बच्चा बोकेर ५ घण्टा लाइन लाग्दा जम्मा २० किलो

बच्चा बोकेर ५ घण्टा लाइन लाग्दा जम्मा २० किलो

धादिङबेंसी : नीलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् ।

यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’

टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम आसापासका ठूलो संख्याका कृषक २० किलो मल किन्न घण्टौं लाइनमा बसेका थिए । खाद्य तथा तरकारी बालीमा समयमै मल हाल्न नपाएका किसान भनेको समयमा र भनेजति मल नपाउँदा आक्रोशित देखिन्थ्ये ।

नीलकण्ठ नगरपालिका–१२ की केशवकुमारी श्रेष्ठले भनिन्, ‘दुई साताअघि नै धान र कोदोमा मल हाल्ने बेला भइसकेको थियो । तीन पटक किन्न भनेर आएँ तर खाली हात फर्किएँ । आफूलाई १ बोरा चाहिन्छ, बल्लतल्ल लाइन बसेर २० किलो मात्रै पाइन्छ । कति ठाउँमा हाल्नु, चाहिएको बेला दिन नसके बाली सप्रिन्न, किसानको यो दुःख कसले हेरेदिने ? ’

नीलकण्ठ सहकारीमा बिहीबार मल आउने थाहा पाएकी श्रेष्ठ बिहानै आए पनि उनीभन्दा अगाडी अरू ५०÷५५ जना कृषक लाइन लागिसकेका थिए । थोरै किनेर धेरै जग्गामा जसोतसो पु¥याउनुपर्ने बाध्यतामा किसान छन् । बालीनालीमा रासायनिक मल हाल्न दसौं पटक सदरमुकाम आएर रित्तै फर्किएका किसान बिहीबार मल आउने खबर पाएपछि बिहानैदेखि लाइनमा बसेका थिए । नीलकण्ठ नगरपालिका–५ खाल्टेबाट ३ घण्टा लगाएर मल लिन आएका शेरबहादुर गुरुङले भने, ‘तीन पटक धाएँ तर रित्तै फर्किएँ, बिहानै मल बाड्ने खबर पाएर आएँ । लाइन लामो छ, आज पनि पाउने÷नपाउने ठेगान छैन ।’

रासायनिक मलको हाहाकार हुँदा जेठ अन्तिमतिर खेत रोपाइँ (अगौटे धान) गर्ने किसान बढी समस्यामा छन् । नीलकण्ठ–३ कै कृषक रामबहादुर अधिकारीले आक्रोशित हुँदै भने, ‘सित्तैमा देऊ भनेको होइन, पैसा तिरेर किन्छु भन्दा पनि किन यत्रो हाहाकार, जुनसुकै सरकार आए पनि मजदुरी गरेर खाने निम्न वर्ग र किसानलाई किन यत्रो सास्ती, कृषिप्रधान देशमा मलबीउ त समयमा पाइँदैन ।’ रासायनिक मल समयमै नपाउँदा फूल लाग्दै गरेका धान र कोदो बारीमै सुक्ने अवस्था आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.