निर्मला हत्यामा सरकारको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध
काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिलाउन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसका सांसदहरू उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
बैठक सुरु हुनेबित्तिकै कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडुले 'सरकार नै निर्मला हत्याको मतियार भएको' आरोप लगाउँदै सरकारको जवाफ प्रतिनिधिसभा बैठक चल्न नदिने बताए। उनले रोल्पामा तरूण दलका नेताको हत्यारालार्इ पनि कारबाही नभएको भन्दै विरोध गरे।
सभामुख महराले सरकारले उपयुक्त समयमा जवाफ दिने भन्दै संसद अवरुद्ध नगर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू मानेनन्।
सांसद बडुले बालिकाको बलात्कार र हत्याको घटना झन् 'जटिल र रहस्यमय' बन्दै गएको बताए। अनुसन्धानबाट बास्तविक दोषी पत्ता लगाउन भन्दा राज्य संयन्त्र नै घटनाको ढाकछोप गर्न थालेको उनले बताए।
'राज्यसंरक्षित अपराधका रुपमा यसलाई जनताले लिन थालेका छन्', उनले भने।
प्रतिक्रिया दिनुहोस !