कञ्चनपुर घटना, रोल्पा गोलीकाण्ड र पत्रकार पक्राउबारे सरकारले भोलि जवाफ दिने
काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या, रोल्प सुलिचौर गोलीकाण्ड र खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतको गिरफ्तारीबारे सरकारले शुक्रबार संसदलाई जवाफ दिने भएको छ।
बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि सरकारले बिहीवार ती विषयहरूमा जवाफ दिने भएको हो।
बिहान बसेको दोस्रो बैठकमा कानुन मन्त्री भानुभक्त ढकालले सम्बन्धित मन्त्री (गृह मन्त्री रामबहादुर थापा) ले शुक्रबारको बैठकमा जवाफ दिने बताएका हन्।कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार तथा हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन आउने क्रममा रहेको बताए। रोल्पा सुलिचौरका रोहित पुनमगरको हत्याका विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री ढकालले बताए। भदौ २४ गते अज्ञात समूहले चलाएको गोली लागी नेपाल तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनमगरको मृत्यु भएको थियो।
यस्तै समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेतलाई विद्युतीय कारोबार ऐनको दफा ४७ लगाएर पक्राउ गरिएको विषयमा पनि कांग्रेसले सरकारको धारणा मागेको छ।
'उहाँलाई अमानवीय व्यवहार गरिएको विषयमा पनि ध्यानाकर्षण गर्छु', ढकालले भने। उनले यी सबै घटनाका अभियुक्तहरूलाई उचित समयमा कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता गरेका छन्।
प्रतिक्रिया दिनुहोस !