बलात्कार दबाउन सांसद्कै घरमा पन्चेती

बलात्कार दबाउन सांसद्कै घरमा पन्चेती

गौर : बालिका बलात्कारको घटना दबाउन जनप्रतिनिधिकै घरमा पन्चेती (भेला) बसेको छ। गढीमाई नगरपालिका–३ गम्हरियाटोलकी १२ वर्षीया बालिका बलात्कारको घटना मिलाउन प्रदेशसभा सदस्य अब्दुल कलाम आजाद (फूलबाबु)को घरमा पन्चेती बसेको थियो। उनी रौतहट क्षेत्र ४ ख बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

पीडित बालिकाको परिवारलाई प्रहरीमा उजुरी गर्न नदिन र बलात्कारपछि घटना दबाउन गाउँमै प्रयास भएको सार्वजनिक भएको हो। घटना दबाउने प्रयास असफल भएपछि पीडित बालिकाका आफन्त प्रहरी कार्यालयमा उजुरी गर्न गएका थिए। बलात्कारको आरोपमा प्रहरीले ५५ बर्से सहमद अन्सारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

भदौ २० गते घरमा कोही नभएको मौका छोपी अन्सारीले छोरीलाई बलात्कार गरेको आरोप लगाउँदै पीडितकी आमाले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन्। प्रदेश सभासद् फूलबाबुको घरमा पीडित पक्ष र अन्सारी पक्ष बसेर छलफल भएको थियो। घटना थाहा पाएर पीडित बालिकाकी आमाले आरोपी अन्सारीसँग झगडा गर्दा हात हालाहाल भएपछि गाउँलेले पनि थाहा पाएका थिए। त्यसपछि घटना गाउँमा नै मिलाउने भन्दै पन्चेती बसेको थियो।

पीडिताकी आमाले भनिन्, ‘पन्चेतीमा उल्टै मलाई अनेक सोधपुछ गरेर पठाए त्यसपछि आज भोलि भन्दै टारे।’ पछि १ लाख २० हजार रुपैयाँ दिने निर्णय अन्सारी पक्षले गरेको थाहा पाएको, आफू रकम लिन मन्जुर नभएको र रकमभन्दा पनि न्याय चाहिएको भन्दै मलाहीटोलस्थित प्रहरी चौकीमा उजुरी दिएको उनले जानकारी दिइन्।

पीडित बालिकाका आफन्त अजुल मियाँले प्रदेशसभा सदस्यलगायत गाउँका अन्य गन्यमान्य व्यक्तिहरू पन्चेतीमा बसेको बताए। आफूलाई चित्त नबुझेपछि पन्चेतीबाट निस्केको र पछि पन्चेतीले १ लाख ७० हजार रुपैयाँ पीडित बालिकाका परिवारलाई दिने निर्णय गरेको आफूले सुनेको उनले बताए।

प्रदेशसभा सदस्य आजाद (फूलबाबु)ले घटना दबाउने, मिलाउने वा ढाकछोप गर्ने आफ्नो उद्देश्य नरहेको बताएका छन्। अन्सारीविरुद्ध बालिका बलात्कारको आरोप लगाउने गाउ“कै गयासुद्दिनलगायत केही व्यक्तिले केही महिलामाथि दुव्र्यवहार गरेकाले त्यसको उजुरी दिन गएका स्थानीयलाई प्रहरीले दमन गरेको दाबी उनले गरे। उनले भने, ‘पीडित पक्ष छलफल (पन्चेती) गरिदिनुस् भनेर घर आएका हुन्, मैले बोलाएर छलफल गराएको होइन।’ कोही कसैलाई पैसा तिराउने निर्णय नभएको समेत उनले बताए।

पीडित बालिकाको परिवारलाई प्रहरीमा उजुरी गर्न नदिन गाउँमै भेला गरिएको हो।

बलात्कारमा संलग्नमाथि कारवाही हुनुपर्ने तर पीडित पक्षका व्यक्तिहरूले अन्य महिलालाई पनि दुव्र्यवहार गरेकाले प्रहरीले त्यसको अनुसन्धान गर्नुपर्ने पक्राउ अन्सारीका आफन्तको माग छ। पीडित आमाछोरीको बयान र घटना विवरण मुचुल्काको आधारमा पक्राउ परेका उपर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर चर्तुभुज ओझाले जानकारी दिए।

अनुसन्धान प्रभावित पार्न र घटना अन्यत्र मोड्न पीडित पक्षले अन्सारी पक्षका महिलामाथि दुव्र्यवहार गरेको हल्ला फिँजाएको पीडित बालिकाका आफन्तले गुनासो गरेका छन्। बलात्कार आरोपमा पक्राउ अन्सारीले आफू निर्दोष रहेको र बालिकाकी आमाले ६ सय रुपैयाँ सापट लिएको र तिर्न नमान्दा विवाद भएपछि कुटाकुट भएको दाबी गरेका छन्।

गरुडामा मंगलबार यही विषयमा प्रदर्शन भएको थियो। अन्सारी पक्षका मानिसले सडक जाम गरेपछि प्रहरीले लाठीचार्ज गरेर सडक खुलाएको थियो।

प्रहरी स्कुलका छात्रद्वारा बालिका बलात्कार

रौतहटको बिर्तास्थित दीपेन्द्र प्रहरी आवासीय माविमा अध्ययनरत एक छात्र बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

गरुडा नगरपालिका–८ बिर्तास्थित प्रहरी विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रले ८ वर्षीया बालिका बलात्कार गरेको उजुरी परेको छ। विद्यालयकै एक कर्मचारीकी छोरीलाई गत शनिबार बलात्कार गरेको आरोप उनीमाथि छ।

प्रहरीले बालिका बलात्कारको आरोपमा जिल्लाकै ईशनाथ नगरपालिका–१ औरैयाटोलका १७ बर्से विकासराज यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यादव सोही विद्यालयको छात्रावासमा बस्थे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.