न्यायका लागि आन्दोलन गर्नु दुःखद् : कमल थापा
धुलिखेल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले न्यायका लागि सडक आन्दोलन गर्नु दुःखद् भएको बताएका छन्।
काभ्रे जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अपराधिलाई लुकाउने र ढाकछोप गर्ने काममा राज्य संयन्त्र प्रयोग हुनु दुःखद् भएको बताएका हुन्।
थापाले दुई तिहाइको सरकार हुँदा पनि देश असफलता तर्फ उन्मुख हुनु दुःख भएको भन्दै हालको असफलता व्यक्तिको नभइ गलत नीति, गलत मार्गचित्र र गलत व्यवस्थाको परिणा भएको बताए।
थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भइसकेको दाबी गरेका छन्। क्रान्तिकारी भन्ने नेताले नै भेटवार्तामा धर्म निरपेक्षता कायम गर्न गलत पो गरिएछ, संघीयता पनि हतारमा लागू गरिएछ भन्ने गरेको खुलासा पनि अध्यक्ष थापाले गरेका छन्।
अध्यक्ष थापाले देश कठिन मोडमा पुगेको बताउँदै कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए।
देश बर्बादिको कारक नेपाली कांग्रेस पनि रहेको आरोप उनको छ। अध्यक्ष थापाले कांग्रेसको सैद्धान्तिक विचलन, चरम गुटबन्दी र विदेशी प्रभावलाई स्वीकार गर्ने नीतिले देश आजको अवस्थामा आइपुग्न बाध्य भएको बताएका हुन्।
अगुवा कार्यकर्ता भेलामा प्रदेश–३ का अध्यक्ष विक्रमबहादुर थापा, आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ, उदय सिंह मुस्याजु, नेतृ यवती कार्की लगायत सहभागी थिए।