फिलिपिन्सपछि सामुद्रिक आँधीको कहर चीनमा

फिलिपिन्सपछि सामुद्रिक आँधीको कहर चीनमा

हङकङ/मनिला : फिलिपिन्स, हङकङ र मकाउमा विध्वंश मच्चाएर समुद्री आँधी म्याङकुत आइतबार चीनको ग्वाङडोङ प्रान्त पसेको छ। ग्वाङडोङ चीनको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त हो। ग्वाङडोङको जनसंख्या १० करोडभन्दा बढी छ।

आँधीका कारण ग्वाङडोङका बन्दरगाह, तेल प्रशोधन केन्द्र र कलकारखाना बन्द गरिएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्ति रोकिएको छ। सेन्झेनमा १ लाख ३० हजारभन्दा बढी घरमा आइतबार विद्युत् आपूर्ति बन्द भएको थियो।

आँधीले हङकङ र मकाउमा ताण्डव मच्चाउनुअघि फिलिपिन्समा ५० जनाभन्दा बढीको ज्यान लिएको थियो। २ सय किलोमिटर प्रतिघण्टाभन्दा तीव्र गतिमा आँधी चलेको छ। यस वर्ष यो क्षेत्रमा आएका समुद्री आँधीमध्ये म्याङकुत नै सबैभन्दा शक्तिशाली मानिएको छ।

अमेरिकाको उत्तरी क्यारोलाइनामा शुक्रबार आएको फ्लोरेन्स आँधीभन्दा पनि म्याङकुत शक्तिशाली मानिएको छ। फ्लोरेन्सको गति १ सय ५० किलोमिटर प्रतिघण्टा थियो।

दक्षिण पूर्वी एसियाली राष्ट्र मलेसियाको मलय र इन्डोनेसियाको मलक्का टापुमा पाइने फलको थाई नाम म्यांगोस्टिनबाट आँधीको नाम राखिएको थियो। आँधी हङकङको दक्षिणी तटभन्दा सय किलोमिटर परैबाट गए पनि हङकङमा हावाहुरीसँग मुसलधारे पानी वर्षाएको थियो। हङकङमा आँधीले सडकछेउका रुख उखेल्नुका साथै आवासीय र कार्यालय भवनका झ्यालका सिसा फुटाएको थियो।

हङकङ वरिपरि केही ठाउँमा आएका साढे ३ मिटर (१२ फिट) का सामुद्रिक छालले आवासीय क्षेत्र र सडक जलमग्न बनाएको थियो। आँधीले अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्ध पारेपछि हङकङ विमानस्थलमा दशौं हजार यात्रु अलपत्र परेका छन्। विमान कम्पनीहरूले सयौं उडान रद्द गरेका छन्।

फिलिपिन्समा मृतक संख्या ५० पुग्यो

फिलिपिन्समा समुद्री आँधी म्याङकुतका कारण मृतक संख्या आइतबार ५० पुगेको छ। आँधीपछि गएको पहिरोमा हराएका १९ जनाको शव शनिबार र आइतबार पहिरोबाट निकालिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार जारी गरेको विज्ञप्तिमा मृतकको संख्या ५० पुगेको उल्लेख गरेका छन्। यसअघि प्रहरीले म्याङकुतमा ३० जनाको मृत्यु भएको जनाएको थियो।

फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन टापुमा आँधीले सबैभन्दा बढी जनधनको क्षति गरेको छ। राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले स्थानीय रेडियोलाई दिएको अन्तर्वार्तामा कर्डिलेरा प्रशासनिक क्षेत्रमा २० जना, नुएभा भिजाय प्रान्तमा ४ जना र इलोकोज क्षेत्रमा १ जनाको मृत्यु भएको जानकारी दिए। अरु केहीको पनि मृत्यु भएको अपुष्ट समाचार आए भए पनि विस्तृत विवरण प्राप्त नभएको उनले बताए।

घर भत्किएर बागुओ सहरका एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। आँधीले जनजीवन नराम्ररी प्रभावित भएको छ। आँधीबाट ४० लाखभन्दा धेरै फिलिपिनी प्रभावित भएका छन्। आँधीले रुख ढालेको, छाना उडाएको, झ्याल फुटाएको छ। लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ। आँधीपछि त्यहाँ विद्युत् आपूर्ति बन्द भएको छ। हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालय बन्द गरिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.