ठूलालाई ‘ब्रान्ड’को डर, नयाँको छैन भर

ठूलालाई ‘ब्रान्ड’को डर, नयाँको छैन भर

नवीन प्रस्तुति, शैली र ‘कन्टेन्ट’ मा ख्याल नगर्ने हो भने मूलधारको मिडिया तंग्रिने होइन, सुकेनास लागेर नासिँदै जानेछ ।

राजधानी दैनिकले शुक्रबार ‘अचम्म’ को विज्ञापन छाप्यो– बिक्दै नबिक्ने पत्रिका’। ज्याकेट पेजमै छापिएको यो विज्ञापन सरसर्ती हेर्दा ‘राजधानी पत्रिका बिक्नै छोडेछ, त्यसैकारण पत्रिकाले हात ठड्यायो’ भन्ने अर्थ लाग्छ। अर्कोतिर, कुनै पनि ‘दबाब, प्रभाव र प्रलोभन’ मा ‘नबिक्ने स्वच्छ छविको पत्रिका’ भनेर आफ्नो दाबी प्रस्तुत गरेको देखिन्छ। जे होस्, द्विअर्थी विज्ञापनले सामाजिक सञ्जालमा राम्रै बहस छेड्यो– पत्रिकाको भविष्यबारे। कसैले डिजिटल जमानामा परम्परागत शैलीका पत्रिकाको भविष्य छैन भन्ने तर्क गरिरहेका छन्। कतिपयले ‘पत्रिकाको विकल्प अरू मिडिया हुन सक्दैनन्’ भन्ने आशाको दियो जगाएकै छन्।  

तर, तथ्य के हो भने, पत्रिका (प्रिन्ट मिडिया) को भविष्यमाथि प्रश्न उठेकै छ। यही रूपमा प्रिन्ट मिडियाले निरन्तरता पाउने-नपाउने भन्नेमा सञ्चालकदेखि सञ्चारकर्मी ‘कुहिरोको काग जस्ता’ छन्। अझ भनौं, प्रिन्ट मिडियामै भविष्य देख्नेहरूका सपना कतै ‘पानीका फोका जस्तै’ बिलाउने त होइनन् भन्ने चिन्ता थपिएको छ। ‘भगवान् भरोसा’ वा ‘चल्छन् होला नि !’ भन्ने आसमा मात्रै प्रिन्ट मिडिया दौडिरहेको यथार्थता हो। 

ब्रान्डको महत्व 

छिमेकी चीन आज विश्वमा पहिलो शक्ति राष्ट्र बन्न खोज्दै छ। तर, उसलाई एउटै तगारो छ– ‘ब्रान्ड’ को। चिनियाँ सामग्री सस्ता छन्। त्यसैकारण प्रयोगकर्ता अधिक छन्। तर, जे जतिले चिनियाँ सामान प्रयोग गर्छन्, उनीहरूमा ‘ब्रान्ड’ प्रतिको विश्वसनियता छैन। अमेरिकालगायत पश्चिमा मुलुकले जे–जति उत्पादन गर्छन्, ती महँगा छन्, तर ‘ब्रान्डेड’ मा गनिन्छन्। महँगै तिरेर सामान किन्नुपर्ने बाध्यता भए पनि ती देशका उत्पादनप्रति उपभोक्ता ढुक्क हुन्छन्। विश्वास गर्छन्। हो, नेपाली मिडियाको अहिलेको अवस्था पनि त्यस्तै देखिन्छ। पुराना एवं ठूला मिडिया समाजका ‘ब्रान्ड’ हुन्। तिनका जे जति पाठक, दर्शक, श्रोता छन्, ब्रान्ड नहेरी-नपढी चित्त बुझाउँदैनन्। हतपति ‘नयाँ मिडिया’ को विश्वास गरिहाल्दैनन्। तर, यतिले मात्रै पुग्दैन। सस्ता, भाइरल र बिकाउ ‘कन्टेन्ट’ को पछि दौडिरहेको जमातलाई पनि ब्रान्डप्रति आकर्षित बनाउने दायित्व र जिम्मेवारीबाट आँखा चिम्लिन मिल्दैन। सन्देशविहीन, भ्रामक र कुसामग्रीको लतबाट पाठक-श्रोता-दर्शकलाई छुटाउन सकेमात्रै मूलधारको मिडियाको बजार सुरक्षित हुने निश्चित छ।  

चिनियाँ सामानका प्रयोगकर्ता जस्तै छन्– च्याउसरी उम्रेका अनलाइन र नयाँ मिडिया (युट्युब च्यानल) का ‘अडियन्स’ पनि। अनलाइन वा न्यू मिडियामा ‘भाइरल’का अन्टसन्ट गतिविधि, घर झगडा र गालीगलौचका सामग्रीमा अविश्वसनीय रूपमा ‘भ्यूअर्स’ देखिन्छन्। तर, त्यस्ता सामग्री एकछिन हेर्दा त आनन्द आउँछ। तर, सामाजिक सन्देश ? समाजप्रतिको जिम्मेवारी र कर्तव्य ? केही पनि भेटिँदैन। ‘डलर’ कमाउने विशुद्ध उद्देश्यका ‘अन्टसन्ट कन्टेन्ट’ ले समाजलाई दिग्भ्रमित मात्रै बनाएका छन्। समाजलाई सकारात्मक दिशातिरभन्दा अराजकताले मलजल पु¥याइरहेका छन्। 

ठूला मिडियाले खोजबिन गरेका ‘सिरियस म्याटर्स’ मा पाठक-दर्शक निकै कम हुन थालेका छन्। त्यस्ता सामग्री अनलाइन वा सोसल प्लेटफर्ममा राखे भ्युअर्स पाउनै गाह्रो हुन्छ। दुःखद कुरो, त्यस्ता सामग्रीमा गालीगलौज, भडास र आरोपका ‘कमेन्ट’ को बाढी हुन्छ। कमेन्ट पढ्दा लाग्छ, मूलधारका मिडियाले पत्रकारिता गरिरहेका छन् वा कुनै ‘अपराध’ ? सन्दर्भविहीन सामग्री ट्याग गर्ने, पत्रकार-मिडिया हाउसको ‘हुर्मत’ लिने र अप्रमाणित आरोप लगाएर उल्टै पत्रकारको बदख्वाई गर्ने कार्य तीव्र रूपमा भइरहेको छ। यसले एकातिर, मूलधारका मिडिया समाप्त गर्नुपर्छ भन्ने नियोजित षड्यन्त्रलाई मलजल गरिरहेको छ। अर्कोतिर, पत्रकारिता क्षेत्रकै बदनाम गर्ने र आफ्नो आलोचना गर्ने कमलका निभ भाँच्ने कुत्सित चाल लुकेको देखिन्छ। 

कन्टेन्टमा लगानी खै ?   

हो, विज्ञान र प्रविधिको तीव्रतर विकासले ‘ठूला मिडिया’ माथि चुनौती थपिएकै छ। हामी त ब्रान्ड हौ भनेर ‘पाठकले खोजेको भन्दा आफूले रोजेको’ सामग्री पस्केर मात्रै समाजले यी मिडियालाई पत्याउने अवस्था पटक्कै छैन। किनभने, पूर्वसभामुख कृष्णबहादुर महराको यौनदुव्र्यवहार काण्ड, सेक्युरिटी प्रिन्टिङको घुसकाण्ड, बाँसबारी जग्गा हिनामिनाजस्ता ठूला अनियमितताका पर्दाफास ठूला मिडियाले गरेनन्। यसमा मूलधारको पत्रकारिता चुकेकै हो। त्यसपछि नै मूलधारको पत्रकारिताको परिभाषामाथि पनि प्रश्न उठ्न थाल्यो। केलाई मूलधार मान्ने ? मूलधारले नउधिन्दैमा सूचना पाउने जनताको हक कुण्ठित हुन्छ र ? यावत प्रश्नको घेरामा मूलधारको पत्रकारिता छ। यसैकारण, सूचनामात्र होइन, खोज समाचार-विश्लेषणका लागि पनि अब मूलधारको मिडियाको मात्रै मुख ताक्नुपर्ने बाध्यताको अन्त्य भएको छ।  

अर्कोतिर, दिनभरि अनलाइनमा पढिसकेका, सामाजिक सञ्जालमा लिंक ‘भाइरल’ बनिसकेका र दर्शक-श्रोता ‘अघाइसकेका’ सामग्रीले प्रिन्ट मिडिया जिउन सक्दैन। यिनै सामग्रीका लागि पाठकले किनेर ‘प्रिन्ट’ मिडिया किन पढ्ने ?   अनलाइनका ‘कपी पेस्ट’ का समाचार भोलिपल्ट प्रिन्टमा दिनु भनेको ‘पाठक माथिको अन्याय’ नै हो। नवीन प्रस्तुति, शैली र ‘कन्टेन’ मा ख्याल नगर्ने हो भने मूलधारको मिडिया तंग्रिने होइन, सुकेनास लागेर नासिँदै जाने निश्चित छ। त्यसका लागि अब कन्टेन्टमा लगानी गर्न कञ्जुस्याइँ गर्नुहुँदैन। ‘कन्टेन्ट’ नै मिडियाको आत्मा हो। आत्मा नै नभएको निर्जीव वस्तुलाई पाठक- श्रोता-दर्शकलाई ‘बेच्न’ खोजेर जीविका चल्दैन।

पाठक, दर्शक र  श्रोताको अभिरुचि, प्रस्तुतिको शैली र नविनतम प्रयोगको जरुरी भइसकेको छ। 

गालीमात्रै किन ?    

मूलधारका मिडियाका सामग्री सोसल प्लेटफर्ममा राख्यो कि, तालीभन्दा गालीको वर्षा हुने गरेको छ। सञ्चारमाध्यम र पत्रकारमाथि अप्रमाणित आरोप लगाउने, ‘टिस्ट’ गर्ने, पत्रकार-संस्थाको हुर्मत लिने काम भइरहेको छ। किन यस्तो त ? के पत्रकार-मिडिया हाउसले नाजायज फाइदा मात्रै उठाइरहेका छन् त ? पक्कै होइन। यसको अर्थ उनीहरू प्रश्नभन्दा बाहिर छन् भन्ने पनि होइन। राज्यका निकाय छन्, गलत गर्ने जो कोही कानुनभन्दा माथि हुन सक्दैन। छानबिन गरेर दोषी भेटिए कारबाही गर्नुपर्छ। तर, ज–जसले मिडियाकर्मी र मिडिया हाउसमाथि नियतवस गाली र आरोपमात्रै लगाइरहेका छन्, उनीहरूको भित्रि मनसाय र उद्देश्य के हो ? किन उनीहरू जेमा पनि पत्रकार वा उनीहरू कार्यरत संस्थाको हुर्मत लिइरहेका छन् ? डराउनु पर्दैन। यो व्यावसायिक, निष्पक्ष र स्वतन्त्र पत्रकारिता पेसाको बदनाम गर्ने र समाप्त गर्ने भित्री चाल हो। नयाँ हुन वा पुराना राजनीतिक दल-नेता हुन्, मिडियाले ‘तेरोमेरो’ भनेर आफ्नो धर्म छोड्न मिल्दैन। एक अर्थमा भन्दा छोडेका पनि छैनन्। हिजोका लाउडा काण्डदेखि वाईडबडी काण्डलाई जनतासमक्ष उजागर गर्ने काम यिनै मिडियाले गरेका हुन्। त्यतिमात्र होइन, तत्कालीन राजाले लोकतन्त्रको घाँटी निमोठ्दा लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति तथा स्वतन्त्रता हकका लागि मिडिया र मिडियाकर्मी सडकमा ओर्लेकै हुन्। त्यसैकारण पनि प्रेस स्वतन्त्रमा मात्र नभई ‘पूर्ण प्रेस स्वतन्त्रता’ संविधानको प्रस्तावनामै लेखियो। तर, आज लोकतन्त्रको खुलापन, बोल्न पाउने अधिकारको ‘दुरुपयोग’ गरेर पत्रकारिता पेसामाथि हिलो छ्याप्ने र यसको बदनाम गर्न खोज्ने तत्वप्रति सजग हुनै पर्छ। 

प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ लगायतका प्रेससँग सम्बद्ध संघ–संस्थाले फेरि एकपटक प्रेस स्वतन्त्रताप्रतिको राजनीतिक प्रतिबद्धता जाहेर गराउन लगाउनुपर्छ। गलत गर्ने जो कोही कानुनी दायरामा आउनुपर्छ, तर बित्थामा अप्रमाणित आरोप मात्रै लगाइराख्ने कुतत्वका कुत्सिल षड्यन्त्रले पत्रकारिता पेसा सप्रिने होइन, घाँटी निमोठिनेछ। 

एकपटक कल्पना गरौं त, प्रेस बिनाको राज्य संयन्त्र कस्तो होला ?   प्रेसले उधिन्दा, अनियमितताको पर्दाफास गर्दा, निरन्तर खबरदारी गर्दा त ‘शासक’हरू समाजप्रति जिम्मेवार बन्दैनन्। कर्तव्यको बोध गर्दैनन्। अर्थात्, बलमिच्याइँ र मनपरि गर्छन् भने प्रेस नहुँदा के गर्दा हुन् ? त्यसैकारण राज्यका परिभाषित तीन अंगमाथि जनताको तर्फबाट खबरदारी गर्न निर्धो होइन, बलियो प्रेस चाहिन्छ। बलियो प्रेसले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछ। तर, आफैं संकटमा परेको प्रेसले कतै कुनै शर्तमा नबिकोस, नझुकोस भनेर जनताको खबरदारी पनि उत्तिकै आवश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.