नेपालकै कारण खुलेन तातोपानी नाका

नेपालकै कारण खुलेन तातोपानी नाका

तातोपानी ( सिन्धुपाल्चोक) : अरनिको राजमार्गको बाह्रबिसेदेखि चीनको सीमासम्मको सडक क्षतबिक्षत हुँदा तातोपानी नाका सञ्चालनमा थप समस्या देखिएको छ ।

२०७२ सालको भूकम्पपछि बन्द तातोपानी नाका खुलाउने स्थानीय प्रयत्नलाई सडककै कारण असम्भव भएको हो । राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जन बढी ठाउँमा भएको पहिरोका कारण नाका सञ्चालनमा थप समस्या परेको व्यवसायी र स्थानीय जनप्रतिनिधिको बुझाइ छ । 

भूकम्पले संरचनामा क्षति पुर्या‍एको भन्दै बन्द रहेको तातोपानी नाका २०७३ सालमा आएको भोटेकोशी बाढीले लिपिङदेखि तातोपानीसम्मको चार किलोमिटर सडक ठाउँ ठाउँमा कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन । 

भूकम्पपछि मुस्किलले जोडेको ट्रयाक पनि बाढीले क्षतबिक्षत बनाएपछि दुई वर्षदेखि सीमाक्षेत्रमा यातायातका साधन आउन नसकेको स्थानीय वडासदस्य डावाङदोर्जे शेर्पाले बताए ।

बाह्रबिसेदेखि तातोपानीसम्म जलविद्युत आयोजनाले पटक पटक सडकको पहिरो पन्छाउँदै बेलाबेलामा यातायात सञ्चालन गरेपनि तातोपानी लिपिङ खण्डमा कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

तातोपानीसम्म अबरोध हटाउँदै यातायात सञ्चालनमा ल्याएपनि तातोपानी माथि कसैको ध्यान नपुगेको कोदारीका पूणबहादुर श्रेष्ठले बताए । स्थानीयलाई सडक बने नाका खुल्थ्यो भन्ने आश त छ नै सडक नहुँदा खाद्यान्न  ढुवानी र बिरामीको उपचारमा समेत समस्या परेको छ । 

‘सडक छैन बिरामी भयो भने कसरी अस्पताल पुर्‍याउने भन्ने चिन्ता छ’, श्रेष्ठले भने, ‘सडक बन्यो भने नाका सञ्चालनमा आउला र रोजी रोटीको बाटो भेटिएला भन्ने आशा पनि छ ।’

अघिल्लो वर्षको साउनमा आएको बाढीले लार्चा पुल बगाएपछि बेली ब्रिज राखेर तातोपानीसम्म यातायात सञ्चालन गरेको छ । अर्बौं राजश्व संकलन हुने नाका र अरनिको राजमार्ग सरकारको प्राथमिकतामा नपरेको भन्दै व्यवसायी र स्थानीय आक्रोशित छन् । 

सीमाक्षेत्रको कोदारीमा सडक तलबाट भोटेकोशीले कटान गर्ने र माथिबाट पहिरोले पुर्ने गर्दा नया टय«ाक खोल्नुपर्ने अबस्था छ । स्थानीय तहको बजेटले नभ्याउने भएकाले पटक पटक सरकारका विभिन्न मन्त्रालयमा आग्रह गर्दा पनि सडक निर्माणमा ध्यान नदिएको सिमा क्षेत्र समेटिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

‘नदीबाटै जग उठाएर सडक निर्माण गर्नुपर्ने अबस्था छ’, पौडेलले भने, ‘हाम्रो स्रोतबाट सडक निर्माण गर्नै सकिंदैन, जति झक्झकाउँदा पनि सरकारले ध्यान पुर्‍याएन ।’ 

चुनाव ताका तातोपानी नाका सञ्चालन र सडक निर्माण पहिलो एजेन्डा बनाएर भोट मागेका नेताले पनि आफ्नो प्राथमिकतामा नराखेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठ बताउँछन् । 

‘नाका सञ्चालन नहुँदा सयौं व्यवसायी बिस्थापित भएका छन्’, श्रेष्ठ भन्छन्, ‘पटक पटक मन्त्रीदेखि प्रधानमन्त्री कहाँ ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ भएन ।’ 

श्रेष्ठका अनुसार भूकम्पपछि प्रत्येक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थ मन्त्री, परराष्ट्र र भौतिक योजना मन्त्रीलाई संघको अगुवाईमा ज्ञापनपत्र बुझाइएको छ । ‘प्रत्येक सरकारले आश्वासन दिन्छन् तर पूरा गर्दैनन् ।’

गत भदौ १७ गते सिमा क्षेत्र निरीक्षणमा आएको उच्चस्तरीय चिनिया टोलीले नेपाल तर्फको सडक सञ्चालनमा आए नाका सञ्चालनमा आउन सक्ने  जनाएको थियो । टोलीले नाका सञ्चालन गर्न नेपालतर्फकै सडक बाधक भएको निश्कर्ष निकालेको थियो । 

तातोपानी नाका सञ्चालन चिनको प्राथमिकतामा नपर्नु र नेपाल सरकारले पनि चासो नदिनुले व्यवसायीहरु अब सँधैका लागि नाका बन्द हुने त हैन भन्ने शंका गर्न थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.