फेरिँदै तीजको तरिका
तीज आफ्नो जिन्दगीको निर्णय आफैं गर्न पाऊँ भनी परिवारभित्र माता पार्वतीले विद्रोह गरी सफलता पाएको दिन हो। त्यसैबेलादेखि तीज र नारीको दुःखले निरन्तरता पाउँदै आएको छ। नेपाली नारी त्यसमा पनि आर्य समाजभित्रका महिलाले मात्र मनाउने गरेको यो पर्व दर र रातो सारीको ब्रान्ड बनेर विश्व बजारमा पुगेको छ। पोसिलो खाना र रातो रङ शक्तिको पहिचान हो। वर्षमा एक दिन आफूलाई स्वतन्त्र र शक्तिवान् भएको महसुस गर्ने नेपाली नारीले तीजको अवसर पारेर मन मिल्ने आफन्त वा साथीसँगी भेट्ने, दुःख पोख्ने, मीठो खाने, राम्रो लाउने र नाचगान गर्ने उत्सवका रूपमा मनाउँदै आएका छन्। समय परिवर्तनसँगै तीजमा पोखिने महिलाका दुःखका विषय फेरिँदै आएका छन्।
नेपाली समाजमा जुनबेला बालविवाहसँगै सतीप्रथा भित्रियो, त्यसैबेलादेखि महिलाले आफ्ना सम्पूर्ण अधिकार बिर्सिएर पतिको लामो आयुको कामना गर्दै तीजको व्रत बस्न सुरु गरे। कारण बालअवस्थामै जवान वा बूढोसँग विवाह हुन्थ्यो अनि आफू जवान हुँदा मृत्यु हुने पतिसँग सती जानुपर्थ्यो। पतिसँगै आफ्नो बाँच्न पाउने अधिकार जोडिएकाले त्यो समय तीजको व्रत बसेर पतिको लामो आयुको कामना गर्नु उचित थियो। नेपाली समाजमा सतीप्रथा अन्त्यका लागि योगमायाले विद्रोह गरिन्। सतीप्रथा अन्त्य भयो तर त्यसलाई उत्सवका रूपमा मनाइएन। कारणः विद्रोही योगमाया सफलताको त्यो खुसी मनाउनुअघि नै आफ्ना ६५ जना अभियन्तासहित अरुण नदीमा हाम फालेर बेपत्ता भइन्। तत्कालीन सरकारले ती ६५ जनामध्ये कसैको पनि लास फेला पार्न सकेन। योगमायाले सप्तचण्डी साधनाको बलले त्यो अभियान चलाएकी थिइन्।
अहिले देश गणतान्त्रिक संघीय राज्य प्रणालीमा गइसकेको छ। महिलाले आफ्नो अधिकारका बारेमा थाहा पाउन थालेका छन्। पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वलाई निरन्तरता दिँदै घरबाहिर निस्केर आयआर्जनको काममा सरिक हुन थालेका छन्। परिवार र कार्यालयको दोहोरो भूमिकाले महिलाको सक्रियता र जिम्मेवारी बढाएको छ, अर्कोतिर परिवारमा विचलन आउन थालेको छ।
समयले तीजलाई दर खाएर पतिको लामो आयुको कामना गर्दै बसिने निराहार व्रतमा सीमित राखेको छैन।
वृद्धवृद्धाको हेरचाहमा कमी, कुलतमा फस्ने युवा जमातमा वृद्धि, बालिका र वृद्धामाथि हुने यौन दुव्र्यवहार एवं वैवाहिक यौन हिंसाका शृंखला वृद्धि हुँदै गएको छ। एउटी गृहिणी मानसिक रूपमा स्वस्थ नहुँदा उसको सम्पूर्ण परिवार क्षत्विक्षत् हुन्छ। पछिल्लो समय समाज त्यतैतिर मोडिएको देखिन्छ। महिलालाई आफ्नो अधिकार खोसिएको थाहा छ तर स्थापित गर्न सकेको अवस्था छैन। सबै किसिमको दायित्वले थिचिएर अधिकार खोज्न हिँडेका महिलाको बहिर्गमनले परिवारमा वृद्धवृद्धा र बालबालिका असुरक्ष्।ित र बेसहारा बन्दै गएका छन्।
सत्ययुगमा माता पार्वतीले चलाएको महिला मुक्ति अभियान आजसम्म आइपुग्दा परिवार वा समाजबाट महिलालाई कति उपलब्धि हासिल भयो भन्दा पनि कति दुव्र्यवहार महिलामाथि भइरहेको छ ? लेखाजोखा हुन थालेको छ। तीज दरको अवसर पारेर महिनौं अघिदेखि सामूहिक रूपमा भेला भएर सम्बन्ध सुमधुर कसरी बनाउने ? महिलाका समस्या पहिचान गरी समाधानका उपायको खोजी गर्ने र महिलामाथि हुने हत्या र हिंसाको विरुद्धमा एकजुट भएर खबरदारी गर्ने परिपाटीको थालनी भएको छ।
समयले तीजलाई दर खाएर पतिको लामो आयुको कामना गर्दै बसिने निराहार व्रतमा सीमित राखेको छैन। भोको पेटले पतिको आयु र प्रेम मापन गर्न सक्दैन भन्ने कुरा महिलाले बुझ्न थालिसकेका छन्। समय र परिस्थतिअनुसार हामीले मनाउँदै आएका रीतिरिवाज र संस्कृति परिवर्तन गर्न जरुरी छ। आकाश र धरतीको सहकार्यबिना सृष्टि सम्भव छैन्। आधा आकाश होइन, अब नेपाली महिलाले धरती भएर पूरै आकाश ओगट्ने पुरुषसरह समान अधिकार खोजेका छन्। तीज प्रेम प्राप्तिको सुअवसर हो। यो पर्वमा सकारात्मक पक्ष मात्रै छन्। नकारात्मक पक्ष त हामी आफैंले भिœयाउँदै छौं। सामाजिक मूल्य र मान्यतालाई पनि सम्मान गर्दै सौहार्दपूर्ण वातावरणमा तीज मनाऔं।