स्थानीय तहलाई उपआयोजना हस्तान्तरण

स्थानीय तहलाई उपआयोजना हस्तान्तरण

सुर्खेत : उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आफूले सञ्चालन गरी सम्पन्न गरेका उपआयोजना स्थानीय तहलाई हस्तान्तरण गरेको छ। विभिन्न कृषि समूह, सहकारी र निजी सेवाप्रदायकमार्फत सञ्चालित आयोजनाको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।

आयोजनाले मंगलबार वीरेन्द्रनगरमा ‘आयोजना सम्पन्न गोष्ठी’मा जिल्लामा सञ्चालित सबै आयोजना अब स्थानीय तहमातहत रहनेगरी हस्तान्तरण गरेको छ। सुर्खेत जिल्लाभित्र आयोजना आफूले सञ्चालन गरेका दुई सय ३० वटा उपआयोजना स्थानीय तहलाई हस्तान्तरण गरेको हो। आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतका ९ वटा स्थानीय तहलाई विस्तृत विवरणसहित उपआयोजना हस्तान्तरण गरिएको बताए। उनका अनुसार वीरेन्द्रनगर नगरपालिकालाई ४६, गुर्भाकोट नगरपालिकालाई ३८, भेरीगंगा नगरपालिकालाई २८, पञ्चपुरी नगरपालिकालाई २५ र लेकबेंसी नगरपालिकालाई २३ वटा उपआयोजना हस्तान्तरण गरिएको छ।

उपआयोजनामा आबद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ।

हस्तान्तरण गरिएका उपआयोजनामा बेमौसमी तरकारीका ७५, खसीबोकाका ६४, बेसारका २४, अदुवा ४३, तरकारी बीउ ११, टिमुरका ७ र व्यवसायी सेवाका ६ वटा छन्। आयोजना प्रमुख भारीले उच्चमूल्य कृषि वस्तु विकास आयोजनाले सुर्खेतका किसानलाई ३० करोड २९ लाख ५३ हजार रुपैयाँ अनुदान सहयोग गरेको जानकारी दिए।

उनले खसीबोका, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मूल्य शृंखलामा अनुदान पाएपछि लाभग्राही किसानले पनि आफ्नो तर्फबाट २२ करोड ४० लाख ९१ हजार रुपैयाँ लगानी गरेको बताए। आयोजनाले सहकार्य गरेका ३ सय ३० वटा उपआयोजनामा आबद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ। आयोजनाको सहयोगपछि किसानको आम्दानीसँगै कृषिजन्यवस्तुको उत्पादन र बिक्री परिमाणमा पनि उल्लेख वृद्धि भएको आयोजनाले जानकारी दिएको छ।

आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानीमा ८ गुणाले वृद्धि भएको पाइएको छ। आधार वर्षमा प्रतिघरधुरी ४ हजार ४ सय ४५ रुपैयाँ रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर ४० हजार २ सय ७१ रुपैयाँ पुगेको आयोजना प्रमुख भारीले जानकारी दिए।

किसान आधार वर्षको तुलनामा ३५ हजार ८ सय २६ रुपैयाँ थप आम्दानी गर्न सफल भएका छन्। मूल्य शृंखलागत रूपमा भन्दा आधार वर्षको तुलनामा अदुवामा १२ हजार, खसीबोकामा ६१ हजार २ सय १, बेमौसमी तरकारीमा ३६ हजार ३ सय ९३, टिमुरमा ५४ हजार ५ सय ३४, बेसारमा ५४ हजार ६ सय ४६ र तरकारी बीउमा १३ हजार १ सय ४९ आम्दानी गर्न किसान सफल भएको पाइएको छ।

आयस्तर वृद्धिसँगै किसानले उत्पादन पनि बढाएका छन्। आधार वर्षमा १ हजार १२ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ३ हजार ७ सय ५९ मेट्रिक टन पुगेको छ। यस्तै, उत्पादनसँगै बिक्री परिमाण पनि बढेको छ। आधार वर्षमा प्रतिवर्ष ९ सय ९ मेट्रिक टन रहेको बिक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा ३ हजार ३ सय ६५ मेट्रिक टन पुगेको छ।

किसानले आयोजनाको सहयोगपछि आफूहरूको दैनिकी नै बदलिएको बताए। उनीहरूले विगतमा छाक टार्नलाई गरिने कृषि कर्म आयोजनाको सहयोगका कारण व्यावसायिकतामा बदलिएको दाबी गरे। आगामी दिनमा पनि उत्पादनलाई बजारीकण गर्ने पक्षमा सहयोगको अपेक्षासमेत व्यक्त गरेका छन्। आयोजनाले सुर्खेतमा तरकारी बजार, संकलन केन्द्र, सिँचाइ कुलो, पोखरी, बाख्राखोर, झोलुंगे पुल, कल्भर्ड गरी एक हजार चार सय ८७ पूर्वाधार निर्माण गरेको छ।

आयोजना प्राप्त गरेपछि स्थानीय तहका जनप्रतिनिधिले उच्च मूल्यका आयोजनाले सुर्खेतका किसानको जीवनस्तर उकास्नमा सहयोग गरेकामा धन्यवाद दिँदै आफूहरूलाई हस्तान्तरण गरेका उपआयोजनालाई दिगो र निरन्तर बनाउनमा भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आगामी दिनमा पनि नयाँ आयोजनासँग समन्वय काम गर्न तयार रहेको बताएका छन्।

यस्तै, आयोजना सम्पन्न हुँदासम्म कर्णाली प्रदेशका किसानले उत्पादन गरेको टिमुर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरेको भन्दै आयोजना प्रमुख भारीलाई किसानले सम्मान गरेका छन्। भैरव सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध किसानले टिमुरको मूल्य दिलाउनुका साथै उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारसम्म स्थापित गराएको भन्दै सम्मान गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.