चिनियाँ वस्तुमाथि फेरि कर लगाउँदै ट्रम्प
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमाथि सोमबार नयाँ कर लगाउने प्रबल सम्भावना रहेको छ। चीनबाट अमेरिका आउने करिब २ सय अर्ब अमेरिकी डलर बराबर मूल्यका सामानमाथि नयाँ कर लगाउन ट्रम्प तम्तयार रहेको ह्वाइटहाउसका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।
द वाल स्ट्रिट जर्नलले भने ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै ती चिनियाँ सामानमा १० प्रतिशत हाराहारीमा कर लगाइने सम्भावना व्यक्त गरेको छ। यसपल्टको आयातमा ट्रम्प प्रशासनले यसअघि २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो। यसबारे राष्ट्रपति कार्यालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
इन्टरनेट प्रविधि र अन्य इलेक्ट्रोनिक सामान, सर्किट बोर्ड, चिनियाँ समुद्री खानेकुरा, फर्निचर, बिजुलीका सामान, टायर, रासायनिक पदार्थ, प्लास्टिक र बालबालिका बस्ने कारका सिटलगायत उपभोग्य वस्तु यसपल्टको आयातमा अमेरिका भित्रिन लागेका छन्। ट्रम्प प्रशासनले ती सामानमध्ये कुनै सामानमा कर छुट दिने नदिने केही बताएको छैन।
ह्वाइटहाउसकी प्रवक्ता लिन्ड्से वाल्टर्सले ट्रम्प र उनको प्रशासन चीनको गलत व्यापारिक अभ्यासविरुद्ध कडा कारवाही गरिरहने शुक्रबार बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘चीनले अमेरिकाको दीर्घकालीन व्यापार चिन्ता सम्बोधन गरोस् भन्ने हामी चाहन्छौं।’
अमेरिकी अर्थमन्त्री स्टिभन मचिनले चीनसँग व्यापार वार्ता सुचारु गर्ने प्रयास गरिरहँदा राष्ट्रपति ट्रम्पले नयाँ कर लगाउने तयारी गरेका हुन्।
एक जना व्यापार पर्यवेक्षकका अनुसार ट्रम्प प्रशासनले सर्वसाधारणका गुनासा सुनेर पूर्वघोषित करको दर घटाएको हुन सक्ने बताए। उनका अनुसार करको दर घट्दा व्यापारिक कम्पनीहरूले लागत समायोजन गर्न उपभोग्य वस्तुको मूल्य तत्कालै नबढाउने सम्भावना छ। तैपनि चिनियाँ सामानमा लगाइने नयाँ करले चीनसँग यसै महिनामा हुने आस गरिएको व्यापार वार्ता जटिल बनाउन सक्छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकासँगको व्यापारमा चीनको ३ सय ७५ अर्ब अमेरिकी डलरको बचत कटौती गर्न, अमेरिकी बौद्धिक सम्पत्ति र प्रविधि हत्याउने नीति त्याग्न तथा अत्याधुनिक प्रविधिमा चिनियाँ उद्योगीहरूलाई दिने सरकारी अनुदान रोक्न चीनसँग माग गर्दै आएको छ।
यसै साता विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र भएका देशले व्यापार वार्तामा प्रगति गरेजस्तो देखिएको थियो। अमेरिकी अर्थ मन्त्रालयले चिनियाँ उपप्रधानमन्त्री लिऊ हेसहितको वरिष्ठ चिनियाँ अधिकारीहरूको टोलीलाई व्यापार वार्ताका लागि अमेरिका निम्त्याएको थियो।
यसै वर्ष बौद्धिक सम्पत्तिबारे चिनियाँ अभ्यासको अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले चीनबाट आयात गरिएका ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि अतिरिक्त कर लगाएको थियो।
राष्ट्रपति ट्रम्पले सेप्टेम्बर ७ मा चीनबाट यस साता आयात गरिएका सामानबाहेक आउने २ सय ६७ अर्ब अमेरिकी डलर मूल्यका सामानमाथि थप कर लगाउने चेतावनी दिएका थिए। राष्ट्रपति ट्रम्पले घोषणा गरेअनुसार कर लाग्ने हो भने गत वर्ष चीनबाट गरिएको आयातको परिमाणभन्दा धेरै हुनेछ। गत वर्ष अमेरिकाले चीनबाट कुल ५ सय ५ अर्ब अमेरिकी डलर मूल्यका सामान आयात गरेको थियो।
प्रतिक्रिया दिनुहोस !