बारेकोटमा खाद्यसंकट

बारेकोटमा खाद्यसंकट

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा खाद्यसंकट देखिएको छ । असिनापानीले हिउँदेबाली नष्ट गरिदिएको, खाद्य डिपोमा चामल नभएको र बाटो बिग्रिएकाले खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यसंकट भएको हो ।

गाउँपालिकामा किनेर खाने अन्नसमेत पाइन छाडेपछि स्थानीय चरम खाद्यसंकटको चपेटामा परेका छन् । साविकका सक्ला, नायकवाडा, रामीडाँडा र रोकायगाउँ गाविसका बासिन्दा खाद्य अभावको चपेटामा परेका छन् । बाढीपहिरोले बारेकोट जाने बाटो अवरुद्ध गरिदिएपछि व्यापारीले दुई महिनादेखि खाद्यान्न ढुवानी गर्न पाएका छैनन् ।

गाउँमा भएको अन्न सकिएको र थप खाद्यान्न ढुवानी नभएपछि स्थानीय भोकै पर्ने अवस्था आएको बारेकोट–२ लिम्साका राजेन्द्र रोकायले बताए । उनले भने, ‘असिनापानीले हिउँदेबाली उत्पादन भएन । बाटो अवरुद्ध नहुँदासम्म निजी क्षेत्रका व्यापारीले पनि बिक्रीका लागि खाद्यान्न लैजान्थे । खाद्य संस्थानको खाद्य डिपोमा पनि खाद्यान्न थियो तर अहिले न किनेर खाने अन्न पाइन्छ । न घरमै छ । नयाँ बाली पाकेको छैन । साह्रै समस्या भयो ।’

गाउँपालिकामा किनेर खाने अन्नसमेत पाइन छाडेपछि स्थानीय चरम खाद्यसंकटको चपेटामा परेका हुन् ।

चामल नभएपछि खाद्य डिपो बन्द छ । डिपो इन्चार्ज रुद्रबहादुर देवकोटा पनि चामल नभएपछि डिपो बन्द गरेर दुई साताअघि घरतिर हिँडेका छन् । संस्थानले बारेकोटस्थित नायकवाडा खाद्य डिपोमा चालु आवमा दुई हजार क्विन्टल चामल ढुवानीका लागी टेण्डर आह्वान गरेको छ । तर, टेण्डर स्वीकृतिका लागि प्रक्रिया पुर्‍याउन समय लाग्ने भन्दै जिल्ला खाद्य व्यवस्था समितिकोे बैठकले तत्काल १२ सय क्विन्टल चामल बिनाटेण्डर ढुवानी गरी खाद्यसंकट टार्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको अध्यक्षतामा बसेको बैठकले बारेकोटमा भएको खाद्यसंकट टार्न तत्काल चामल ढुवानी गर्न खाद्य संस्थानको केन्द्रीय कार्यालय काठमाडौं, आपूर्ति विभाग र मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेर पठाए पनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । हिउँदमा परेको असिनापानीले किसानको बीउसमेत नरहने गरी अन्नबाली नष्ट भएपछि त्यहाँ संकट परेको उनको भनाइ छ । गरिबीका कारण अधिकांशले किनेर खान सक्ने अवस्था पनि छैन । सहुलियत दरको चामल ढुवानीमा पनि ढिलासुस्ती हुँदा स्थानीय निकै मर्कामा परेका छन् ।

केही व्यापारीसँग स्टक रहेको चामलको मूल्य पनि दोब्बर बढेको छ । ४० रुपैयाँमा पाइने मोटो चामल ८० रुपैयाँ पुगेको स्थानीय शिक्षक कालीप्रसाद थापाले बताए । उनका अनुसार केही दिनअघि महँगोमा किन्न पाइने त्यही चामल पनि पाइन छाडेको छ । ‘केही दिनमा बारेकोटमा खाद्यान्न पुर्‍याइएन भने चरम संकट पर्छ । गाउँले भोकभोकै मर्ने अवस्था आउँछ’, उनले भने, ‘सडक यातायात नपुगेको सो गाउँपालिकामा घोडा, खच्चडसमेत हिँड्न नमिल्ने गरी बाटो अवरुद्ध भएपछि समस्या परेको हो । यो गाउँपालिका जुम्ला र डोल्पासँग सिमाना जोडिएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.