चीन-पाकिस्तान लगानीबारे छलफल
इस्लामावाद : चीन र पाकिस्तानका विदेशमन्त्रीबीच बेल्ट एन्ड रोड इनिसेटिभ (बीआरआई)बारे छलफल भएको छ।चीनका विदेशमन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमद कुरेसीबीच इस्लामावादमा बीआरआईबारे शनिबार आपसी वार्ता भएको छ। वार्तामा बीआरआईसँगै चीन र पाकिस्तानबीचको आपसी चासोका विषयमा छलफल भएको हो।
तीन दिन लामो पाकिस्तान भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पुरानो अडान दोहोर्याए। चीन र पाकिस्तानबीचको व्यापक रणनीतिक सहकार्यमा सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्यूजले जनाएको छ।
पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने, ‘चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताउनुभएको छ।’ चीन-पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित भएको फैसलले जानकारी गराएका छन्।
विदेशमन्त्री वाङको सम्मेलन पाकिस्तान ठूलो ऋणमा डुबेका बेला भएको छ। ब्याजको ऋण तिर्न मात्रै पाकिस्तानले ठूलो रकम भुक्तानी गरिरहेको छ। बीआरआईअन्तर्गत चिनियाँ लगानी पनि पाकिस्तानका लागि भार भएका समाचार सम्प्रेषण हुन थालेका छन्। केही समयपूर्व चिनियाँ लगानीको ऋण चुक्ता गर्न अन्तर्राष्ट्रिय मुद्राकोषबाट रकम माग गर्ने बताएको थियो।
त्यसलगत्तै अमेरिकाले चिनियाँ ऋणको ब्याज तिर्न पाकिस्तानलाई सहयोग गर्न नहुने स्पष्ट पारेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओलाई यस्तो निर्देश दिएका थिए। अन्तर्राष्ट्रिय फोरमहरूमा चिनियाँ लगानीको ऋण तिर्न नसकेर पाकिस्तान असफल हुने भनाइ सार्वजनिक हुन थालेका छन्।
शनिवार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने कहिले पनि चिनियाँ लगानीले पाकिस्तानमाथि ऋण नथोपरेको दाबी गरे। बीआरआईअन्तर्गत चीनले पाकिस्तानलाई ५७ अर्ब डलर ऋण दिने वाचा गरेको छ। हालै अमेरिकाले पनि पाकिस्तानलाई दिँदै आएको ३० करोड अमेरिकी डलर सहयोग रोक्ने घोषणा गरेको छ।
पाकिस्तानले आतंकवाद रोक्न पर्याप्त कदम नचालेको र अफगानिस्तानमा आतंक मच्चाइरहेका तालिबानलाई सैन्य एवं आर्थिक सहयोग उपलब्ध गराउने गरेको अमेरिकी भनाइ छ। वाङले बीआरआईअन्तर्गत पाकिस्तानमा आर्थिक समृद्धि बढेको पनि दाबी गरे। यसबाट ७० हजार व्यक्तिले रोजगारी पाएको पनि चर्चा गरे। वाङले पाकिस्तानले लिएको ऋणमा ४७ प्रतिशत अन्तर्राष्ट्रिय मुद्राकोष र एशियाली विकास बैंकको भएको बताए। चिनियाँ लगानीबाट केही वर्षमै पाकिस्तान समृद्ध बन्ने वाङले दाबी गरे। यद्यपि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी अर्थतन्त्र जर्जर भएको सार्वजनिक गर्दै विदेशमा रहेका पाकिस्तानी मूलका मानिसलाई सहयोग गर्न आह्वान गरिसकेका छन्।
भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्राष्ट्रिय बजारबाट आयात गरिएका सामानको प्रदर्शनीमा सहभागिताका लागि आमन्त्रण गरेको पाकिस्तानले जनाएको छ। वाङले पाकिस्तानमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पाकिस्तानी संसद्का सभामुख तथा सैनिक प्रमुखलाई भेट्ने कार्यक्रम छ। पाकिस्तानमा नयाँ सरकार गठन भएपछि चिनियाँ उच्च पदस्थ अधिकारीसहितको यो पहिलो भ्रमण दल हो।
आर्थिक सल्लाहकारहरूको राजीनामा
प्रधानमन्त्री इमरान खानको आर्थिक सल्लाहकार परिषद्मा नियुक्त अर्थशास्त्रीले राजीनामा दिएका छन्। प्रसिद्ध शिक्षाविद् डा. आतिफ मियाँलाई उक्त पदबाट हटाइएपछि अर्थशास्त्रीहरूले राजीनामा दिएका हुन्। अहमदी भएकै कारण आतिफलाई पदबाट हटाइएको थियो। पाकिस्तानको कानुनले अहमदीलाई गैरमुस्लिम घोषणा गरेको छ। त्यसैले राजनीतिक तथा धार्मिक शक्तिहरूको दबाबलगत्तै उनलाई हटाइएको थियो। त्यसकै विरोधमा शनिवार युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक डा. इमरान रसूलले राजीनामा दिएका हुन्। शुक्रवार पनि हार्वर्ड केनेडी स्कुलका प्राध्यापक डा. असिम एजाज ख्वाजाले सल्लाहकारबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस !