभुज आकारको जंगली क्षेत्र रहेको र उक्तस्थान निकुञ्ज क्षेत्र भएको बताइएको छ । उनले भने, ‘अफ्रिकामा हात्तीको यति ठूलो संख्या तस्करले मारेको खबर अहिलेसम्म मैले न त पढेको थिए न देखेको नै थिएँ ।’
अफ्रिकामा हात्तीको संख्या करिब १ लाख ३५ हजार रहेको विभिन्न अफ्रिकी संघसंस्थाले बताउने गर्छन् । विगतका केही दशकयता अफ्रिकी हात्तीको जनसंख्या ४ लाख १५ हजारबाट घटेर १ लाख ११ हजारमा झरेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले जनाएको छ । हात्तीको दारा महँगो रकम लिएर तस्करले विश्वका विभिन्न क्षेत्रमा लाने गर्छन् ।एएफपी
प्रतिक्रिया दिनुहोस !