निर्मला पन्त हत्याको छानविन प्रतिवेदन आउनै लागेको छ : सरकार
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित छानविन आयोगको प्रतिवेदन आउनै लागेको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्री ढकालले आयोगको प्रतिवेदन 'आउनै लागेको' बताएका हुन्।
'निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा सरकारको तर्फबाट छानबिन आयोग निर्माण गरिएको र प्रतिवेदन आउनै लागेको, र तल त्यो समस्यासँग सम्बन्धित विषयमा सर्वदलीय सहमतिलाई सरकारको तर्फबाट कार्यान्वयन गरिएको...' मन्त्री ढकालले बताए।ढकालले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताए।
मन्त्री ढकालले सदनको भोलिको बैठकमा गृह मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठान गरेको विषयमा सदनमा जवाफ दिने जानकारी गराए।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनको आजको बैठकमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो।